सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल र पाकिस्तानको खेल हेर्न पीसीबीले बोलायो, बीसीसीआई सचिवले जवाफ फर्काएनन्

बिहीबार, ०७ भदौ २०८०, १० : ०१
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल सेप्टेम्बर ३० तारिखमा नेपाल र पाकिस्तानबीच हुँदै छ ।

नेपाल र पाकिस्तानसँगै समूह ‘ए’ मा भारत पनि छ । नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्तान क्रिकेट स्टेडियममा खेलिने छ । उक्त खेल हेर्नका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहलाई पनि निम्तो पठाएको छ । 

तर, निम्तो पठाएको पाँच दिन बितिसक्दा पनि जय शाहले भने पीसीबीलाई कुनै जवाफ फर्काएका छैनन् । यसअघि बीसीसीआईले एसिया कप खेल्न भारतीय टोलीलाई कुनै पनि हालतमा पाकिस्तान नपठाउने अडान लिएको थियो । 

बीसीसीआईको अडानकै कारण एसिया कपमा भारतले खेल्ने खेलहरू पाकिस्तानबाट श्रीलङ्कामा सारिएको थियो । 

त्यसैले पीसीबीले नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल हेर्न निम्तो पठाएपछि अब जय शाहले के गर्लान् भनेर धेरैले चासो लिएका छन् । पीसीबीको निम्तोपछि जय शाह आफै पनि अप्ठ्यारोमा परेको केही विश्लेषकले बताएका छन् । 

एसिया कपमा भारत र पाकिस्तानबीचको खेल भने सेप्टेम्बर २ तारिखमा श्रीलङ्काको पालेकेलमा हुनेछ । समूहको अन्तिम खेल सेप्टेम्बर ४ तारिखमा नेपाल र भारतबीच खेल हुनेछ । नेपाल र भारतबीचको खेल भने श्रीलङ्काको केन्डीमा खेलिने छ । 

पीसीबीले जय शालाई उद्घाटन खेल हेर्ने निम्तो पठाएर दुई देशबीच क्रिकेटको माध्यमले सम्बन्धमा सुधार ल्याउन चाहेको अनुमान धेरैले गरेका छन् । पीसीबीको निम्तोपछि अब बल बीसीसीआईको कोर्टमा प्रवेश गरेको छ । बीसीसीआईले पनि पीसीबीबाट निम्तो आएको स्वीकारेको छ ।

यसअघि जय शाहले पीसीबीबाट आफूलाई कुनै निम्तो प्राप्त नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । केही विज्ञहरूले जय शाह नेपाल र पाकिस्तानबीचको खेल हेर्न पाकिस्तानले जाने सम्भावना बलियो रहेको बताएका छन् । 

एसिया कपपछि यसै वर्ष भारतले आईसीसी एकदिवसीय विश्वकप आयोजना गर्दै छ । आफ्नै राष्ट्रमा आयोजना हुने आगामी एकदिवसीय विश्वकपलाई ध्यानमा राखेर पनि जय शाह पाकिस्तान जान सक्ने सम्भावना प्रबल रहेको उनीहरूको तर्क छ । जय शाह एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष पनि हुन् । एकदिवसीय विश्वकप आगामी अक्टोबर—नोभेम्बरमा आयोजना हुँदै छ । 

एसिया कपको समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । लिग चरणको समाप्तिपछि दुवै समूहबाट पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा प्रवेश गर्नेछन् । पाकिस्तानले सन् २००५ पछि कुनै पनि ठुलो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप