मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

जोगियो कोशी सरकार : कार्यवाहक सभाध्यक्षको नौलो अभ्यास

तिम्सिनाले गरिन् १ मिनेट १० सकेण्ड अध्यक्षता
सोमबार, ०४ भदौ २०८०, १८ : ३८
सोमबार, ०४ भदौ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत पाएका छन् । उनले पाएको विश्वासको मत विवादरहित भने रहेन । जबकि एमालेले विश्वासको मत फेल गराउन तथा गठबन्धनको नेतृत्वमा बनेको सरकार ढाल्न उपसभामुख र ९ जना ज्येष्ठ सांसदलाई आजको प्रदेशसभामा अनुपस्थित गराएको थियो ।

त्यसका बाबजुद उपसभामुख सिर्जना दनुवारले सभाध्यक्षको जिम्मेवारी दिएका ज्येष्ठ सांसद मन्सुरीले नै मुख्यमन्त्री थापालाई विश्वासको मत दिलाउँदै नयाँ अभ्यास गराएका हुन् । 

सबैले मतदान गरिसकेपछि मत सच्याउन सभाध्यक्षको आसनबाट मन्सुरीले ५ मिनेटको समय दिए र घण्टी बज्यो । उक्त समय सकिने बित्तिकै उनले सभाध्यक्षको आसन ग्रहण गर्न अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिनालाई जिम्मेवारी दिए । 

मन्सुरीले तिम्सिनालाई सभामुखको कुर्सीमा बस्न दिएको १ मिनेट १० सेकेण्डमा मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेर पुनः सभाध्यक्षको कुर्सीमा गएका थिए । त्यसपछि तिम्सिना भने सत्तापक्षको कुर्सीमा फर्किन् ।

सभाध्यक्षको कुर्सीमा तिम्सिना बस्न केही हडबडाएजस्तो देखिएकी थिइन् । लगत्तै एमालेका सांसदहरुले मन्सुरीलाई मत दिने अवरोध गर्ने कोसिस गरे । त्यसलाई मर्यादापालकहरुले छेकेका थिए भने सत्ता पक्षका सांसदहरुले सघाएका थिए । विपक्षीको ‘रो’मा प्रस्तावको विपक्षमा मतदान गर्ने व्यवस्था गरिएको थियो भने सत्तापक्षको ‘रो’मा प्रस्तावको समर्थनमा मतदान गर्ने व्यवस्था थियो । 

१ मिनेट १० सेकेण्डको समयपछि पनि एमालेले लगातार अवरोध र नाराबाजी गरिरह्यो । तर, केही समयपछि मुख्यमन्त्रीबाट विश्वासको मत पारित भएको घोषणा गरियो । 

२०७९ मंसिरमा सम्पन्न निर्वाचनपछि पुस १७ गते प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकार २०७९ असार १५ गते ढलेको थियो । 

त्यसपछि असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हालका मुख्यमन्त्री थापालाई सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गरेको थियो ।

पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले विश्वासको मत लिने समय भदौ १३ गतेसम्म कायम थियो । तर, उनले त्यस अगाडि नै विश्वासको मत कायम गरेका छन् । प्रदेशसभाको अर्को बैठक भदौ ६ गतेका लागि बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप