आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पुस्तक चर्चा

‘भाषाको बकपत्र’ माथिको दृष्टिकोण

शनिबार, ०२ भदौ २०८०, १० : ३१
शनिबार, ०२ भदौ २०८०

साहित्यकार डा. महेन्द्रकुमार मल्लसँग मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान सुर्खेतले आयोजना गरेको एक कार्यक्रममा पहिलो भेट शिक्षा क्याम्पसको हलमा भएको थियोे । तथापि म उहाँको नामप्रति अपरिचित भने थिइनँ । 

कुनै पनि मान्छेले आफ्नो प्रभाव समाज र मान्छेमा दुई प्रकारले पार्ने गर्छ । आकर्षण र विकर्षण । आकर्षणको अर्थ हो समाजमा मान्छे कमाउनु, जुन सामान्य कुरा होइन । साहित्यकार मल्लको शालीन, सरल र सौम्य स्वभावको प्रभावले मलाई आकर्षण ग¥यो । नापेर तौलिएर बोल्नु साहित्यकार मल्लको विशेषता हो । 

२०६९ वैशाख २७ गते देखि २०७१ भदौ ३ गतेसम्म सुर्खेत बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख भएर कार्य सम्पादन गर्नुभएको थियोे उहाँले । त्यस्तै २०७१ भदौ ४ गते मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारको पदभार ग्रहण गर्नु भएको थियोे । 

डा. मल्ललाई मैले समाजसेवी, पूर्व क्याम्प प्रमुख र मध्यपश्चिम विश्वविद्यालयको पूर्व रजिस्ट्रार र बौद्धिक व्यक्तित्वका रुपमा मात्र चिनेको थिएँ ।

जब नुन, चिनी र पानीको सम्वन्धको रुपमा हामी आपसमा अन्तरघुलन हुँदै गयौं, त्यसपछि सम्बन्ध गाढा भयो । उहाँ त कवि, गीतकार पो हुनुहुँदो रहेछ । उहाँका दुइटा साङ्गीतिक गजल (कर्लीकेश र सरगम) सार्वजनिक भईसकेका छन् भने राधा तीज गीत भर्खरै बजारमा आएको छ । ‘भाषाको बकपत्र’ उहाँको पहिलो कविता संग्रह हो ।

चोट लागेपछि मान्छे रन्थनिनु ठूलो कुरा होइन । तर, कविता अध्ययन पश्चात माथिङ्गल हल्लिनु सामान्य कुरा होइन । भाषाको बकपत्रमा समाविष्ट ३४ थान कविता लाई जब मकैको सिया जसरी एक–एक उधार्दै गएँ, साँघुरो दिमागी दायरालाई उति उति फराकिलो बनाउँदै गयो । वाह ! कविताको खासियत त यस्तो पो हुँदो रहेछ ।

भन्न त भन्छन्, अकवरी सुनलाई कसी लाउनु पर्दैन । तर शब्दमा जलप र दिमागी चेतमा कल्पनाको हम्बर बर्षिएन भने कविता नहुने रहेछ । काव्यिक शब्दका बान्कीहरुमा उच्च कल्पनाको कसी लगाउनै पर्ने रहेछ । ‘भाषाको बकपत्र’ त्यसैको निरन्तरता हो । 

अँध्यारोमा बस्ने मान्छेहरुका वेदनाका कथा मार्मिक, गम्भीर र यथार्थपरक  हुन्छन् । तर तडकभडकसहित चर्चामा आउनेहरुका कथाले एकछिनलाई चर्चा बटुले पनि त्यो तडकभडक  घामपानीमा देखिने इन्द्रेणीको रंगजस्तै हो । रंगीन सपनाको संसार कतिखेर कहाँ बिलाउछ थाहा हुँदैन । साहित्यकार मल्लसंग लामै संगत भएपनि उनले आफू अब्बल साहित्यकार भएको भनक कहिल्यै देखाएन् । तडकभडकबाट टाढै रहे । 

कवि ‘रहर’ शीर्षकको आफ्नो कवितामा यसरी पोखिन्छन्ः

बधशालाको चौपाया झै ढकसंग दाँजिएर

मोलमोलाइको काँटामा कहिल्यै जोखिन नपरोस्

मलाई रहर छ

म बगरको त्यस्तो ढुङ्गा बनुँ जो

कुल्चिएर पनि, फुटाइएर पनि, ताछिएर पनि

मूर्तिको स्वरुप पाएर पुजिन्छ

हो म त्यसै गरी

उसको मायामा मन्दिरमा पुजिन सकुँ ।

कैफियत नमिसिएको प्रेम मात्रै कञ्चन पवित्र हुन्छ । प्रेमलाई महँगो मोलमा नत किन्न सकिन्छ, न त जोख्न । प्रेमको उहाहरण दाइजो र छुवाछूत प्रथामा पोखिएर समाज विकृत हुनुहुँदैन । भर्खर मात्रै जुम्लामा उच्च जातकी युवतीले दलित केटासंग प्रेम विवाह गरेकै अभियोगमा दलित केटाको घर खरानी भएका घटनालाई कवि मल्ल कविताका माध्यमद्वारा सामाजिक सद्भाव फैलाउने उद्देश्य राख्दै धनी, गरिब र जात प्रथालाई गौण ठानेका छन् । समाजमा मानवीय सद्भाव कायम भएको कवि देख्न चाहन्छन् ।

एकदिन रेडियोले खबर फैलाएछ

घमासान युद्धको

मसानघाट बनेको गाउँ बस्तीको

नेपाली जितेको, नेपाली हारेको

आँसु बनेर समुद्रको बाटो समाएछ

गाउँ छाड्ने लर्कोले

उर्वर कोखहरुलाई बाँझो बनाएछ

उन्मत्त मातेको एउटा जँड्याहा भने

सडकको किनारमा बेसरी बर्बराएछ

वा, क्याबात !

दुवै जितेछन् तर देशले हारेछ ।

देशमा परिवर्तनको लागि पटक पटक क्रान्ति भए । २०५२ सालमा भएको माओवादी सशस्त्र विद्रोह पनि त्यसैको एक कडी हो । जनताका छोराछोरीले समाज र देश परिवर्तनको लागि रगत बगाए । देश चलाउने शासकको आन, बान र शान परिवर्तन भयो तर देश परिवर्तन भएन । पटक पटक शासकले जिते तर देशले हारी रह्यो । 

परिवर्तनको संज्ञा दिएको युद्धबाट देश र जनताले के पाए  ? अहिलेको शासन ब्यवस्था र शासकप्रति नागरिकले गर्ने प्रश्न यहीँ हो  । 

परिवर्तनको सपना देखेका युवाहरु दिनहँु पलायन भएर मरुभूमिमा पसिना बगाउँदा बगाउँदै बाकसमा फिर्ता भएका घटनासंग कवि  पग्लिन्छन् । खेतबारी बाँझो र गाउँमा मान्छे मरेपछि मलामी नपाउने अवस्था देखेर कविको मन कुँडिन्छ । 

गौरीशंकरबाट फाल हालेर

मिश्रको पिरामिड पुग्न पाइयोस्

अट्लान्टिक ओसनमा पौडिदै

उक्लन पाइयोस् युराल पर्वत

राजमार्गको गोलाद्र्धमा जोडिनुपर्छ

विश्व यात्रामा मखमल विछ्याइनु पर्छ

बादलको अनन्त फैलावट

हावाको निष्कण्टक प्रवाह

र चराको उन्मुक्त उडान ।

पाखुराको वलमा शासकहरुद्वारा खिचिएको भूगोलको साँघुरो गोलाद्र्धमा कविको मन अट्दैन । कविले सिङ्गो भूगोललाई मानव प्राणीको साझा घर ठानेका छन् । मिश्रको पिरामिड, युराल पर्वत , हिमालय  र अट्लान्टिक महासागर लाई मानव सभ्यता संग जोडेका छन् । 

हुन पनि हो खोला नदी, समुद्र, हिमाल, पहाड मानव जीवनको लागि अपरिहार्य श्रोत हुन् । यी बिना मान्छे जिउँदो रहन सम्भव छैन । त्यसैले, प्रकृतिलाई सिमासाध मानेर छुट्याउने मान्छे को हो ? कवि प्रश्न गर्छन् । 

जुम गरेर हेर त अहिले पनि उस्तै छ

सारा बदलिए मेरो आधार दुरुस्तै छ

कोछे र जिगेलोका परिधानमा

नुन र चामललाई लुकालमा कसेर

बथानका बथान

भेडालाई उकाली ओराली गराउने

सिन्जालीहरुको कर्म उस्तै छ

नेपाली खस भाषाको उत्पत्ति भएको ठाउँ हो सिंजा । आज भन्दा ३४६० वर्ष पहिले राजा जालन्धरले राज्य गरेको सिन्जा राज्यको सिमाना पूर्वमा त्रिशुली, पश्चिममा गढवाल र उत्तरमा भोटसम्म रहेको थियोे । 

अन्य राज्यको तुलनामा खस साम्राज्य धनी भएता पनि खस साम्राज्यको पतन भएसंगै सिंजालीहरुका दुःखका दिन शुरु भए । जबकि भोकमरीको बेला अन्य राज्यलाई सिन्जाले अन्नदान गर्थ्यो । एनजीओहरुले कर्नालीलाई मागी खाने भाँडो बनाए, सरकार त्यसैमा रमायो । हुम्ली, जुम्ली र मुगालीहरुको जीवनमा परिवर्तन नभएको कुरामा कवि चिन्तित हुँदै राज्यलाई कवितामार्फत् गुनासो पोखेका छन् । 

कविले आफ्नो भाषाको बकपत्र नामक् कविताको शीर्षकद्वारा राज्यले भन्न नसकेको सिङ्गो कर्नालीको बिषयलाई कविताको भाषाद्वारा ब्यक्त गरेका छन् । 

खन्याएर इन्द्रेणीका सातओटै रंग

तिमीलाई

संसारकै सर्वोत्तम वसुन्धरा बनाउनु छ

त्यसैले म आउनु छ ।

कविताका माथिका हरफमा कविको मत छ । जननी जन्म भूमिश्चः  स्वर्गादपी गरियस्ची । जन्म दिने आमा र आफू जन्मेको माटो स्वर्ग भन्दा पनि प्यारो हुन्छ । आफू नेपाल आमाको चरणमा समर्पित भएर सेवा गर्ने र आफू जन्मेको माटो र देशलाई संसारकै उत्कृष्ट बनाउने प्रतिज्ञासहित विदेशिएका युवायुवतीलाई पनि आफ्नै माटोमा फर्किन अनुरोध गरेका छन् । शासकहरु आउँछन्, जान्छन् तर आफ्नो कर्तव्यबाट बिमुख नहुने प्रण कविको छ ।

२०२६ भदौ २६ गते ढुङ्गेश्वरमा जन्मेका कवि मल्ल उमेरले ५३ वर्ष पुगिसकेका छन् । उनको उमेरको परिपक्वतासंगै कविता पनि परिपक्व देखिन्छ । डा. मल्लका कवितामा मायाप्रेम त झल्किन्छ नै, त्यसभन्दा धेरै कवितामा देश र मातृभूमि प्रेम पोखिएको छ । अँध्यारामा बस्ने मान्छेका कथाले कविलाई  छोएको छ । अस्थिर र अराजक राजनीतिले देशलाई थिलोथिलो बनाएर नेपाली जनता र नेपाली माटोले दुःख पाएका घटनालाई कविले कवितामार्फत् बोलेका छन् । 

त्यस्तै, सुनौलो सपना बोकेर खरानी हुने युवाका कथालाई कविताका बान्कीहरुमा कोरेका छन् । प्रकृतिप्रेमी भएर प्रकृतिका कविता उठान गरेका छन् । सौन्दर्य के हो, सौन्दर्य चेत कस्तो हुनु पर्छ डा. मल्लका कवितामा नडुबी पत्ता लगाउन सकिँदैन । 

‘भाषाको बकपत्र’मा संग्रहित कविताको वजन युग बोल्ने कोशेढुङ्गा भएर उभिएका छन्  भने  कविताको गहिराई मरियान ट्रेन्चको भन्दा कम छैन । सरल र सरस भाषाको प्रयोग गरी कविताका शब्दहरु उन्नुनै कविको पहिचान हो । 

यसमा समाविष्ट कविता लामा, मझौला र छोटा गरी तीन प्रकारका छन् । कुनै कविता पढ्दापढ्दै विषयबस्तु टुङ्गिएको आभाष हुन्छ र कविता त्यहीँ सकिदिए पनि हुन्थ्यो भन्ने कुरा पाठकलाई लाग्छ । तर कविता सकिएको हँुदैन । यस्ता पक्षमा कविले अर्को संग्रहमा ख्याल गर्नेछन् भन्ने आश गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

धिरेन अनुपम
धिरेन अनुपम
लेखकबाट थप