आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
धरानमा तनाव

दिनभर धरानले खिचेको ध्यान

शनिबार, ०९ भदौ २०८०, २० : ४४
शनिबार, ०९ भदौ २०८०

विराटनगर । कोशी प्रदेशमा मात्रै होइन धरानले शनिबार दिनभर देशैको ध्यान खिच्यो । धरानमा धार्मिक द्वन्द्व हुने खतरा भन्दै धेरैले अनुमान गरे । धेरैको अनुमानलाई स्थानीय प्रशासन कार्यालयको निषेधाज्ञाले पुष्टि गर्‍यो । के धरानमा निषेधाज्ञा जारी नगरेको भए कुनै द्वन्द्व हुन सक्थ्यो ? धरानका स्थानीय भन्छन्, ‘हो समस्या सिर्जना हुन सक्थ्यो ।’

तर, धरानको स्थानीयको कारण नभएर बाहिरबाट आउने मानिसहरुबाट हुलदङ्गा र अशान्ति मच्चिन सक्ने उनको आङ्कलन थियो । खुलेर नाम नबताउने उनी भन्छन्, ‘प्रतिकारका लागि कतिपय मानिसहरू तयार भएर बसेका थिए ।’

तर, शनिबार साँझसम्ममा त्यस्तो कुनै अप्रिय घटनाहरू भएका छैनन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार स्थानीय दलहरूको समझदारी, नागरिक अगुवाको सचेत पहल र प्रशासनले चालेको कदमका कारण शान्तिपूर्ण ढङ्गले पदयात्राहरू भएको बताइन् ।

उनले भनेजस्तै धर्मगुरुहरूसहितले सुनसरीको इटहरीबाट निकालेको जुलुस शान्तिपूर्ण ढङ्गले तरहरास्थित पानीपिया भन्ने ठाउँमा पुगेर सकिएको थियो । नारा जुलुसमा राप्रपाका नेता कार्यकर्ता पनि सहभागी थिए । १/२ जनाले प्रदर्शनलाई उग्र बनाउन खोजे पनि त्यसलाई रोकिएको स्थानीय प्रशासनले जनाएको छ । ‘हामीले भइरहेका भित्री योजनाहरूको पनि आङ्कलन गरेर निषेधाज्ञा जारी गरेका हौँ,’ पाण्डेले भनिन् ।

प्रहरी प्रशासनले मोरङ, झापा, पहाडी जिल्ला धनकुटालगायतका नाकाबाट प्रदर्शनमा आउन रोक लगाएको थियो । प्रशासनको आग्रहलाई मान्दै हिन्दुवादीहरूले पनि जबरजस्ती गरेको देखिएन । कतिपय स्थानमा चर्का र साम्प्रदायिक नारा लगाएको पाइए पनि अधिकांशले स्थितिलाई नियन्त्रणमै राखेको पाइयो । प्रहरीले शनिबारको सम्भावित अप्रिय कदमलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा गरेको थियो । विराटनगरको बरगाछीदेखि नै चेकजाँच बढाएको प्रहरीले कन्चनबारीमा पनि चेकजाँच गरेर मात्रै मानिसलाई इटहरीतर्फ जान दिएको थियो । 

यस्तै पश्चिमतर्फबाट आउनेहरुलाई कोशी ब्यारेजदेखि नै कडाइ गरिएको थियो भने पूर्वको झापाको सुरुङ्गादेखि नै कडाइ गरिएको थियो । यस्तै उत्तरमा धनकुटा तथा चतरातिरका सडकमा पनि प्रहरीले सुरक्षा तैनाथी बढाएको थियो । 

कतिपय प्रदर्शन कारीले प्रहरीले आफूहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्न नदिएको बताए । तर, धरानका स्थानीय धार्मिक संस्थाहरू भने शान्त रहेका थिए । ‘धरानमा त्यस्तो कुनै धार्मिक संस्थाले विरोध र्‍याली वा सद्भाव बिथोलिने गरी कार्यक्रम राखेनन्,’ दन्तकाली मन्दिरका पुजारी कमल भट्टराईले भने । ‘धरानका धार्मिक संघसंस्थाहरुले पनि नगरप्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् र उनीहरूको माग भनेको सबै धर्म जात र समुदाय मिलेरै बस्नुपर्छ भन्ने खालको रहेको छ,’ भट्टराईले भने । 

धरान बाहिर र सामाजिक सञ्जालमा भने के के न भइरहेको भन्ने गरी चर्चा र बहस भए । तर, त्यस्तो केही पनि नभएको त्यहाँका स्थानीय बताउँछन् । धरानकै जङ्ग चेम्जोङ पनि मिडियामा आएको जस्तो धरान नभएको बताउँछन् । ‘यो जमानामा सबैले सबैको सम्मान गर्ने हो । कसैलाई निषेध गर्ने पनि होइन,’ उनी भन्छन् । धरान १० कि तिलकुमारी लिम्बू पनि धरानको समाजमा कोही पनि त्रसित नरहेको बताउँछिन् । ‘हामी त्रसित छैनौँ । यहाँका मानिस एक आपसमा लडाई गर्दैनन् । बाहिर बाहिर हल्ला भएको मात्रै हो,’ उनले भनिन् । 

धरानकै देवलाल श्रेष्ठ ३० वर्षदेखिका बासिन्दा हुन् । उनलाई अहिलेसम्म धरानमा सामाजिक सद्भाव खलबलिने गरी गतिविधि भएको थाहा छैन । ‘खाएको भए हुन्थ्यो । सामाजिक सञ्जालमा नहालेको भए हुन्थ्यो । तर, धरानमा युद्ध हुन लाग्यो । द्वन्द्व हुन लाग्यो भन्ने हल्ला धेरै भयो । त्यही भएर होला प्रशासनले निषेधाज्ञा जारी गरेको,’ उनले भने । नगरप्रमुख हर्क साम्पाङले पनि सन्तुलित भूमिका खेल्न नसकेको भन्दै उनले चित्त दुखाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप