आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यु–१९ साफ च्याम्पियनसिपको तयारी सुरु

सोमबार, ०४ भदौ २०८०, १८ : ११
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । आयोजक नेपालले साफ यु–१९ फुटबल च्याम्पियनसिप २०२३ को तयारी सुरु गरेको छ ।  

दोस्रो संस्करणको यु–१९ साफ च्याम्पियनसिप नेपालले आयोजना गर्दैछ । आगामी असोज चार गते दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि नेपालले तयारी थालेको हो । 

सोही प्रतियोगितालाई लक्षित गर्दै अखिल नेपाल फुटबल संघ(एन्फा) ले जिल्ला, प्रदेश र केन्द्रको छनोटबाट कुल ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा समेत राखेको छ । 

मुख्य प्रशिक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा खेलाडी छनोट गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले फिफाको कन्ट्रोल फण्डिङ रहेको र उमेर समूहको प्रतियोगिता प्रायोजक पाउने कठिनाइ भएकाले प्रतियोगिता बिना नै खुला छनोट टिम निर्माण गर्न बाध्य भएको बताए ।

खेलाडीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबारदेखि नै प्रशिक्षण सुरु गरेका छन् । यस संस्करणको यु–१९ साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा नेपालले पाकिस्तान र माल्दिभ्सको सामना गर्नेछ । अर्को समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् । 

नेपालले आगामी सेप्टेम्बर २१ मा पाकिस्तानबिरुद्ध दशरथ रंगशालामा खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । त्यसपछि नेपालले सेप्टेम्बर २३ मा माल्दिभ्ससँग खेल्ने तय छ ।

पछिल्लो संस्करणको यु–१९ साफ च्याम्पियनसिप सन् २०१५ मा नेपालमा नै आयोजना भएको थियो । उक्त संस्करणमा नेपालले फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो । त्यतिबेला नेपाललाई उक्त उपाधि दिलाउन सफल विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङ, सुनिल बल र तेज तामाङ हुन् । यही टोलीका अधिकांश खेलाडीले पछि सिनियर राष्ट्रिय टोलीमा समेत वर्चस्व राखेका थिए । यो टोली अहिलेसम्मकै उत्कृष्ट ब्याच मानिने गरिन्छ ।

यस पटक पनि घरेलु मैदानमा नै यु–१९ साफ च्याम्पियनसिप हुने भएकाले नेपालले यसको दाबेदारी प्रश्तुत गर्ने लक्ष्य राखेको छ । एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले पनि घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालको पनि दाबेदारी रहने विश्वास व्यक्त गरे ।

एन्फाले यस प्रतियोगिताका लागि टिकेटिङ अधिकारलगायत अन्य व्यवस्थापकीय पाटोमा सूचना जारी गरिसकेको जनाएको छ । साथै सहभागी टोलीलाई पनि नेपाल आर्मीको खेल मैदान भद्रकाली र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाउने जनाएको छ । प्रतियोगिताका लागि करिब दुई करोड ७७ लाख ३२ हजार बराबर खर्च हुने एन्फाको अनुमान छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप