आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्पेनलाई उपाधि जिताएपछि कप्तान कार्मोनालाई पिताको निधनको खबर सुनाइयो

सोमबार, ०४ भदौ २०८०, १० : ५०
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि आइतबार स्पेनले जित्यो । स्पेनले फाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १—० गोलले हराएको थियो । स्पेनका लागि निर्धारित समयको २९ औँ मिनेटमा ओल्गा कार्मोनाले निर्णायक गोल गरेकी थिइन् ।

२३ वर्षीय कार्मोना स्पेनकी कप्तान पनि हुन् । स्पेनले महिला विश्वकपको उपाधि उचालेपछि उनले एउटा दुःखद समाचार सुन्नुपर्‍यो । स्पेनले उपाधि जितेपछि कार्मोनालाई उनको पिताको निधनको खबर सुनाइएको थियो ।

 कार्मोनाको पिताको निधन तीन दिनअघि नै भएको थियो । तर, त्यो खबर उनलाई सुनाइएको थिएन । आफ्नो राष्ट्रलाई पहिलो पटक महिला विश्वकपको उपाधि जिताएपछि मात्र उनलाई पिताको निधनको खबर सुनाइएको थियो ।  केही समयअघि खुसीयाली मनाइरहेकी कार्मोना अप्रत्याशित रूपमा पिताको निधनको खबर सुनेर स्तब्ध बनेकी थिइन् । फाइनलअघि पिताको निधनको खबर थाहा पाएमा उनको र टोलीको प्रदर्शनमा असर पर्ने भएकाले परिवारको सहमतिमै त्यो खबर उनलाई सुनाइएको थिएन ।

कार्मोना स्पेनिस क्लब रियल म्याड्रिडबाट ब्यवसायीक फुटबल खेल्छिन् । उनको आफ्नो पिता लामो समयदेखि बिरामी रहेको जानकारी दिइन् । ‘शुक्रवार नै पिताको निधन भएको रहेछ । यो खबर मैले आइतबार मात्र थाहा पाएँ । त्यतिबेला हामी उपाधि जितेको खुसीयाली मनाउँदै थियौँ । खबर सुनेपछि आफैलाई सम्हाल्न गाहृो भयो,’ उनले भनेकी छन् । 

उनले पिताको आशीर्वादकै कारण विश्वकपको फाइनलमा गोल गर्न सकेको पनि उनले बताइन् । उनले सामाजिक सञ्जालमार्फत पनि पितालाई सम्झिएकी छन् । ‘मलाई थाहा छ तपाईँले मेरो खेल हेरिरहनुभएको थियो । अनि मेरो प्रदर्शनबाट तपाईँले गौरव पनि महसुस गरिरहनुभएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन् । 

सामाजिक सञ्जालमा उनले पदकलाई चुमिरहेको तस्बिर पनि सार्वजनिक गरेकी छन् । स्पेनिस फुटबल महासङ्घले पनि कार्मोनाको पिताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । ‘ओल्गा कार्मोनाको पिताको निधनको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ,’ स्पेनिस फुटबल महासङ्घले भनेको छ, ‘स्पेनले विश्वकप जितेपछि मात्र कार्मोनाले यो खबर थाहा पाइन् ।’ 

स्पेनिस फुटबल महासङ्घले मृत आत्माको चिर शान्तिको कामना पनि गरेको छ । ‘हामी मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छौँ । दुःखको यो घडीमा हामी तिम्रो साथमा छौँ, ओल्गा । तिमीले स्पेनिस फुटबललाई लगाएको गुन हामी कहिल्यै चुक्ता गर्न सक्दैनौँ,’ महासङ्घले भनेको छ । 

यसैगरी कार्मोनाले व्यवसायिक फुटबल खेल्ने स्पेनिस क्लब रियल म्याड्रिडले पनि उनको पिताको निधनप्रति दुःख व्यक्त गरेको छ । स्पेनिस सञ्चारमाध्यमले जनाएअनुसार, कार्मोनाको परिवारका सदस्य र साथीहरूले विश्वकप नसकिएसम्म उनलाई पिताको निधनको समाचार नसुनाउने निर्णय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप