आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक भदौ १७ गतेका लागि आह्वान गर्ने निर्णय

मङ्गलबार, ०५ भदौ २०८०, २० : ४९
मङ्गलबार, ०५ भदौ २०८०

मकवानपुर । बागमती प्रदेशसभा बैठक भदौ १७ गतेका लागि आह्वान गरिने भएको छ । बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले भदौ १७ गतेका लागि आह्वान गर्ने निर्णय गरेको हो । प्रदेशसभाको बैठक भदौ १७ गते १ बजे बस्नेछ । 

गत असार २२ गतेदेखि स्थगित बैठक अझैसम्म बस्न सकेको थिएन । प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट पास गरे लगत्तै स्थगित गरिएको बैठक करिब २ महिना पछि बस्ने भएको हो । 

संसद् सचिवालयमा प्राप्त बिजनेस नहुँदा बैठक आह्वान हुन सकेको थिएन । सरकारले सदनमा नयाँ विधेयक दर्ता नगर्दा कानुन निर्माणको प्रक्रिया समेत ठप्प छ ।

बैठक नचल्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले अनुकूलतामा संसद्लाई प्रयोग गरेको समेत आरोप लगाएको छ । संसद् बैठक सञ्चालन हुन नसकेको भन्दै सरकारले संसद्लाई बिजनेस विहीन बनाएको एमालेको आरोप छ । एमालेले यथाशीघ्र संसद् संचालनको माग गर्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

संसद् गठन भएको ८ महिनाको अवधिमा प्रदेशसभाको २ वटा अधिवेशनमा ४६ वटा बैठकहरु सञ्चालन भएका छन् । गत १८ पुसदेखि सञ्चालन भएको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा जम्मा १८ वटा बैठकहरु बसेका थिए भने दोस्रो अधिवेशनमा २८ वटा बैठक बसेको थियो । 

उक्त वैठकहरुमा निजामती कर्मचारी सम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धी विधेयक पास गरी ऐनको रुपमा कार्यान्वयन भइसकेको छ भने चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक पास गरेपनि प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रमाणीकरण हुन नसकेपछि संसदमा नै फिर्ता भएको छ ।

यता प्रदेशसभाका समितिहरू पनि नेतृत्व विहीन छन् । प्रदेशसभा गठन भएको ८ महिनासम्म पनि समितिका सभापतिहरुको निर्वाचन भने हुन सकेको छैन । यद्यपि प्रदेशसभाका समितिमा सदस्यहरूको नाम भने अनुमोदन भइसकेका छन् । प्रदेशसभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति गरी ५ वटा समितिहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप