आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा सात जनाको मृत्यु

आइतबार, ०३ भदौ २०८०, १८ : ३०
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौँ, कास्की,महोत्तरी, सुनसरी र पर्सामा भएका दुर्घटनामा मानिसले ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित सडकमा ना.५ ख ५०९२ नम्बरको बसले बाग्मती प्रदेश-०२-०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक धादिङ बेनीघाट रोराङ गाउँपालिका-७ बस्ने ३२ वर्षीय राम कुमार भारती र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर भएकी ३२ वर्षीया अनिता थापा रहेका छ्न । 

ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उता कास्कीको रुपा गाउँपालिका-६ निगालझाँप्रास्थित सडकमा प्रदेश ३-०२-००९ प ५२०५ नम्बरको मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक लमजुङ दुधपोखरी गाउँपालिका-६ बस्ने २९ वर्षीय कृष्ण गुरुङ र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय अशोक गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यता सुनसरीको इटहरी उपमहानगरपालिका-१२ रिलायसस्थित सडकमा को.२४ प ७३८९ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-१३ बस्ने ५० वर्षीय नेत्र अधिकारीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । 

त्यस्तै महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित सडकमा हाल नम्बर नखुलेको ट्रकको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । 

पर्साको ठोरी गाउँपालिका-३ रामनगरस्थित सडकमा बा.८८ प ७४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ  दुर्घटना हुँदा चालक वीरगञ्ज महानगरपालिका-२२ बस्ने ३५ वर्षीय दिपेन्द्र मुखिया बिनको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगञ्ज तराई अस्पताल हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । अर्का १ जना घाइतेको वीरगञ्ज तराई अस्पतालमा उपचार भइरहेको छ । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप