आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीको ‘अनुपम देवता’ माथि अन्तर्क्रिया

आइतबार, १० भदौ २०८०, १० : ५२
आइतबार, १० भदौ २०८०

काठमाडौँ । उपन्यासकार शङ्कर भारतीको अनुपम देवता उपन्यासमाथि अन्तर्क्रिया गरिएको छ । उपन्यास समाज नेपालले सामाजिक विकास भवन, अनामनगरमा आयोजना गरेको कार्यक्रममा सो उपन्यासमाथि अन्तर्क्रिया भएको हो । 

वरिष्ठ साहित्यिक पत्रकार नगेद्रराज शर्माको विशेष आतिथ्य तथा स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा आयोजित सो कार्यक्रममा डा. शान्तिमाया गिरी, डा. रामप्रसाद ज्ञवाली, डा. दीनबन्धु शर्मा,  मधुसूदन लामिछानेले समालोचकीय मन्तव्य राखेका थिए भने डा. दामोदर पुडासैनी किशोर, राधेश्याम लेकाली, गोविन्द घिमिरे, पवन आलोक, देविका तिमल्सिना र डा. धनप्रसाद सुवेदीले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमा डा. शान्तिमाया गिरीले समाजमा रहेका विकृति र विसङ्गति अपमान, हेपाइ, पीडाहरूको चित्रित गरी पाठकलाई सचेत गराउने काम उपन्यासले गरेको बताइन् । “समानता र सामूहिक भावनातर्फ प्रेरित गर्नु यो उपन्यासको शक्ति हो । शङ्कर भारती नारीलाई माया, सम्मान गर्ने, हार्दिक र भावनात्मक प्रेममा जोड दिएर घर समाज र परिवारमा सङ्गति चाहने उपन्यासकार हुन्,” उनले भनिन्, “यो समाजमा सबैलाई समान रूपले हेर्ने, सबैका दुःखसुख बाँड्ने र साझा विचारका व्यक्ति हुन् भन्ने भारतीको यो उपन्यासबाट प्रस्टिन्छ ।”

अनुपम देवतामा धेरै कुरा औपचारिक आएका छन् । आफ्ना कथाहरू कम अरूका कुरा धेरै आएका छन् । अब आफ्ना अनुभूतिसहित अनुपम देवताको अर्को उपन्यास लेख्न प्राडा रामप्रसाद ज्ञवालीले आग्रह गरे । “उपन्यासकी पात्र शुभद्रा मरेर गएपछि अब के हुन्छ भन्ने पाठकमा खुलदुली बाँकी नै छ, उपन्यास पूरा भए जस्तो देखिँदैन,” ज्ञवालीले भने, “त्यसैले पाठकको त्यो भावनालाई सम्बोधन गर्न पनि त्यसको पूरक उपन्यास लेख्न आग्रह गर्छु ।” अब आउने उपन्यासमा आफ्ना जीवनका भोगाइ पनि उल्लेख गर्न उनले आग्रह गरे । 

यसैगरी कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ ‘रोदन’ले भारती विशिष्ट सर्जक भए पनि अत्यन्त सरल, मिजासिला र तल्लो तहमा रहेर सिर्जना गर्न सक्ने व्यक्तित्व भएको बताए । उनको त्यो सरल र मिजासिलोपन उनका हरेक उपन्यासका पात्रहरूमार्फत प्रकट भएको पनि रोदनले बताए । 

उपन्यास लेख्दा आफूले नदेखेका पक्षलाई समेत समालोचकहरूले उल्लेख गरी उपन्यासको नयाँ दृष्टिकोण सिर्जना गरिदिएकामा स्रष्टा भारतीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए । साथै उनले ‘अनुपम देवता’ कसरी लेखियो, कसरी आफू, लेखक बने भन्ने सन्दर्भ र अनुभव सुनाए । साथै यस अन्तर्क्रियाले नयाँ उपन्यास लेख्ने हौसला बढाएको समेत उनले पनि बताए ।

उपन्यास समाज नेपालका उपाध्यक्ष वियोगी बुढाथोकीले स्वागत गरेको सो कार्यक्रम साहित्यकार श्रीबाबु कार्कीले सञ्चालन गरेका थिए भने उपन्यास समाजका महासचिव विष्णुबहादुर सिंहले उपस्थित अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

काठमाडौँको डिल्लीबजारमा विसं २०१३ सालमा जन्मिएका भारतीको ‘अर्को जुनी’, ‘प्रेम तपस्या’, ‘अनुपम देवता’, ‘महापुरुषको सन्तान’ र ‘अग्नि परीक्षा’ उपन्यास प्रकाशित छन् । साथै ब्रह्माण्ड र मानव, यहाँ यस्तै हुन्छ, बदला, अगाडिको पर्खाल, समय सन्दर्भ, विविध आफन्तहरू लयागतका उपन्यास प्रकाशोन्मुख छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप