सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेनरी ओलोङ्गा भन्छन्, ‘जिम्बाबेका महान क्रिकेटर हिथ स्ट्रिक मरेका छैनन् है ! मबाट ठूलो गल्ति भयो’

बिहीबार, ०७ भदौ २०८०, १२ : ५३
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । आफ्नो समयमा चर्चित क्रिकेटर हुन्, हिथ स्ट्रिक । उनले जिम्बाबेको क्रिकेटलाई अन्तर्राष्ट्रिय खेलकुद वृत्तमा स्थापित गराउने निकै ठूलो योगदान गरेका छन् । हिथ स्ट्रिकसहित जिम्बाबेको टोलीले कुनै समय विश्व क्रिकेटमा धुरन्धर राष्ट्रहरुलाई गतिलो चुनौति दिन्थ्यो ।
 
जिम्बाबेका ४९ वर्षीय यी प्रभावशाली क्रिकेटरको निधन भएको समाचार बुधबार एकाएक भाइरल बन्न पुग्यो । सामाजिक सञ्जालमा उनीप्रति श्रृद्धाञ्जली अपणर् गर्नेको ओइरो पनि लाग्यो । विश्व क्रिकेटका थुप्रै पूर्व र वर्तमान खेलाडीले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रृद्धाञ्जली पनि अपर्ण गरे । 

यस्तो हल्ला चलेको निकै लामो समयपछि जिम्बाबेकै अर्का क्रिकेटर हेनरी ओलोङ्गाले सामाजिक सञ्जालमा भनेका छन्, ‘हिथ स्ट्रिक मरेका छैनन् है ! हामीबाट ठूलो गल्ति भयो ।’ सामाजिक सञ्जालमा हेनरी ओलोङ्गाको दोस्रो पोष्टपछि सबैले माफी मागेका छन् । 

खासमा भएको के हो त ? हिथ स्ट्रिक लामो समयदेखि स्वास्थ्य समस्याबाट जुधिरहेका छन् । अस्पतालमा उनको उपचार भइरहेको छ । यस्तैमा कसैले हेनरी ओलङ्गालाई हिथ स्ट्रिकको निधन भएको समाचार सुनायो । ४७ वर्षीय पूर्वक्रिकेटर हेनरी ओलोङ्गा हिथ स्ट्रिकका निकटका मित्र पनि हुन् । 

हिथ स्ट्रिकको निधनको समाचार सुनेपछि हेनरी ओलोङ्गा स्तब्धः भए । उनले हिथ स्ट्रिकको परिवारको सदस्यलाई यस विषयमा सोध्ने हिम्मत पनि गरेनन् । त्यसपछि उनले सामाजिक सञ्जालमा पोष्ट गरे, ‘मेरा अनन्य मित्र एवम् जिम्बाबेका महान क्रिकेटर हिथ स्ट्रिकले हामीलाई छाडेर गए ।’

हेनरी ओलोङ्को उक्त पोष्ट सार्वजनिक हुने बित्तिकै जिम्बाबे क्रिकेटमा खैलाबैला मच्चियो । धेरैले सामाजिक सञ्जालमार्फत हिथ स्ट्रिकप्रति श्रद्धाञ्जली अर्पण गर्न थाले । खेलाडी, पदाधिकारी र समर्थकहरु हिथ स्ट्रिकलाई राखिएको स्थानको विषयमा जानकारी पनि बटुल्न थाले ।

विस्तारै यो खबर हिथ स्ट्रिकको परिवारले थाहा पाए । परिवारका सदस्यले यो समाचार निराधार भएको प्रतिक्रिया दिए । त्यसपछि हेनरी ओलोङ्गाले सामाजिक सञ्जालमा अर्को पोष्ट गर्दै आफूबाट अन्जानमा भएको गल्तिका लागि माफी मागे ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा गरेको आफ्नो दोस्रो ट्वीटमा लेखेका छन्, ‘जिम्बाबेका महान क्रिकेटर हिथ स्ट्रिक मरेका छैनन् है ! मबाट ठूलो गल्ति भयो । यसका लागि म हृदयदेखि नै माफी माग्न चाहन्छु । अन्जानमा मबाट भएको गल्तिले परिवारजनमा पर्न गएको चोटप्रति क्षमाप्रार्थी पनि छु ।’

हेनरी ओलोङ्गाको दोस्रो पोष्टपछि अन्य क्रिकेटर, पदाधिकारी र समर्थकहरुले पनि माफी मागेका छन् । केहीले त हेनरी ओलोङ्लाई मृत्यूजस्तो कुरालाई हल्का रुपमा लिएकोमा गाली पनि गरेका छन् । हिथ स्ट्रिक जिम्बाबेका सफल क्रिकेटरमध्ये एक हुन् । 

उनले जिम्बाबेका लागि ६५ टेस्ट र एक सय ८९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेर कूल चार हजार नौ सय ३३ रन बनाएका छन् । अलराउन्डर हिथ स्ट्रिकले जिम्बाबेका लागि चार सय ५५ वटा विकेट पनि लिएका छन् । 

हिथ स्ट्रिक हालसम्म टेस्ट क्रिकेटमा एक हजार रन र एक सय विकेट तथा एकदिवसीय क्रिकेटमा दुई हजार रन र दुई सय विकेट लिने जिम्बाबेका एकमात्र क्रिकेटर हुन् । विश्व क्रिकेटमा उनको नाममा रहेका कतिपय कीर्तिमान अहिलेसम्म पनि तोडिएका छैनन् ।  

उनी विगत केही समयदेखि कोलोन र कलेजोको क्यान्सरसँग सँघर्ष गरिरहेका छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । हेनरी ओलोङ्गाको पहिलो पोष्टपछि क्रिकेटर सिन विलियम्सले सामाजिक सञ्जालमा लेखेका थिए, ‘हृदयविदारक समाचार । हिथ स्ट्रिक अब हामीबीच रहनु भएन । मसँग अगाडि बोल्न कुनै शब्द नै बाँकी छैन ।’ तर, हेनरी ओलोङ्गाको दोस्रो पोष्ट सार्वजनिक भएपछि उनले पनि माफी मागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप