आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डाक्टरले नवजात शिशु १० लाखमा बेचेको आशंका

मङ्गलबार, ०५ भदौ २०८०, २० : ३०
मङ्गलबार, ०५ भदौ २०८०

विराटनगर । अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै विक्री भएको तथ्य खुलेको छ । यसअघि आफूले जन्माएको शिशु हराएको भन्दै एक युवतीले मोरङ प्रहरीमा उजुरी दिएकी थिइन् । 

युवतीको उजुरीका आधारमा मोरङ विराटनगरमा रहेको ग्रिनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र अविवाहित युवतीका प्रेमी गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै डाक्टर कर्ण बिरामी भएर अस्पताल भर्ना भएका थिए । उनी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसलगत्तै प्रहरीले लिएको बयान र अनुसन्धानले उक्त शिशु ८ देखि १० लाखमा विक्री भएको अनुमान गरेको छ । उनले विक्री गरेको भने पुष्टि भएको प्रहरीको भनाइ छ ।

डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीलाई शिशु बेचेका थिए । डाक्टर कर्णले ८ देखि १० लाख रुपैयाँ लिएर शिशु बेचेको प्रहरीले अनुमान गरेको छ । ‘कतिमा बेचेको हो । त्यो विषयमा खुलाउने प्रयास भइरहेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन दाहालले भने । 

पक्राउ परेका कर्ण र भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ गत आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई गत असार १३ गते विराटनगर लिएर आएका थिए । सुरुमा विराटनगरको दिपेश मेडिकल क्लिनिकमा युवतीलाई लिएर गोविन्द पुगेका थिए । उक्त क्लिनिक पनि डाक्टर कर्णको हो । त्यसपछि उनै डाक्टर कर्णले ग्रीनक्रस अस्पताल भर्ना गर्न लगाएका थिए । त्यसपछि युवतीले हस्पिटलमै नर्मल डेलिभरीमार्फत छोरी जन्माएकी थिइन् ।

कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप