आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकप विजेता टोलीका खेलाडीले कति पाए नगद पुरस्कार ?

सोमबार, ०४ भदौ २०८०, १७ : ३४
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अस्ट्रेलिया र न्युजील्यान्डमा सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि स्पेनले जितेको छ । स्पेनले आइतबार सम्पन्न फाइनल खेलमा इङ्गल्यान्डलाई १—० गोलले हराएको थियो । 

विश्व फुटबलमा लामो समयदेखि पुरुष र महिला विश्वकपको विजेता टोली र खेलाडीहरूले पाउने पुरस्कार रकममा विभेद भएको आवाज उठ्दै आएको थियो । पुरुष खेलाडीको तुलनामा महिला खेलाडीले पाउने पुरस्कार राशि निकै कम रहेको भन्दै विरोध भएको थियो । 

सोही कारणले विश्व फुटबल महासंघ (फिफा) ले नवौँ महिला विश्वकप सुरु हुनुअघि पुरस्कार राशिमा वृद्धि गरेको थियो । आखिर कति नगद पुरस्कार पाउँछन् त महिला विश्वकप विजेता टोली र खेलाडीहरूले ?

नवौँ महिला विश्वकपको विजेता टोली स्पेनले ४२ लाख ९० हजार अमेरिकी डलर (करिब ५७ करोड नेपाल) पुरस्कार पायो । यो पुरस्कार स्पेनिस फुटबल महासंघले पाएको हो । यसका अतिरिक्त स्पेनिस टोलीका प्रत्येक खेलाडी (२३ जना) ले जनही दुई लाख ७० हजार अमेरिकी डलर (करिब तीन करोड ५९ लाख) रुपैयाँ नगद पुरस्कार पाएका छन् । स्पेनको भागमा कुल एक करोड पाँच लाख अमेरिकी डलर (करिब एक अर्ब ३९ करोड ४४ लाख नेपाली रुपैयाँ) नगद पुरस्कार परेको छ ।

यसैगरी प्रतियोगितामा उपविजेता बनेको इङ्गल्यान्डको फुटबल महासंघले ३० लाख १५ हजार अमेरिकी डलर नगद पुरस्कार पाएको छ । इङ्गल्यान्डको टोलीका प्रत्येक खेलाडीले जनही एक लाख ९५ हजार अमेरिकी डलर नगद पुरस्कार पाएका छन् । इङ्गल्यान्डको भागमा कुल ७५ लाख अमेरिकी डलर नगद पुरस्कार परेको छ । 

यसैगरी प्रतियोगितामा तेस्रो हुने स्विडेनको फुटबल महासंघले २६ लाख १० हजार अमेरिकी डलर पुरस्कार पाएको छ । स्विडेनको टोलीका प्रत्येक खेलाडीले जनही एक लाख ८० हजार अमेरिकी डलर पुरस्कार हात पारेका छन् । स्विडेनले कुल ६७ लाख ५० हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । 

चौथो हुने अस्ट्रेलियाको फुटबल महासंघले २४ लाख ५५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । अस्ट्रेलियन टोलीका प्रत्येक खेलाडीले जनही एक लाख ६५ हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् । अस्ट्रेलियाले कुल ६२ लाख ५० हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी प्रतियोगिताको क्वार्टरफाइनलमा पराजित भएका चार वटा टोली नेदरल्यान्ड्स, जापान, फ्रान्स र कोलम्बियाका फुटबल महासंघ प्रत्येकले २१ लाख ८० हजार अमेरिकी डलर पुरस्कार पाएका छन् । यी चार वटै टोलीका प्रत्येक खेलाडीले जनही ९० हजार अमेरिकी डलर पुरस्कार हात पारेका छन् । यी चार वटै टोलीको भागमा कुल एक करोड ७० लाख अमेरिकी डलर पुरस्कार परेको छ ।

यसैगरी प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणमा पराजित हुने आठ वटा टोली स्विट्जरल्यान्ड, नर्वे, दक्षिण अफ्रिका, अमेरिका, नाइजेरिया, डेनमार्क, जमैका र मोरक्कोका फुटबल महासंघ प्रत्येकले १८ लाख ७० हजार अमेरिकी डलर पुरस्कार हात पारेका छन् । यी आठवटै टोलीका प्रत्येक खेलाडीले जनही ६० हजार अमेरिकी डलर पुरस्कार पाएका छन् । यी आठ वटा राष्ट्रका लागि कुल पुरस्कार दुई करोड ६० लाख अमेरिकी डलर छुट्याइएको छ । 

यसैगरी प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका १६ वटा राष्ट्रका फुटबल महासंघ प्रत्येकले १५ लाख ६० हजार अमेरिकी डलर पुरस्कार पाएका छन् । यी १६ वटै टोलीका प्रत्येक खेलाडीले जनही ३० हजार अमेरिकी डलर पुरस्कार पाएका छन् । यी १६ वटा टोलीका लागि कूल तीन करोड ६० लाख अमेरिकी डलर पुरस्कार रकम छुट्याइएको थियो । फिफाले महिला विश्वकपका लागि कुल ११ करोड अमेरिकी डलर पुरस्कार राशि छुट्याएको थियो । 

महिला विश्वकपका उत्कृष्ट खेलाडी

नवौँ महिला विश्वकपमा उपाधि विजेता राष्ट्र स्पेनकी अइताना बोनमातीले ‘गोल्डेन बल’ पुरस्कार प्राप्त गरिन् । स्पेनकै जेनिफर हरमोसोले ‘सिल्भर बल’ र स्विडेनकी अमान्डा लेस्टेडले ‘ब्रोन्ज बल’ पुरस्कार हात पारे । 

यसैगरी फाइनलसम्म पुग्न नसके पनि जापानकी हिनाता मियाजावाले ‘गोल्डेन बुट’ पुरस्कार पाइन् । उनले प्रतियोगितामा सर्वाधिक पाँच गोल गरेकी थिइन् । फ्रान्सकी काडिडियाटु डियानीले ‘सिल्भर बटु’ र जर्मनीकी एलेक्जेन्ड्रा पपले ‘ब्रोन्ज बुट’ पुरस्कार पाए । दुवैले प्रतियोगितामा चार—चार गोल गरेका थिए । 

यसैगरी इङ्ल्यान्डकी मेरी अर्पसले सर्वोत्कृष्ट गोलरक्षक घोषित हुँदै ‘गोल्डेन ग्लभ्स’ पुरस्कार पाइन् । स्पेनकी सलमा पारालुएलोले सर्वोत्कृष्ट युवा खेलाडीको पुरस्कार हात पारिन् । जापानी टोलीले ‘फिफा फेयर प्ले अवार्ड’ प्राप्त गर्‍यो । प्रतियोगिताका क्रममा भएको ६४ खेलमा कुल एक सय ६४ गोल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप