सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सोएब अख्तर भन्छन्– ‘भारत र पाकिस्तानबीचको खेल कमजोर मुटु भएको खेलाडीका लागि होइन’

शुक्रबार, ०१ भदौ २०८०, १७ : १४
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । एसियक कप क्रिकेट प्रतियोगिताको १६ औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । प्रतियोगिताका लागि नेपाल, पाकिस्तान र बंगलादेशले आफ्नो टोलीको घोषणा गरिसकेको छन् ।  भारत, श्रीलंका र अफगानिस्तानले भने टोलीको घोषणा गर्न बाँकी छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा विस्तारै अगाडि बढिरहेका राष्ट्रको लागि आफूभन्दा बलिया टोलीसँग खेलेर ठूला प्रतियोगिताको अनुभव बटुल्ने गतिलो अवसर पनि हो, एसिया कप ।

अर्कोतिर, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता टेस्ट मान्यताप्राप्त राष्ट्रका नयाँ प्रतिभाका लागि खेलाडी आफ्नो क्षमता प्रदर्शन गर्दै आफूलाई प्रमाणित गर्ने थलो पनि एसिया कप नै हो । अहिले विश्व क्रिकेटमा हस्ती खेलाडीका रुपमा स्थापित थुप्रै खेलाडी एसिया कपबाटै उदाएका हुन् । 

यसैक्रममा कुनै समयका आफ्नो तिब्रगतिको बलिङका कारण विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानहरुलाई तर्साउने पाकिस्तानी बलर सोएब अख्तरले पनि एसिया कपसँग जोडिएको आफ्नो अनुभव सार्वजनिक गरेका छन् । 

उनले एसिया कप प्रतिभाशाली खेलाडीका लागि आफ्नो क्षमता देखाउने उपयुक्त थलो भएको बताएका छन् । उनले विश्व क्रिकेटमा थुप्रै स्थापित खेलाडी एसिया कपकै उत्पादन भएको पनि बताएका छन् । अख्तरले एसिया कपमा खासगरी भारत र पाकिस्तानबीचको खेल कमजोर मुटु भएका खेलाडीहरुका लागि नभएको टिप्पणी पनि गरेका छन् ।

‘एसिया कप भनेको प्रतिभावशाली खेलाडीहरुले आफ्नो अभूतपूर्व क्षमता प्रदर्शन गर्ने थलो हो । त्यसमा पनि भारत र पाकिस्तानबीचको खेल त कमजोर मुटु भएका खेलाडीहरुको लागि हुँदै होइन । यो खेलमा हुने प्रेसरलाई सामान्य खेलाडीले थेग्नै सक्दैनन्,’ अख्तर भन्छन् । 

यस पटक एसिया कपमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । पहिलो पटक एसिया कप खेल्ने तयारीमा रहेको नेपाल पनि सोही समूहमा छ । एसिया कपको उद्घाटन खेलमा नेपालले अगस्त ३० तारिखमा मुल्तानमा पाकिस्तानको सामना गर्दैछ ।  एकअर्काका चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल भने सेप्टेम्बर २ तारिखमा श्रीलंकामा खेलिने छ ।

‘जहिले पनि एउटा सामान्य प्रतियोगिताबाट नै ठूला—ठूला क्रिकेट खेलाडीको उदय हुन्छ । मेरै विषयमा भन्नुहुन्छ भने सन् १९९९ मा इडेन गार्डेनमा भएको भारतविरुद्घको टेस्टले मेरो भाग्य बदलिएको थियो,’ भारत र पाकिस्तानबीचको खेलको प्रसंग कोट्याउँदै अख्तरले भनेका छन् । 

उक्त टेस्टको पहिलो पालीमा अख्तरले दुई प्रभावशाली भारतीय ब्याट्सम्यान राहुल द्रबिड र सचिन तेन्दुल्करलाई लगातार दुई बलमा पेभेलियन फर्काएका थिए । उक्त टेस्टमा पाकिस्तानले भारतलाई ४६ रनले हराएको थियो । ‘हो, त्यहि टेस्टले मलाई विश्व क्रिकेटमा नयाँ परिचय दिएको थियो । त्यतिबेला महान क्रिकेटर सचिन लयमा थिए र द्रबिड पनि कम थिएनन् । भारत र पाकिस्तानबीचको खेलको महत्व नै यहि हो,’ अख्तर भन्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप