आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तेस्रो सहभागितामै स्पेनले उचाल्यो विश्वकपको उपाधि

आइतबार, ०३ भदौ २०८०, १७ : ५१
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ । स्पेनले आफ्नो तेस्रो सहभागितामै महिला विश्वकपको उपाधि उचालेको हो । स्पेनले आइतबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १—० गोलले हराउँदै उपाधि चुमेको हो । 

खेलको प्रारम्भमै लिएको अग्रतालाई जोगाउँदै स्पेनले उपाधि आफ्नो नाममा लेखायो । खेल सुरु भएको २९औं मिनेटमा स्पेनले अग्रता लिएको थियो । स्पेनका लागि ओल्गा कार्मोनाले निर्णायक गोल गरेकी थिइन् । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन । 

स्पेन समूह ‘सी’ मा दोस्रो हुँदै नवौं विश्वकपको नकआउट चरणमा पुगेको थियो । समूहगत चरणमा स्पेनले कोस्टा रिका र जाम्बियालाई हराएको थियो । जापानसँग भने स्पेन पराजित भएको थियो । प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई ५—१ गोलले हराएको थियो । 

स्पेनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २—१ गोलले हराएको थियो । यसैगरी प्रतियोगिताको सेमिफाइनलमा स्पेनले स्विडेनलाई पराजित गरेको थियो । सेमिफाइनल खेलमा स्पेन २—१ गोलले विजयी भएको थियो । 

spen

स्पेनले सन् २०१५ मा आयोजना भएको महिला विश्वकपको सातौं संस्करणमा पहिलो पटक सहभागिता जनाएको थियो । त्यतिबेला स्पेन पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २०१९ मा आयोजना भएको आठौं संस्करणमा भने प्रिक्वार्टरफाइनल चरणको खेलमा अमेरिकाले स्पेनलाई २—१ गोलले हराएको थियो ।

पुरुष विश्वकपमा भने स्पेनले सन् २०१० मा उपाधि चुमेको थियो । उक्त विश्वकपको फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १—० गोलले हराएको थियो । त्यसअघि स्पेन पुरुष विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको थिएन । 

इङ्ल्यान्डले भने महिला विश्वकपमा सन् २०१५ मा तेस्रो स्थान हासिल गरेको थियो । इङ्ल्यान्ड सन् २०१९ मा भने चौथो भएको थियो । सन् १९९१ मा भएको महिला विश्वकपको पहिलो संस्करणमा इङ्ल्यान्ड सहभागी थिएन । 

इङ्ल्यान्डले सन् १९९५ मा भएको महिला विश्वकपको दोस्रो संस्करणमा पहिलो पटक सहभागिता जनाएको थियो । समग्रमा महिला विश्वकपमा इङ्ल्यान्डको यो छैटौं सहभागिता हो । यसअघि इङ्ल्यान्डले दोस्रो, पाँचौं, छैटौं, सातौं र आठौं संस्करणमा भाग लिएको थियो ।

सन् १९६६ मा इङ्ल्यान्डले पुरुष विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा पश्चिम जर्मनीलाई अतिरिक्त समयमा ४—२ गोलले हराएको थियो । उक्त विश्वकप इङ्ल्यान्डमै आयोजना भएको थियो । त्यसयता इङ्ल्यान्डले विश्वकप (महिला र पुरुष) को उपाधि जित्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप