आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री आचार्यको सय दिन : मन्त्रालय र जिल्ला जोड्ने देखि नीतिगत सुधारसम्म

शुक्रबार, ०१ भदौ २०८०, १५ : १०
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले जिल्ला जिल्लामा महिला विकास कार्यालयको खारजीपछि जिल्लास्तरमा विच्छेद भएको मन्त्रालयसँगको सम्बन्ध फेरि जोडेका छन् । मन्त्री आचार्यले सय दिनको अवधिमा जिल्ला समन्वय समितिको कार्यालयका अधिकृतलाई मन्त्रालयको प्रत्येक जिल्लामा सम्पर्क विन्दुको रूपमा तोक्ने निर्णय गरेर जिल्लासँगको मन्त्रालयको सम्बन्ध जोडेका हुन् । 

यस्तै मन्त्री आचार्यले  सय दिनको अवधिमा केहि नीतिगत तथा व्यवहारिक कामहरू पनि अगाडि बढाएका छन् । जसअन्तर्गत हराएका १ हजार ७ सय ४९ जना बालबालिका मध्ये १ हजार ६ सय ९४ जना बालबालिका फेला पारी परिवारमा पुनर्मिलन गराएको छ । 

मन्त्रालयले पछिल्लो सय दिनमा  बेवारिसे फेला परेका ९२ जना बालबालिका मध्ये ५६ जना लाई परिवारमा पुनर्मिलन गराइएको छ । मन्त्री सुरेन्द्र आचार्यले पद बहाली गरेपछिको यो अवधिमा विभिन्न कारणले जोखिममा परेका ४ सय ३० जना बालबालिकालाई उद्धार गरिएको सचिवालयले जनाएको छ । 

त्यस्तै यो अवधिमा नेपालका दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू सुरक्षित सुत्केरी गराउनको लागि हवाई उद्धार गरिएको छ भने बेवारिसे अवस्थामा रहेका ३० जना सडक बालबालिकाको उद्धार गरिएको छ । मन्त्रालयका अनुसार जोखिममा परेका ४३० जना बालबालिकालाई उद्धार गरिएको र दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू सुरक्षित सुत्केरी गराउनको लागि हवाई उद्धार गरिएको जनाएको छ । 

यसका साथै समाजमा समस्याका  रूपमा रहेको वृद्धावस्था व्यवस्थापन सम्बन्धमा ७ प्रदेशमा वृद्धावस्था व्यवस्थापनको लागि वृद्धा स्याहार–सुसार सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । यही अवधिमा ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण सम्बन्धी कार्यशाला कोशी प्रदेशको धनकुटा, बागमती प्रदेशको काठमाडौँ र कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न गरेको जनाइएको छ । 

त्यस्तै बाल संरक्षण तथा बालबालिका सम्बन्धी एकीकृत डिजिटल तथ्याङ्क व्यवस्थापन प्रणालीको स्थापना र सञ्चालनको लागि सफ्टवेयरको निर्माण गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । यस्तै महिलाहरूको आर्थिक सशक्तीकरणको लागि उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रम सुनसरी, सिराहा, म्याग्दी र  सुर्खेतमा सञ्चालन गरिएको सय दिनको प्रगति विवरणमा उल्लेख छ । 

यस्तै विराटनगर र कैलालीमा  मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अभियान कार्यक्रम सञ्चालन गरिएको र पोखरा,नुवाकोट र रौतहट जिल्ला कारागारमा जेल सजाय भोगिरहेका महिला तथा किशोरीहरूलाई जेल जीवन तथा जेल जीवन पश्चातको जीवन परिवर्तनको लागि सामाजिक सचेतना सहितको सकारात्मक सोच कार्यक्रम सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ । 

साथै नीतिगत तहमा पनि मन्त्रालयले यो अवधिमा महत्त्वपूर्ण निर्णयहरूको मन्त्रालयले जनाएको छ । जस अन्तरगत ज्येष्ठ नागरिक नीति, २०८० को मस्यौदा तर्जुमा गरिएको छ भने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन मस्यौदा र मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

 त्यस्तै प्रोटोकलको कार्यान्वयनको लागि मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार गरिएको र अपाङ्गता हेरचाह सम्बन्धी आधारभूत तालिम सञ्चालन स्रोत पुस्तिका, २०८० तयार भएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८० को प्रारम्भिक मस्यौदा तयार भएको गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप