आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

ललिता निवास प्रकरणमा १८ अर्बभन्दा बढी बिगो कायम

४८ जनाले फिर्ता गर्नेभए जग्गा
मङ्गलबार, ०५ भदौ २०८०, १८ : ३२
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ अर्बभन्दा बढी बिगो कायम गरेको छ । 

संगठित रुपमा जग्गा घोटाला गर्नेहरुविरुद्ध १८ अर्बबढी बिगो कायम गरेर वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

मंगलबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ७७१ पेज लामो अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले जग्गा घोटालामा संलग्न भएका तर, हाल मृत्यु भइसकेकाहरुको सम्पतीबाट पनि बिगो भराउनु मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिएको छ ।

जग्गा घोटामा संलग्न २१ जनाको मृत्यु भएको छ । संलग्न मध्येका पूर्व मुख्य सचिव माधव घिमिरे दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ ।

ललिता निवासमा आफूले खरिद गरेको जग्गा ‘फिर्ता गर्छु’ भनेर ४८ जनाले निवेदन दिएका छन् । काठमाडौँ महानगरपालिका–३१ कमलादी घर भएकी सिपीका खेतानसहित निवेदन दिनेहरुलाई प्रहरीले ‘जग्गा फिर्ता प्रयोजनका लागि मात्र’ प्रतिवादी कायम गर्न राय दिएको छ ।

जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादी कायम गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना  भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । सीआईबीले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन राय दिएको छ । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा ‘संगठित किर्ते’ गर्ने भूमिकामा पूर्वमन्त्रीहरु संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप