आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशका ५ प्रादेशिक अस्पताल आईसीयूविहीन

आइतबार, १० भदौ २०८०, ०९ : ५८
आइतबार, १० भदौ २०८०

मकवानपुर । बागमती प्रदेशका ५ वटा प्रादेशिक अस्पतालमा आईसीयू सेवा विहीन छन् । प्रदेश सरकार मार्फत सञ्चालन तथा व्यवस्थापन हुने ५ प्रादेशिक अस्पतालमा आईसीयू सेवा छैन ।

प्रदेश सरकार मातहतका अस्पतालको कुल ८७९ शय्या क्षमतामध्ये ४ प्रतिशतमात्र आईसीयू र २ प्रतिशत एनआईसीयू शय्या छन् ।

प्रदेशका १३ जिल्लाको १३ वटा प्रादेशिक अस्पतालको क्षमताको आधारमा ९४ प्रतिशत सामान्य शय्या छन् ।  प्रदेश सरकार अन्तर्गत रहेर सञ्चालनमा रहेका १३ मध्ये ८ वटा प्रादेशिक अस्पतालमा मात्र आईसीयू सेवा सञ्चालनमा छन् ।

प्रदेशको रसुवा अस्पताल, रामेछाप अस्पताल, बज्रवाराही चापागाउँ अस्पताल ललितपुर, पशुपति चौलागाई स्मृति अस्पताल दोलखा र टोखा चण्डेश्वरी अस्पताल काठमाडौँमा आईसीयूसेवा उपलब्ध छैन ।

ती अस्पतालमा सामान्य शय्या मात्र रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती अस्पतालमा क्याबिन तथा विशिष्टीकृत शय्यासमेत नरहेको र सामान्य शय्याबाट उपचार सेवा प्रवाह हुँदै आएको छ ।

रसुवा अस्पतालमा १९ सामान्य शय्या छ भने बज्रवाराही चापागाउँ अस्पताल ललितपुरमा २५ शय्या, पशुपति चौलागाई स्मृति अस्पताल दोलखामा ४५ शय्या, रामेछाप अस्पतालमा ३६ शय्या र टोखा चण्डेश्वरी अस्पताल काठमाडौँमा २५ शय्या छन् ।

हेटौंडा अस्पताल मकवानपुर, बकुलर रत्ननगर अस्पताल चितवन, त्रिशूली अस्पताल नुवाकोट, धादिङ अस्पताल, भक्तपुर अस्पताल, चौतारा अस्पताल सिन्धुपाल्चोक, मेथिनकोट अस्पताल काभ्रे र सिन्धुली अस्पताल गरी ८ वटा प्रादेशिक अस्पतालमा आईसीयू सेवा उपलब्ध छ ।

८ अस्पतालमा ३७ शय्या आईसीयू

बागमती प्रदेशका ८ अस्पतालमा कुल ३७ वटा आईसीयू शय्या उपलब्ध छ । प्रदेशको १३ प्रादेशिक अस्पतालहरूमा क्याबिन, आईसीयू, एचडीयू, एनआईसीयू र सामान्य शय्या गरी ८७९ वटा शय्याबाट उपचार सेवा प्रवाह भइरहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये ३७ आईसीयू र अन्य क्याबिन र एनआईसीयू शय्या छन् । प्रदेशका ८ अस्पतालमा ३१ वटा क्याबिन र एनआईसीयू शय्या सञ्चालनमा रहेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार प्रदेश मातहतका ८ अस्पतालमा १० वटा क्याबिन शय्या र २१ वटा एनआईसीयू शय्याबाट उपचार सेवा प्रवाह भइरहेको छ ।

प्रादेशिक अस्पतालमध्ये सबैभन्दा बढी शय्या रहेको हेटौंडा अस्पतालमा ७ वटा आईसीयू शय्या छन् भने अधिकांश सामान्य शय्या छन् । हेटौंडा अस्पतालमा रहेको १८८ शय्यामध्ये ७ आईसीयू, ६ वटा क्याबिन र १७५ वटा सामान्य शय्या छन् ।

त्रिशूली अस्पतालको १०४ शय्यामध्ये ७ वटा आईसीयू, ४ एनआईसीयू र एक क्याबिन शय्या छन् भने ९२ वटा सामान्य शय्या छन् । बकुलहर रत्ननगर अस्पतालमा रहेका कुल ९० शय्यामध्ये ५ वटा आईसीयू, ८ वटा एनआईसीयू र एक क्याबिन रहेको मन्त्रालयको तथ्याङ्क  छ भने ७६ वटा सामान्य शय्या छन् ।

प्रदेशको धादिङ अस्पतालमा कुल ५ वटा आईसीयू शय्या छन् भने एक क्याबिनसहित ७९ सामान्य शय्या छन् । भक्तपुर अस्पतालमा ६ वटा आईसीयू, ५ एनआईसीयू र ७५ सामान्य शय्यासहित ८६ शय्याबाट सेवा प्रवाह भइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार चौतारामा २ वटा एनआईसीयू र ३६ सामान्य शय्यासहित कुल ३८ शय्या, मेथिनकोट अस्पतालमा २ वटा आईसीयू, २ वटा एनआईसीयू र ५१ सामान्य शय्या गरी कुल ५५ शय्या र सिन्धुली अस्पतालमा ५ वटा आईसीयू, एक क्याबिनसहित ७७ सामान्य शय्या गरी ८३ शय्या छन् । 

आईसीयूसहित अन्य सेवा थप गर्ने मन्त्रालयको तयारी

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रादेशिक अस्पतालको व्यवस्थापनसँगै सेवासुविधा थप गर्ने तयारी गरेको छ । मन्त्रालयले प्रदेशका १३ वटै अस्पतालमा भौतिक संरचना निर्माण तथा व्यवस्थित गरेर विशेषज्ञ सेवा विस्तारसँगै विशिष्टीकृत शय्या थप गर्ने तयारी गरेको हो ।

चालु आर्थिक वर्षबाटै मन्त्रालयले ती अस्पतालको सेवा सुधारका लागि आईसीयू, एनआईसीयू र क्याबिन तथा सामान्य शय्या थप गरेर सेवा प्रवाहलाई स्तरीय गर्ने योजना अनुसार बजेट तर्जुमा गरेको प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बताए ।

उनका अनुसार प्रदेश सरकार मातहतका अस्पताललाई क्रमशः सुविधा सम्पन्नसँगै विशिष्टीकृत सेवा प्रवाहमा जोड दिन प्रक्रियागत काम सुरु गरिएको छ । नागरिकहरूलाई स्थानीयस्तरबाटै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य अनुसार प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवासहितका सुविधा थप गर्ने तयारी भएको उनले बताए ।

चालु आर्थिक वर्षमा नागरिकको स्वास्थ्य सेवा सम्बन्धी अधिकारको सुनिश्चितताका लागि विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाहका लागि अस्पतालहरूको भौतिक संरचना निर्माण तथा सुधारसँगै विशिष्टीकृत शय्या थप गर्ने योजना अनुसार काम भइरहेको मन्त्री जोशीले बताए ।

प्रादेशिक अस्पतालको स्तरोन्नतिसहित विशेषज्ञ सेवासँगै विशिष्टीकृत शय्या थप गर्न मन्त्रालय प्रतिबद्ध भएर अघि बढेको उनको भनाइ छ । बिरामीको चाप र अस्पतालमा पहिले कायम भएका जनशक्तिको अनुपातका आधारमा विशेषज्ञ सेवा र विशिष्टीकृत शय्या थप गरिने उनले बताए ।

‘विशिष्ट सेवा प्रादेशिक अस्पतालमै पाउनेगरी अस्पतालको सुधार र सुदृढीकरणको काम भइरहेको छ,’ उनले भने, ‘अस्पतालको सेवा सुधारका लागि शय्या तथा विशेषज्ञ चिकित्सकहरूको व्यवस्थापनका लागि मन्त्रालयले बजेट विनियोजन गरेर काम सुरु गरेको छ । प्रादेशिक अस्पतालमा स्वास्थ्य सम्बन्धी अत्याधुनिक उपकरण खरिद गर्न आवश्यक प्रक्रिया समेत सुरु गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप