आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

ललिता निवासबारे मीनबहादुर : ‘मैले व्यक्तिको जग्गा किनेको हुँ, ३ करोड लगानी छ’

बिहीबार, ०७ भदौ २०८०, १७ : ३६
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । भाटभटेनी सुपर मार्केका सञ्चालक मीनबहादुर गुरुङले बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’मा सरकारको जग्गा नकिनेको जिकिर गरेका छन् । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा सीआईबीलाई बयान दिँदै गुरुङले भनेका छन्–‘मैले व्यक्तिको जग्गा खरिद गरेको हुँ, सरकारी जग्गा खरिद गरेको होइन ।’

बालुवाटारको जग्गा हिनामिना प्रकरणमा मुख्य योजनाकार रहेको निष्कर्ष सहित प्रहरीले उनलाई असार १२ मा पक्राउ गरेको थियो । ६९ वर्षीय गुरुङले बालुवाटारमा २९ रोपनी जग्गा आफ्नो परिवार र नातेदारको नाममा रहेको उल्लेख गर्दै भनेका छन्–‘म, मेरो  परिबार तथा आफन्तको नाममा खरिद गरेको जग्गामा २–३ करोड लगानी भएको छ ।’

गुरुङले गरेको बयान :

मेरो राम कुमार सुवेदी र  शोभाकान्त ढकालसँग २०६०–२०६१ साल तिर ललिता निवास क्याम्प भित्रको जग्गा खरिद गर्ने समयमा चिनजान भयो । ललिता निवास क्याम्प भित्रको जग्गा हामी तिन जनाको संयुक्त नाममा खरिद गरेका हौँ । हामीले त्यसपछि भाटभटेनी डेभलपर्स प्रा.लि. दर्ता गरेर जग्गा विकाशको काम गरेका हौँ । कम्पनीको सञ्चालकहरूमा म, मेरो श्रीमती सावित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेका छौ । ललिता निवास क्याम्प भित्र खरिद गरेको जग्गामा ढल, बाटो, बत्ती आदीको व्यवस्था गर्न भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि. दर्ता गरेका हौँ ।

२०६७ सालमा प्रधानमन्त्रीको निवास विस्तारको क्रममा केही जग्गा खरिद गरेका थियौँ । सो जग्गा व्यक्तिको नाममा जग्गाधनी पुर्जा काय भएपछि खरिद गरिएको हो । मैले व्यक्तिको जग्गा खरिद गरेको हुँ, सरकारी जग्गा खरिद गरेको होइन । ललिता निवास क्याम्प भित्रको मेरो, मेरो परिवार तथा मेरो आफन्तको नाममा दर्ता कायम भएको जग्गाहरू खरिद गर्दा स्थलगत रूपमा साँध सिमाना छुट्याईएको थियो । मोहीहरूको बारेमा मलाई कुनै जानकारी छैन । बालुवाटारमा परिवार तथा आफन्तहरूको लागी आवास बनाउनको लागी साथै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरको गोदाम घर बनाउन जग्गा खरिद गरिएको हो ।

ललिता निवास क्याम्प भित्रको मेरो तथा मेरो परिवारहरूको नाममा खरिद गरेको जग्गामा मात्र मैले लगानी गरेको हो । २०६७ सालमा विशिष्ट व्यक्तिहरूको निवास परिसर बिस्तार गुरुयोजना बमोजिम विस्तारित क्षेत्रमा म समेतको नाममा रहेको भाटभटेनी डेभलपर्सको नाममा रहेको १० आना २ पैसा जग्गा परेको थियो । सो बापत सट्टापट्टा भनी के कुन कित्ताको के कति क्षेत्रफल सट्टापट्टा आएको थियो मलाई थाहा छैन । म र मेरो परिवारले जग्गाधनी पुर्जा र मोठ श्रेस्ता हेरी जग्गा खरिद गरेका हौ । मैले तथा मेरो परिवारले जग्गा धनी पुर्जा हेरी नियमानुसारको राजस्व तिरी सम्बन्धित जग्गा धनीहरूलाई नगदै रकम बुझाई जग्गा खरिद गरेका हौ । हाल अं २९ रोपनी जति जग्गा म,  मेरो  परिबार तथा नातेदारहरूको नाममा दर्ता कायम रहेको छ । म, मेरो परिवार तथा मेरो आफन्तको नाममा खरिद गरेको जग्गामा अन्दाजी २–३ करोड लगानी भएको छ ।  नेपाल सरकारको नामबाट विभिन्न व्यक्तिहरूको नाममा जग्गा नामसारी, दाखिल खारेज भइसके पश्चात् म समेतले साबिक जग्गाधनी सँग तोकिएको मोल तिरी जग्गा खरिद गरेको हुँ ।

२०६० सालमा माघ महिनाको दिन बिहान पख श्रीमती सावित्री गुरुङ समेतलाई साथमा लिई मर्निङ वाकको क्रममा बालुवाटार पुग्दा चौरमा केही बालबालिकाहरू भलिबल खेल्दै गरेको देखेको थिएँ, उक्त जग्गामा घाँस, घारी र ढल बगिरहेको अवस्था थियो, उक्त जग्गा देख्दा यहाँ पनि खाली जग्गा रहेछ भन्ने थाहा पाएको हुँ । मर्निङवाक बाट फर्केको करिब १५ दिनपछि मेरो दाइ नाताका रामकाजी कोने, विश्व प्रकाश पण्डित र दीपक भन्ने व्यक्ति समेतले भाटभटेनी स्थित भाटभटेनी सुपर मार्केटको प्राङ्गणमा मलाई भेटी बालुवाटारको जग्गा बिक्रीमा आएको कुरा बताएका हुन् ।

त्यसपछि जग्गा किन्ने क्रममा शोभाकान्त ढकाल, राम कुमार सुवेदी, विश्व प्रकाश पण्डित, रामकाजी कोनेसँग जग्गा किन्नेबारे छलफल भएको थियो । त्यसबेला बालुवाटारको जग्गा शैलजा राणा, सुनिति राणा, रुक्म शमसेर ज.ब.रा., हेमाद्र्री शमसेर ज.ब.रा., हाटक शमसेर ज.ब.रा. र हेमन शमसेर ज.ब.रा.को नाममा श्रेस्ता कायम थियो । कागजपत्र हेर्दा जग्गामा मोहि समेत देखिएको थियो ।

शोभाकान्त ढकाल, राम कुमार सुवेदी, विश्व प्रकाश पण्डित समेतले खरिद गरिसकेको भनेपछि विश्वास गरेर ललिता निवास क्याम्प भित्रको जग्गाहरू  नियमानुसार राजस्व तिरी  सम्बन्धित जग्गा धनीलाई नगदै रकम दिई खरिद गरेको हुँ । उक्त जग्गामा जानको लागि आवश्यक पहुँच मार्गको लागि समेत निज शोभाकान्त ढकाल र राम कुमार सुवेदीको पहलमा हेमाद्री शमसेर ज.ब.रा. सँग ०–१२–०–० रोपनी जग्गा राम कुमार सुवेदी, शोभाकान्त ढकाल र म समेतको संयुक्त नाममा खरिद गरेका हौँ । हाल १२ आना जग्गा जग्गा ललिता निवास क्याम्प भित्रको जग्गामा रहेको भाटभटेनी सुपर मार्केटको गोदाम र सो भित्रका अन्य कित्ता जग्गामा जाने बाटोको रूपमा प्रयोग भइरहेको छ ।

म तथा मेरो परिवारका सदस्यहरू र मेरो स्वामित्वको कम्पनी समेतको नाममा खरिद गरेको ललिता निवास क्याम्पको जग्गा मध्ये केही कित्ता बेचेका छौँ । प्रधानमन्त्री निवास परिसर बिस्तारको क्रममा निवास परिसर बाहिरको बाटो २०६७ सालमा मात्र बनेको हो, उक्त बाटो तयार हुँदा तत्काल हामी समेतको स्वामित्वमा रहेको ललिता निवास क्याम्प भित्रको जग्गा हुँदै निर्माण भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप