सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

शुक्रबार, ०८ भदौ २०८०, १४ : १४
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । नेपालले मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टीट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा घरेलु टोलीलाई जितका लागि ८४ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित १८ ओभरमा सात विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । 

नेपाली टोलीका खेलाडीले शुक्रबार पनि गतिलो ब्याटिङ गर्न सकेनन् । निराशाजनक ब्याटिङपछि अब खेल जित्न नेपालले बलरकै भर पर्नुपर्ने भएको छ । नेपालले २७ रनको कुल स्कोरमै आफ्ना दुबै ओपनरलाई गुमाएको थियो । 

ओपनर पूजा महतो एक रन बनाउँदै पेभेलियन फर्किएकी थिइन् । अर्की ओपनर काजल श्रेष्ठले १८ रन बनाइन् । उनले २१ बलमा एक चौका पनि हिर्काइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी इन्दु बर्माले ३३ बलमा २० रनको योगदान गरिन् । यसैगरी सीता रानामगर १३ बलमा नौ रन बनाउँदै पेभेलियन फर्किइन् । पाँचौं नम्बरमा क्रिजमा ओर्लिएकी कप्तान रुबिना क्षेत्रीले २३ रन जोडिन् । उनले २६ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएकी थिइन् । 

कविता जोशीले अविजित चार रन बनाइन् । बिन्दू रावल एक रनमा अविजित रहिन् । सम्झना खड्काले दुई र कविता कुँवरले एक रन थपे । मलेसियाका बलर नुर दानिया सुहादा, माहिरा इजाती इस्माइली र आइना हमिजाह हासिमले दुई-दुई विकेट लिए ।  यसअघि नेपाल आफ्नो पहिलो र दोस्रो खेलमा विजयी भएको थियो । नेपालले पहिलो खेलमा गत मंगलबार हङ्कङलाई ६ विकेटले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा बुधबार कुवेतलाई ३४ रनले पराजित गरेको थियो । 

यो शृंखला सकिएपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले आईसीसी महिला टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिताका लागि अभ्यास खेल खेलेको हो । एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त ३१ देखी सेप्टेम्बर ९ सम्म मलेसियामा हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप