आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सङ्गीत

सुर्खेती मौलिक झ्याउरे गीत : उचाइ दिँदै गायक शिव सङ्गीत

जसलाई बाबु कुलमान नेपालीले गीत सङ्गीतमा डोर्‍याए
शनिबार, ०२ भदौ २०८०, १३ : ४९
शनिबार, ०२ भदौ २०८०

सुर्खेत । ‘सुर्खेती लोक झ्याउरे गीत’ भन्ने बित्तिकै सबैको मुखमा झुन्डिने नाम हो– शिव सङ्गीत । उनी पछिल्लो पुस्तामा रुचाइएका गायक हुन् । शिव सङ्गीत झैँ सुर्खेतमै बसेर प्रेमदेव गिरी, कुलमान नेपाली, गंगा केसीहरूले सुर्खेती लोकसंस्कृतिलाई मलजल गर्ने काम गरिरहेका छन् । उनीहरूकै देन भन्नुपर्छ राष्ट्रिय स्तरसम्ममै सुर्खेतले आफ्नो विशिष्ट स्थान बनाएको छ । 

सुर्खेतमा पछिल्लो समय बिँडो थाम्ने काम गरिरहेका छन्, शिव सङ्गीत टीका पुन, सुनिता बुढा लगायतका दर्जनौँ गायकहरू । 

शिव सङ्गीतले ०६७ सालमै गाएको ‘हातमा बाला’ बोलको ‘सुर्खेती लोक झ्याउरे गीत’ निकै चर्चित बन्यो । 

‘आरम्भ’ एल्बमबाट उनको औपचारिक रूपमा गायन यात्रा सुरु भयो । उक्त एल्बमको ६ वटा गीतमध्ये चार वटा गीत उनले गाउने अवसर पाए । त्यसको ‘हातमा बाला सोल्टिना’ बोलको झ्याउरे गीत निकै चर्चित बन्यो । उक्त गीतमा टीका पुन, अर्जुन सुनामको पनि आवाज थियो ।

photo (2)

उक्त गीत सुर्खेतको सेरोफेरोलाई नै समावेश गरेर रचिएको थियो भने भिडियो पनि सुर्खेती परिवेशमै रहेर निर्माण भएको छ । उक्त गीतपछि झ्याउरे गीत गाउन उनलाई अफर आउन थाल्यो । 

सामाजिक क्षेत्रमा समेत सक्रिय शिव समाज जागरण केन्द्र (स्याक नेपाल) संस्थामा काम गर्थे । उनी अध्यक्ष रहेको युवा सशक्तीकरण मञ्च भन्ने क्लब पनि थियो, जसले सुर्खेतमा नाटक गर्नेदेखि सामाजिक रूपान्तरणका लागि काम गर्थ्यो । गायक शिव रेडियो कार्यक्रम प्रस्तोता समेत हुन् । सुर्खेतको जागरण एफएममा उनी कार्यक्रम चलाउँथे । 

यद्यपि गीतले चर्चा पाएसँगै उनले सबै छाडेर गीत सङ्गीतमै अग्रसर हुने सोच बनाए । अनि, ०७२ देखि उनले काठमाडौँलाई नै कर्मथलो बनाए । 

मेला महोत्सवमा व्यस्त उनले थुप्रै आधुनिक गीत पनि गाए । यद्यपि उनलाई शिव सङ्गीत भनेर चिनाउने गीत भनेको झ्याउरे नै हो । 

उनको ‘फुल फुल्यो बामरी’ झ्याउरे गीत अहिले पनि कर्णालीमा हुने हरेक विवाह, व्रतबन्ध, मेला, महोत्सव र विभिन्न पार्टीहरूमा गुन्जिरहेको हुन्छ । 

हे.. ठोक मादल झरे नि खरी 

मन मिल्ने भा रैछिन् दौंतरी 

मेरो माया नाचिदेउ रामरी 

फुल फुल्यो बामरी, 

मेरो माया नाचिदेउ रामरी

नवराज शर्माको रचना र खड्ग बुढाको सङ्गीतमा उनलाई गायनमा रुपा दर्लामीले साथ दिएकी छिन् । 

शिव सङ्गीतले अहिलेसम्म डेढ सय गीतमा आवाज दिइसकेका छन् । त्यसमा पनि अधिकांश गीत झ्याउरे छन् । पछिल्लो समय उनले सङ्गीतसमेत भर्ने काम गरिरहेका छन् । केही समयअघि मात्रै उनको संगीतमा ‘राधा प्यारी’ बोलो तीज गीत बजारमा आएको छ । 

photo (4)

शिव सङ्गीत र टीका पुनको आवाजमा रहेको अर्को चर्चित गीत हो– ‘घर कहाँ हो नानीको’ । 

केटा : घर कहाँ हो नानीको चिनाजानी गरौँ न

माया जाला बुनौँ न, अल्लि ओर सर न’

केटी : घर तल गैरी गाउँ, आउने जाने गर न

भेटघाट गरौँला, बेसीतिर झर न

रमेश बिजीको शब्द, गंगा केसीको सङ्गीत रहेको ०७३ सालमा आएको उक्त गीत अहिले पनि धेरैको मुखारविन्दुमा झुन्डिने गीतअन्तर्गत पर्दछ । 

गायनमा शिव सङ्गीतको जोडी झैँ छिन् टीका पुन । सुर्खेतमा जन्मिएकी टीकाको पनि सुर्खेती परिवेशमै गीतहरू बन्ने गरेका कारणले झ्याउरे भन्ने बित्तिकै अहिले सुर्खेतको नाम पनि चिनिन थालेको छ । ‘सुर्खेती झ्याउरे’ गीत, नृत्यले बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ । 

‘सङ्गीतको जरा भनेको लोकगीत हो । अहिले लोकगीतमा धेरै ‘डुब्लिकेशन’ आएको छ,’ गायक शिव भन्छन्,‘हामीले ठेट मौलिक लोकगीत झ्याउरे, टप्पा, मारुनीलगायत प्रचारप्रसार गरिरहेका छौँ, जुन अहिलेको पुस्ताले बेवास्ता गरिरहेको छ ।’

झ्याउरे गीतको बिट निकै फास्ट हुन्छ । शिवका अनुसार झ्याउरे गीत विशेष गरी गण्डक क्षेत्रबाट आएको हो । उनी भन्छन्,‘प्रतियोगिताका लागि काठमाडौं जाँदा गण्डक क्षेत्र र हाम्रो क्षेत्रको झ्याउरे निकै जुध्थ्यो ।’

2

बुबाको प्रेरणाले गायनमा

शिव सानैदेखि नै लोकगीत, सङ्गीतमा चासो राख्थे । यसै क्रममा ९ वर्षकै उमेरमा ०५५ सालको राष्ट्रिय बाल लोकगीत प्रतियोगितामा सहभागी हुने मौका पाएका थिए । रेडियो नेपालले काठमाडौंमा आयोजना गरेको उक्त प्रतियोगितामा उनको टोली तेस्रो भएको थियो । 

०६१ सालमा भक्तपुरमा आयोजित राष्ट्रिय लोकगीत प्रतियोगितामा उनी र एकजना गायिका सम्मिलित सुर्खेत प्रथम भएको उनले सुनाए । त्यसपछि सुर्खेतले लगातार तीन पटकसम्म प्रथम स्थान हासिल गरेको थियो । उक्त प्रतियोगितामा उनको टोलीले ठेट मौलिक झ्याउरे भाका नै प्रस्तुत गरेको थियो, जसले कर्णालीलाई झल्काउँथ्यो ।

उनी आफ्नो बुबा कुलमान नेपालीको छत्रछायामा रहेर गीत सङ्गीतमा अग्रसर भएको बताउँछन् । ‘मेरो प्रेरणाको स्रोत भनेकै मेरो बुबा हुनुहुन्छ,’ उनले भने । शिवले गाएका धेरैजसो झ्याउरे भाकामा उनकै बुबा कुलमानले सङ्गीत भरेका छन् । 

कुलमान वरिष्ठ नृत्य निर्देशक हुन् । यद्यपि उनले सुर्खेती झ्याउरे भाकालाई नयाँ तरिकाले गोडमेल गर्ने काम पनि गरिरहेका छन् ।  

सुर्खेतमा बागिना समूह छ । अहिले सुर्खेतबाट राष्ट्रिय स्तरमा ख्यातिप्राप्त गरेका धेरैजसो कलाकारहरू बागिनाकै उत्पादन हुन भन्दा फरक पर्दैन । जसको कोषाध्यक्ष समेत रहिसकेका छन् शिव । 

शिवले ०७५ सालमा झ्याउरे विधामा नेशनल अवार्ड पाएका थिए भने अन्तर्राष्ट्रिय स्तरको अवार्ड समेत पाएका छन् । यस्तै, केही समयअघि म्युजिक खबर अवार्ड हात पारेका छन् । 

पछिल्लो समय उनले समीक्षा अधिकारीदेखि अनु चौधरीसम्मका गायिकाहरूसँग स्वर दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप