आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला समर्थकको दबाबपछि हच्कियो म्यानचेस्टर युनाइटेड, ग्रिनउडलाई बिदा गर्ने तयारी

बुधबार, ०६ भदौ २०८०, १४ : २०
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । आफ्नी प्रेमिकामाथि कुटपिट र बलात्कार गरेको गम्भीर आरोप लगेका इङ्गल्यान्डका युवा स्ट्राइकर मासन ग्रिनउडलाई अन्ततः म्यानचेस्टर युनाइटेडले क्लबबाट बिदा गर्ने भएको छ । करिब ६ महिना लामो आन्तरिक अनुसन्धानपछि म्यानचेस्टर युनाइटेड ग्रिनउडलाई पुनः क्लबबाट नखेलाउने निर्णयमा पुगेको समाचारमा जनाइएको छ ।

यद्यपि, क्लब स्रोतको दाबीलाई मान्ने हो भने आन्तरिक अनुसन्धानबाट पनि २१ वर्षीय स्ट्राइकर ग्रिनउड निर्दोष देखिएका छन् । तर, क्लबले यस विषयमा हालसम्म आधिकारिक रुपमा केही बताएको छैन । खासगरी महिला समर्थकहरूले ग्रिनउडलाई म्यानचेस्टर युनाइटेडबाट हटाउन चर्को दबाब दिँदै आएका छन् । 

केही महिला समर्थकले ग्रिनउडलाई क्लबबाट नहटाइए आफूहरूले म्यानचेस्टर युनाइटेडको समर्थन नगर्ने चेतावनी दिएका छन् । सोही दबाबका कारण म्यानचेस्टर युनाइटेडले ग्रिनउडलाई क्लबबाट नखेलाउने नीति लिएको समाचारमा जनाइएको छ । 

पछिल्लो समय ग्रिनउड साउदी अरेबियाको क्लबमा आबद्ध हुने चर्चा पनि चलेको छ । तर, ग्रिनउडले यस विषयमा केही बताएका छैनन् । ‘ग्रिनउड निकट भविष्यमै साउदी अरेबियन क्लबमा आबद्ध भए भने आश्चर्य नमाने हुन्छ,’ म्यानचेस्टर युनाइटेडका एक अधिकारीले भनेका छन् । ग्रिनउडले म्यानचेस्टर युनाइटेडसँगको सहमतिमै क्लब छाड्ने तयारी गरेको बताइएको छ । 

ग्रिनउडमाथि उनकी प्रेमिका ह्यारिट रोब्सनले बलात्कार र कुटपिट गरेको आरोप लगाएकी थिइन् । उनले सामाजिक सञ्जालमा आफ्नो तस्बिर सार्वजनिक गर्दै ग्रिनउडले आफूलाई कुटपिट र बलात्कार गर्ने गरेको दाबी गरेकी थिइन् । 

सोही आरोपमा ग्रिनउडलाई सन् २०२२ को जनवरीमा प्रहरीले पक्राउ पनि गरेको थियो । ग्रिनउडले भने आफूमाथि निराधार आरोप लगाइएको बताउँदै आएका छन् । पक्राउ गरेको ७२ घन्टापछि प्रहरीले उनलाई जमानतमा रिहा गरेको थियो । ग्रिनउडलाई जमानतमा रिहा गरिए पनि उनीमाथिको छानबिन भने कायमै थियो । तर, सन् २०२३ को फेब्रुअरी २ तारिखमा उनीमाथि लागेको सम्पूर्ण आरोपलाई खारेज गरिएको थियो । 

रोब्सनले सामाजिक सञ्जाल इस्टाग्राममा ग्रिनउडले आफूमाथि कुटपिट गरेको भन्दै तस्बिरसँगै भिडियो पनि सार्वजनिक गरेकी थिइन् । रोब्सनले सार्वजनिक गरेको एक तस्बिरमा उनको ओठबाट रगत बगिरहेका देखिन्छ । 

भिडियोको क्यापसनमा उनले ‘ग्रिनउडले ममाथि के गरे भनेर जान्न चाहनेहरूका लागि...’ भनेर लेखेकी थिइन्  । शरीरका विभिन्न भागमा देखिएका निल डामसहितको तस्बिर रोब्सनले सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । 

ग्रिनउडमाथि गम्भीर आरोप लागेपछि म्यानचेस्टर युनाइटेडले पनि उनलाई निलम्बन गरेको थियो । उक्त घटनापछि म्यानचेस्टर युनाइटेडले ग्रिनउडलाई मैदानमा ओरालेको छैन । करिब ६ महिनादेखि म्यानचेस्टर युनाइटेडले यस विषयमा छानबिन गरिरहेको थियो ।

आन्तरिक छानबिनपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा ग्रिनउडलाई मैदानमा ओराल्ने चर्चा सुरु भएको थियो । उक्त समाचार सार्वजनिक भएपछि म्यानचेस्टर युनाइटेडका थुप्रै महिला समर्थक क्लबसँग रुष्ट बनेका थिए ।

चर्चित टेलिभिजन प्रस्तोता राचेल रिलीले त ग्रिनउडलाई क्लबबाट नटाइए आफूले म्यानचेस्टर युनाइटेडलाई समर्थन नगर्ने चेतावनी पनि दिएकी छन् । राचेल लगायतका महिला समर्थकको चर्को विरोधपछि म्यानचेस्टर युनाइटेड दबाबमा परेको छ । ग्रिनउडलाई पुनः खेलाउँदा म्यानचेस्टर युनाइटेडको छविमा समस्या पर्न सक्ने आशङ्का क्लबले गरेको छ । 

सोही कारणले क्लबले उनलाई अन्य क्लबमा जान अनुमति दिएको समाचारमा जनाइएको छ । म्यानचेस्टर युनाइटेडसँग ग्रिनउडको सम्झौता सन् २०२५ सम्म छ । म्यानचेस्टर युनाइटेडका अन्य खेलाडीले पनि ग्रिनउडको विषयमा क्लबले छिट्टै ठोस निर्णय लिनुपर्ने धारणा राख्दै आएका छन् । 

एउटा प्रतिभाशाली खेलाडीलाई लामो समयसम्म खेल्ने अवसरबाट वञ्चित गर्दा उसको प्रदर्शनमा समेत प्रभाव पर्ने दाबी खेलाडीहरूले गरेका छन् । अर्कोतिर साउदी अरेबियाका क्लबहरूले पनि विश्वका चर्चित र प्रभावशाली खेलाडीहरूलाई ठुलो रकम खर्चिएर भित्र्याउँदै आएका छन् । त्यसैले पनि उनको आगामी गन्तव्य साउदी लिग नै हुने अनुमान गरिएको छ ।

साउदी क्लबका प्रतिनिधि र ग्रिनउडबीच आन्तरिक रुपमा विभिन्न चरणमा छलफल समेत भइसकेको समाचारमा जनाइएको छ । साउदी क्लब अल—इत्तिफाकका प्रशिक्षक स्टेभन जेरार्डले भने ग्रिनउड आफ्नो क्लबमा आबद्ध हुने समाचार निराधार भएको दाबी गरेका छन् । यसअघि ग्रिनउड उक्त क्लबमा आबद्ध हुने समाचार पनि सार्वजनिक भएको थियो ।

ग्रिनउडले सन् २०१८ देखि म्यानचेस्टर युनाइटेडको सिनियर टोलीबाट खेल्न थालेका हुन् । त्यसअघि उनी म्यानचेस्टर युनाइटेडकै युवा टोलीका सदस्य थिए । उनी इङ्गल्यान्डको राष्ट्रिय टोलीको महत्त्वपूर्ण सदस्य पनि हुन् । ग्रिनउडलाई म्यानचेस्टर युनाइटेडले सन् २०२२ को जनवरीदेखि मैदानमा ओरालेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप