सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राचेल भन्छिन्–  ‘ग्रीनउडलाई नहटाए अब म्यानचेस्टर युनाइटेडलाई समर्थन गरिँदैन’

शुक्रबार, ०१ भदौ २०८०, १० : ३२
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । चर्चित टेलिभिजन प्रस्तोता राचेल रिलीले इङ्ल्यान्डका चर्चित युवा स्ट्राइकर मासन ग्रीनउडलाई क्लबबाट हटाउन म्यानचेस्टर युनाइटेडलाई दबाब दिएकी छन् । राचेलले ग्रीनउडलाई क्लबबाट नटाइए आफूले म्यानचेस्टर युनाइटेडलाई समर्थन नगर्ने चेतावनी पनि दिएकी छन् ।

म्यानचेस्टर युनाइटेडले भने २१ वर्षीय युवा स्ट्राइकर ग्रीनउडको विषयमा अझै छानबिन भइरहेको जनाएको छ । ‘यो संवेदनशील विषय हो । हामीले अझै कुनै ठोस निर्णय लिएका छैनौं । यस विषयमा अझै अनुसन्धान भइरहेको छ,’ क्लबले भनेको छ । 

ग्रीनउडले पनि आफूमाथि लगाइएका आरोपहरु निराधार भएको दाबी गर्दै आएका छन् । खासमा ग्रीनउडमाथि उनकी प्रेमिका ह्यारिट रोब्सनले बलात्कार र कुटपिट गरेको आरोप लगाएकी थिइन् । उनले सामाजिक सञ्जालमा आफ्नो तस्बिर सार्वजनिक गर्दै ग्रीनउडले आफूलाई कुटपिट र बलात्कार गर्ने गरेको दाबी गरेकी थिइन् ।  

रोब्सनले सामाजिक सञ्जाल इस्टाग्रामको स्टोरीमा ग्रिनउडले आफूमाथि कुटपिट गरेको भन्दै तस्बिरसँगै भिडियो पनि सार्वजनिक गरेकी थिइन् । रोब्सनले सार्वजनिक गरेको एक तस्बिरमा उनको ओठबाट रगत बगिरहेको देखिन्छ । भिडियोको क्यापसनमा उनले ‘ग्रीनउडले ममाथि के गरे भनेर जान्न चाहनेहरूका लागि...’ भनेर लेखेकी थिइन्  । शरीरका विभिन्न भागमा देखिएका निल डामसहितको तस्बिर रोब्सनले सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । ग्रीनउडले आफूमाथि निराधार आरोप लगाइएको बताएपछि प्रहरीले उनलाई ७२ घन्टापछि जमानतमा रिहा गरेको थियो ।

ग्रीनउडमाथि गम्भिर आरोप लागेपछि म्यानचेस्टर युनाइटेडले पनि उनलाई निलम्बन गरेको थियो । तर, अहिले पनि म्यानचेस्टर युनाइटेडका थुप्रै महिला समर्थक ग्रिनउडप्रति आक्रोसित छन् । उनीहरुले सार्वजनिक स्थलमा पनि ग्रीनउडलाई क्लबले हटाउनु पर्ने माग गर्दै आएका छन् । ‘यदि अझै पनि ग्रीनउड क्लबमा रहन्छन् भने म कुनै पनि हालतमा म्यानचेस्टर युनाइटेडलाई समर्थन गर्न सक्दिन,’ राचेलले भनेकी छन् । 

ग्रीनउड क्लबमा रहिरहनु म्यानचेस्टर युनाइटेडका लागि पनि लज्जाको विषय हुनुपर्ने उनले बताएकी छन् । ‘अब अति भयो,’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् । म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको सुरुआतसँगै ग्रीनउडलाई मैदानमा ओराल्ने चर्चा सुरु भएपछि राचेलको पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो । म्यानचेस्टर युनाइटेडसँग ग्रीनउडको सम्झौता सन् २०२५ सम्म छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप