एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु
आइतबार, ०३ भदौ २०८०, ११ : ५५
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्ने विषयमा छलफल भइरहेको छ ।
महासचिव घनश्याम भुसालले बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिए ।
पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा बोलाइएको छ ।