सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
रासस

धारापानीमा ‘एक घर, एक धारा’

आइतबार, ०३ भदौ २०८०, ०८ : ०८
आइतबार, ०३ भदौ २०८०

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।  खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो । 

रु एक करोडभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फतबहादुर खत्रीले जानकारी दिनुभयो । 

“आर्थिक वर्ष २०७३÷७४ मा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएकामा २०७७÷७८ देखि निर्माण सुरु भएको थियो”, उनले भने, “यो आयोजनाको काफलडाँडा र बगरको स्किम यसअघि नै निर्माण सकिएको थियो । धारापानीमा सबै घरमा धारा जडान गरेर खानेपानी वितरण भएको छ ।” 

धारापानीकी मञ्जु थापाले घरमै जडान भएको धारामा नियमित खानेपानी आपूर्ति हुन थालेपछि समयको बचत र झन्झट हटेको बताए । “पहिले सार्वजनिक धाराबाट पानी ल्याउन पालो कुर्नुपर्ने थियो”, उनले भने, “घरमै धारा बनेपछि खानेपानीका कारणले विवाद हुन छाडेको छ ।”

यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने आयोजनाको संरचना जीर्ण हुदाँ नियमित खानेपानी आपूर्ति नहुने समस्या थियो । धारापानीका बासिन्दा खानेपानी लिन, स्नान र कपडा धुन पँधेरा भन्ने ठाउँमा पुग्ने गर्दथे । उपभोक्ताको श्रमदानबाहेक रु एक करोड ११ लाख ९८ हजार दुई सय ४२ को लागतमा आयोजना निर्माण भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले अनुमानित लागतभन्दा कम खर्चमा आयोजना निर्माण सकिएको बताए । 

“रु एक करोड ६५ लाख लागत अनुमान गरिएको थियो”, उनले भने, “ठेक्कामार्फत काम गर्ने हिसाबले तयार पारिएको लागत अनुमानमा उपभोक्ताले काम गर्दा कर, फिजिकल, आर्थिक प्रशासनिक परामर्श शीर्षकको खर्च घटेको छ ।” कुल लागतको २० प्रतिशत बराबर उपभोक्ताले श्रमदान गरेका छन् । 

कोतखोलाको उत्तिसिनेमा मुहान रहेको आयोजनाको मुख्य पाइप लाइनमा ७५ एमएमको नौ हजार चार सय ९० मिटर पोलिथिन र एक हजार तीन सय आठ मिटर जिआइ पाइप जडान भएको छ । 

बीस हजार एक सय ३५ मिटर शाखा पाइप लाइन बनाइएको छ । मुख्य र शाखा पाइप लाइन खन्ने र पुर्ने काममा रु २९ लाख ७४ हजार आठ सय ९५, पाइप र फिटिङका सामान खरिदमा रु २४ लाख ३२ हजार चार सय ६० खर्च भएको छ ।

एक सय र २० घनमिटर क्षमताको रिजर्भ ट्याङ्की, सामग्री भण्डारगृह, एकवटा डिसी र एकवटा विपिटीसहितका संरचना बनाउन रु ५७ लाख ९० हजार आठ सय ८६ खर्च भएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप