आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमतीमा ७ दिनमा ४८ हजार पशुलाई लगाइयो लम्पी स्किनविरुद्धको खोप

आइतबार, ०३ भदौ २०८०, १५ : ३३
आइतबार, ०३ भदौ २०८०

मकवानपुर । एक सातामा बागमती प्रदेशका ४८ हजार पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचनालन गरेको खोप अभियान अन्तर्गत १३ जिल्लाका ४८ हजार ३६४ पशुमा लम्पी स्किनको खोप लगाइएको हो ।

मन्त्रालयले मातहतका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मार्फत प्रदेशका ९१ स्थानीय तहमा संचालन गरेको सप्ताहव्यापी खोप अभियान अन्तर्गत ४८ हजार ३६४ गाई भैँसी, गोरु, साँढे, पाडापाडी र बाँच्छाबाच्छीमा रोगविरुद्धको खोप लगाएको हो । मन्त्रालयले साउन २५ देखि भदौ १ गतेसम्म संचालन गरेको लम्पी स्किन रोगविरुद्धको खोप अभियानमा सबैभन्दा बढी खोप चितवन र सबैभन्दा कम दोलखा जिल्लाका पशुमा खोप लगाइएको छ ।

चितवनमा १० हजार २१९ पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । उनका अनुसार दोलखाको ५४९, काठमाडौँमा २ हजार ४३९, भक्तपुरमा ९२१, ललितपुरमा १ हजार ५८०, धादिङमा ४ हजार ३०१ पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । सिन्धुलीमा २ हजार ५७८, रामेछापमा २ हजार ३३५, सिन्धुपाल्चोकमा ३ हजार २७४, मकवानपुरमा ६ हजार ८२२, काभ्रेमा ८ हजार ४११, नुवाकोटमा ३ हजार ५९७ र रसुवामा एकहजार ३३८ पशुमा लम्पी स्किनको खोप लगाइएको छ ।

मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन ३२ गतेसम्म खोप अभियान सञ्चालन गर्ने भनेपनि प्राकृतिक विपद्का कारण एकदिन थप गरेर भदौ १ गतेसम्म संचालन गरिएको थियो । उक्त अभियानमा प्रदेशका ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको लिइएको थियो । स्थानीय तहहरुसँगको समन्वयमा संचालन गरिएको उक्त खोप अभियानका लागि मन्त्रालय र मातहतका निकायहरुले ७५ लाख रुपैयाँ बजेट खर्च गर्ने योजना रहेको थियो । सप्ताहव्यापी अभियान सकिएपनि लम्पी स्किनविरुद्धको खोप कार्यक्रम भने निरन्तर चल्ने मन्त्रालयका सूचना अधिकारी अधिकारीले बताए । खोप अभियान संचालनका लागि मन्त्रालय मातहतको १३ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट १४६ जना भ्याक्सिनेटर नियुक्त गरेका थिए । प्रदेशमा हालसम्म लम्पी स्किन रोगबाट ६ हजार २९१ पशुको मृत्यु भइसेको छ भने १ लाख १० हजार ४४० पशु संक्रमित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप