आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा मेस्सीले खोज्दैछन् आवास, बुस्केट्सले किनिसके आलिसान घर

बिहीबार, ०७ भदौ २०८०, १५ : ३६
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी र स्पेनिस मिडफिल्डर सर्जियो बुस्केट्सले लामो समय बार्सिलोनामा एकसाथ व्यवसायीक फुटबल खेले । अहिले पनि अमेरिकी क्लब इन्टर मियामीमा पनि यी दुवै खेलाडी एकसाथ छन् ।

३६ वर्षीय मेस्सी र ३५ वर्षीय बुस्केट्स थोरै समयको फरकमा इन्टर मियामीमा आबद्ध भएका हुन् । यी दुवै स्टार खेलाडी अहिले आफ्नो परिवारसहित अमेरिकामा बस्छन् । अमेरिका पुगेदेखि नै मेस्सीले साउथ फ्लोरिडामा सुविधासम्पन्न घरको खोजी गरिरहेका छन् । 

तर, मेसीलाई उछिन्दै उनका मित्र बुस्केट्सले भने भर्खरै आलिसान घर किनेका छन् । बुस्केट्सले इन्टर मियामीको घरेलु रंगशालानजिकै सुविधासम्पन्न घर किनेका हुन् । उनले साउथ फ्लोरिडाको सि रेन्च लेक्स नजिकै घर किनेका हुन् । 

बुस्केट्सको नयाँ घरबाट डीआरभी पीएनके रंगशाला केवल आठ माइल टाढा छ । त्यही रंगशालामा इन्टर मियामीका खेलाडीले नियमित अभ्यास गर्छन् । मनोरम दृश्यका अतिरिक्त नयाँ घरबाट रंगशाला पुग्न ट्राफिकको खासै समस्या नहुने भएकाले पनि बुस्केट्सले त्यो घर निकै मन पराएको बताइएको छ । 

बुस्केट्सले ८७ लाख अमेरिकी डलरमा उक्त घर किनेको समाचारमा जनाइएको छ । उनले मेजर लिग सकर खेल्न इन्टर मियामीसँग पाँच वर्षका लागि सम्झौता गरेका छन् । उनले एक सिजनमा इन्टर मियामीबाट एक करोड अमेरिकी डलर पारिश्रमिक पाउँछन् । 

बुस्केट्स अब आफ्नी प्रेमिका ३२ वर्षीय एलिना गालेरा र दुई छोरासहित उक्त घरमा बस्नेछन् । बुस्केट्स र एलिनाका दुई छोरा छन्, सात वर्षीय एन्जो र पाँच वर्षीय लेभी । बुस्केट्स र एलिना सन् २०१४ देखि एकसाथ बस्दै आएका छन् । 

बुस्केट्सको नयाँ घर सात हजार एक सय स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । उक्त घरमा सातवटा बेड रुम रहेको समाचारमा जनाइएको छ । त्यो क्षेत्रमा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरू बस्ने भएकाले त्यहाँको सुरक्षा व्यवस्था पनि निकै कडा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप