कोशी सरकारलाई समर्थन गर्ने सर्तमा राप्रपालाई सभापति छोडेँ : माधव सापकोटा
काठमाडौँ । पूर्वाधार तथा विकास समितिको सभापतिबाट आउट भएका माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोशी सरकार बचाउनका लागि आफूले त्याग गरेको बताएका छन् । यसअघि गठबन्धनको सहमति अनुसार माओवादी केन्द्रको भागमा परेको विकास समितिको सभापति सापकोटालाई बनाउने तयारी गरेको थियो ।
सोही बमोजिम आइतबार बिहान उनलाई संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको थियो । अन्तिममा कोशीमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने गरी आफूले सभापति त्याग गरेको सापकोटाले रातोपाटीलाई जानकारी दिए ।
‘कोशीमा गठबन्धन सरकारलाई राप्रपाले समर्थन गर्ने गरी हामीले सभापति दिने प्रस्ताव गर्यौं । दलहरूबीच त्यस्तो लिखित सहमति त भएको छैन । तर त्यहाँ गठबन्धन दललाई समर्थन गर्ने गरी मैले सभापति छोडेको हुँ’, उनले भने ।
राप्रपाबाट मकवानपुर–१ का सांसद दीपक सिंह सभापति बनेका छन् । सभापतिमा सिंहले बाजी मारेपछि उनको प्रस्तावक सापकोटा बसेका छन् ।