आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सिमरनको संगीत यात्रा

एउटा अन्तर्वार्ताले बनायो सिमरनलाई ‘भाइरल’, अनि फेरियो सपना

बुधबार, ०६ भदौ २०८०, १० : १८
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव बलियो छ । कुनै व्यक्ति जिरोबाट हिरो र हिरोबाट जिरो हुन समय लाग्दैन । यही सामाजिक सञ्जालकै कारण पछिल्लो समय भाइरल भएकी छिन्, बागलुङकी सिमरन परियार ।

सिमरन अहिले गायिकाको रूपमा भाइरल छिन् । युट्युबर भोजराज थापाले सामाजिक सञ्जालमा उनको स्वर सुनेपछि प्रभावित बनेर अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्ताको क्रममा उनलाई केही गीत गाउन लगाए । सोही कारण उनको स्वरको चर्चा हुनपुग्यो । 

त्यसपछि गायक प्रमोद खरेलले उनलाई आफ्नो गीत ‘उनलाई पाउनु’मा ब्रेक दिए । यो गीतमा स्वर दिएपछि उनी गायिकाको रूपमा सामाजिक सञ्जालमा भाइरलै भइन् ।

सामाजिक सञ्जालमा उनको स्वर भाइरल भएपछि महिना दिनमै करिब २० वटा गीत रेकर्ड गरिन् । एक दिनमा ३ वटा गीतसम्ममा स्वर भरेकी उनलाई अहिले दैनिक आधा दर्जन बढी गीत रेकर्डको अफर आइरहेको छ ।

 

बागलुङकी स्थानीय उनी त्यहीको विद्यामन्दिर माध्यमिक विद्यालय १२ कक्षामा अध्ययनरत छिन् । गायिकाको रूपमा भाइरल भएपछि गायनमा मिलेको अवसर छोप्ने कि, अध्ययन बढाउने दुबिधामा छिन् उनी ।

‘भाइरल हुँदा एकदमै खुसी छु । साथसाथै नर्भस पनि’, उनको भनाइ छ । यसकै कारण अध्ययन बिग्रन्छ कि भन्ने डर लागेको उनले बताइन् । अबको दिन कसरी अगाडि बढ्ने भन्ने चिन्ताले सताएको उनी सुनाउँछिन् ।simran

त्यसे त सिमरनका बुबाआमा पनि गीत गुन्गुनाउँछन् । त्यसैले उनी पनि सानैदेखि गुनगुनाउने गर्थिन् । ४÷५ कक्षापछि स्कुलका कार्यक्रम, गाउँघरका कार्यक्रममा गाउँथिन् । सबैले स्वर राम्रो छ भनेर प्रशंसा गर्थे । उनी दङ्ग पर्थिन् ।

‘अध्ययनपछि म्युजिक सिकेर नेपाल आइडल, द भ्वाइस नेपाल जस्ता रियालटी शोमा प्रतिस्पर्धा गर्नुपर्ला भन्ने सोच थियो’, उनले भनिन् ‘अहिले एकाएक यसरी भाइरल हुन्छु, यति धेरै चर्चा मिल्छ भन्ने मैले कहिल्यै कल्पना गरेकी थिइनँ । जे भयो, राम्रो भयो ।’

सिमरन साइन्स पढिरहेकी छिन् । ‘डाक्टर बन्छु भनेर साइन्स पढेको होइन । मेरो परिवारको आर्थिक अवस्था कमजोर छ । ‘प्लस टु’ सकाएपछि नर्सिङ अथवा टोफल गरेर विदेश जाने सोचका साथ यो पढेकी हुँ’, उनले अगाडि थपिन्, ‘गीत संगीतका लागि नयाँ अवसर मिलिरहेको छ । के गर्ने, के नगर्ने केही सोच्न सकेकी छैन ।’

सिमरन पछिल्लो समय बागलुङमै छिन् । केही अगाडि काठमाडौँ रहँदा दिनमा ३ वटासम्म गीतमा स्वर दिएकी उनलाई अहिले पनि गीत रेकर्डको ओइरो छ । अध्ययनका लागि बागलुङ रहेको कारण सबै अफर नस्विकारेको उनको भनाइ छ ।

कतिपय मानिस सयौँ अन्तर्वार्ता दिँदा पनि चर्चामा आउन सक्दैनन् । उनी भने एक अन्तर्वार्ताले भाइरल हुन पुगिन् । उनले सामाजिक सञ्जालको प्रभाव यति शक्तिशाली हुन्छ भनेर कहिल्यै कल्पना पनि गरेकी थिइनन् रे । 

‘सामाजिक सञ्जालले मानिसलाई छिट्टै नसोचेको सफलता दिलाउँदो रहेछ । उन्नति प्रगति पथमा लम्काउँदो रहेछ,’ उनले थपिन् ।

अहिले आफ्नै देशमा बसेर गीत गाउने, पढ्ने सोच छ उनमा । सिमरनले भनिन्, ‘अहिले पाएको चर्चाले अव विदेश भन्दा पनि यही बसेर गीत नै गाउनुपर्छ भन्ने लागेको छ ।’ 

अहिलेसम्म संगीतको औपचारिक ज्ञान नलिएकी उनी संगीत पनि सिक्न चाहन्छिन् । त्यसका लागि काठमाडौँ बसेर संगीत सिक्ने, गायन गर्ने र अध्ययन पनि अगाडि बढाउने उनको बिचार छ ।

pr

गायनबाट थुप्रैले करियर बनाएको उनी जानकार छिन् । त्यसैले उनलाई पनि गायनमा करियर बनाउन मन लागेको छ । हचुवाको भरमा भन्दा पनि संगीत सिकेर, साधना गरेर गायन अगाडि बढाउन चाहन्छिन् । 

गायन अगाडि बढाउने विषयमा उनको परिवारको नकारात्मक सोच भने छैन । ‘तर पहिले अध्ययन पुरा गर, पछि जे भन्छौ त्यही गर्दिन्छौँ’ भन्ने गरेका छन् । उनका शिक्षक शिक्षिका पनि यही चाहन्छन् ।

‘तिम्रो गला जहिले पनि तिमीसँगै रहन्छ । गायन पछि गर्दा पनि हुन्छ’, उनले आफूलाई गुरुहरूको सुझाव सुनाइन् ।

साथीभाइको धारणा भने शिक्षक शिक्षिका भन्दा बेग्लै छ । उनीहरुले भन्ने गरेका छन्, ‘अहिले चर्चामा आएकी छेस् । यो चर्चाको बेला अगाडि बढ्न सजिलो हुन्छ । पछि काम नपाउन पनि सकिन्छ । मानिसले बिर्सन पनि सक्छन् ।’ 

simran pariyar (2)

साथीभाइले काठमाडौँ बसेर अध्ययन र गायन दुवै सँगै अगाडि बढाउन सुझाएको उनी सुनाउँछिन् ।

गायनको अलावा सिमरनलाई नृत्यमा पनि रुचि छ । गायनमा राम्रो परिचय बनाएपछि अभिनयमा आउन चाहन्छिन् उनी  । अहिले मोडलिङ र अभिनयका लागि समेत अफर मिलेको छ । अभिनय र मोडलिङका लागि भने आफू परिपक्व नभएको लाग्छ उनलाई ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप