आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्रीसमा तीन नेपालीलाई अपहरण गरी फिरौती रकम लिने व्यक्तिहरू पक्राउ

शुक्रबार, ०८ भदौ २०८०, १६ : ०४
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । ग्रीसमा तीन नेपाली नागरिकलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काअनुसार  गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने २५ वर्षीय सवित्रा थापा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ बस्ने कृष्ण कार्की र काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–१, मथुरापाटी बस्ने राजन सत्याल एक साथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए ।

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुनः लुकीछिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा निजको सहयोगी समेतले उनीहरुलाई अपहरण गरी, डोरीले बाँधी शारीरिक तथा मानसिक यातना र डर त्रास देखाई, ज्यान मार्ने धम्की दिई पीडितहरूको नेपालमा रहेका परिवारहरूसँग १५ हजार युरो फिरौती माग गरेको भनी पीडितका आफन्तले ब्यूरोमा लिखित निवेदन दिएका थिए ।

सोही आधारमा अनुसन्धानमा खटिएको ब्यूरोको टोलीले ग्रीस तथा दुबईबाट ह्वाट्सएप मार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिने र घटनामा संलग्न अन्य व्यक्तिलाई भदौ २ गते काठमाडौँ महानगरपालिका–८ गौरिघाट डेरा कोठाबाट फिरौती रकमसहित नियन्त्रणमा लिइएको र ग्रीसमा बन्धक बनाई राखेका पीडितहरू समेतलाई सकुशल उद्धार गर्न सफल भएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार नेपालमा फिरौती रकम लिने कार्यमा संलग्न धनकुटाको महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीय शिवराज कुँवर, फिरौती रकम लिन शिवराजसँग सम्पर्क गर्ने काठमाडौँको तारकेश्वर–५, कुमालटार निवासी ५६ वर्षीय रामेश्वर अर्याल, दुबईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाउने तथा रामेश्वर अर्याललाई रकम दिनु भन्ने कपिलवस्तु, शिवराज नगरपालिका–१ निवासी ३२ वर्षीय प्रकाश बेलबासे र पर्वतको फलेवास नगरपालिका–१ शंखपोखरी निवासी ४२ वर्षका दिल बहादुर थापालाई पक्राउ गरिएको हो ।

पक्राउ भएका व्यक्तिहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप