सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपबाट बाहिरिएपछि नैतिकताका आधारमा प्रमुख प्रशिक्षकको राजीनामा

शुक्रबार, ०१ भदौ २०८०, ०९ : ५३
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । विश्वकपको उपाधि जोगाउने अभियानमा असफल भएपछि अमेरिकी महिला राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक भ्लात्को एन्डोनोभस्कीले पदबाट राजीनामा दिएका छन् । उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् । 

महिला विश्वकपको इतिहासमै सबैभन्दा निराशाजनक प्रदर्शन गर्दै साबिक विजेता अमेरिका प्रिक्वार्टरफाइनल चरणबाटै घर फर्किएको थियो । नवौं महिला विश्वकप फुटबल प्रतियोगिता न्युजिल्यान्ड र अस्ट्रेलियामा सञ्चालन भइरहेको छ । 

प्रिक्वार्टरफाइनल खेलमा स्विडेनले अमेरिकालाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराएको थियो । अमेरिकाले सर्वाधिक चार पटकको विश्वकप विजेता राष्ट्र हो । यसअघिका विश्वकपमा अमेरिका कम्तीमा तेस्रो हुँदै आएको थियो ।

‘प्रमुख प्रशिक्षक भ्लात्कोले सक्दो प्रयास गरेका हुन् । उनको नेतृत्वमा यसअघि अमेरिकी टोलीले थुप्रै सफलता पनि हात पारेको छ । तर, यो नतिजा हाम्रा लागि दुर्भाग्यपूर्ण रह्यो । विश्व फुटबलमा यस्ता घटना भइरहन्छन्,’ खेलकुद निर्देशक म्याट क्रोकरले भनेका छन्, ‘हालसम्म अमेरिकी राष्ट्रिय टोलीलाई पुर्‍याएको योगदानका लागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ ।’ 

प्रशिक्षक भ्लात्कोले टोलीको पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् । ‘हामी सबैले सक्दो प्रयास गर्‍यौं तर, सफल हुन सकेनौँ । प्रमुख प्रशिक्षकको हैंसियतले टोलीको जित—हारको जिम्मेवारी मैले लिर्नै पर्छ,’ उनले भनेका छन् । 

प्रमुख प्रशिक्षकको राजीनामापछि हालका सहायक प्रशिक्षक ट्वील्का किल्गोरलाई अमेरिकी महिला टोलीको कार्यवाहक प्रशिक्षक बनाइएको छ । प्रमुख प्रशिक्षक भ्लात्कोको प्रशिक्षकत्वमा अमेरिकी टोलीले ५१ जित, पाँच बराबरी र नौ हारको नतिजा निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप