आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

मुख्यमन्त्री थापाले विश्वासको मत लिन मागेको समय किन दिइएन ?

सत्तापक्ष भन्छ–संसदीय अभ्यास र मान्यता विपरीत
शुक्रबार, ०१ भदौ २०८०, १६ : ३३
शुक्रबार, ०१ भदौ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन भदौ ३ गतेको समय माग गर्दै संसद् सचिवालयमा निवेदन दिए । शुक्रबार थापाले संसद् सचिवालयमा समय माग गर्दै पत्र पठाएका थिए । 

तर, प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले भने विश्वासको मत लिने समय मुख्यमन्त्रीले मागेको भन्दा एकदिन पछि अर्थात् भदौ ४ गते १ बजे तय गरेकी छन् ।  

यो घटनाले सत्तारुढ गठबन्धन दल र प्रतिपक्षीहरुबीच खटपट सुरु भएको बताइएको छ । उपसभामुख दनुवार एमालेबाट निर्वाचित सांसद हुन् । उनले एमालेकै निर्देशनमा सरकारलाई चिढ्याउने मनसायका साथ समय एक दिन पछि धकेलेको हुनसक्ने सत्तारुढ एक सांसदले बताए । 

प्रदेशसभा सचिवालयका प्रमुख सचिव गोपाल पराजुलीले भने प्रदेशसभा नियमावलीमै सभामुखलाई समय दिने अधिकार रहेको बताए । 

प्रदेशसभा नियमावलीको दफा १२८ को उपदफा १ मा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्न सूचना दिने व्यवस्था छ भने उपदफा ३ मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने उल्लेख छ । 

‘नियमावलीको व्यवस्था अनुसार नै उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि तोक्नु भएको हो,’ सचिव पराजुलीले भने । 

यता, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संघीय संसद्को लामो अनुभवमा पनि सरकार प्रमुखले मागेकै समयमै समय तोकिएको इतिहास रहेको बताए । 

‘आजसम्म संघीय सरकारको लामो अभ्यास र प्रदेश सरकारको अनुभवमा सरकार प्रमुखले मागेकै समयमा तोक्नु पर्ने हो,’ आङ्बोले भने, ‘किन उहाँले १ दिन पछि तोक्नु भयो थाहा भएन ।’ थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत लिने समयावधि भदौ १३ गतेसम्म रहेको छ । 

प्रतिपक्षी दल एमालेले भने विश्वासको मत लिन सरकारले हतारो गरेको भन्दै घुमाउरो भाषामा असन्तुष्टि व्यक्त गरेको छ । प्रदेशसभाको विशेष समयमा बोल्दै एमालेका सांसद रामबहाुर राना मगरले सरकारले बजेट सम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्नुको साटो विश्वासको मत लिन तिर लागेको बताए । ‘सरकार ढाल्ने र गिराउने मात्रै खेलमा लाग्ने हो भने जनताले गाउँमै जान नदिने परिस्थिति बन्न सक्छ । अर्को महिना कर्मचारीले तलब नपाउने अवस्था बन्दैछ । यस्तो परिस्थिति बन्न नदिनका लागि छलफल र विश्वासको वातावरण बनाऊँ । आर्थिक शून्यतातर्फ मुक्त गर्नेतर्फ अगाडि बढौँ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप