आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सानुको अन्तिम बिदाइ

सानुलाई श्रद्धाञ्जली दिँदै कलाकारले गरे सारुकका लागि न्यायको माग

आइतबार, १० भदौ २०८०, १४ : ५३
आइतबार, १० भदौ २०८०

काठमाडौँ । ‘मैले कहिल्यै कसैको केही बिराएको पनि थिइनँ । कसैको नराम्रो गरेको थिइनँ । ईश्वरले किन मलाई यस्तो सजाए दिए ?’ कलाकार सानु ताम्राकारले छोरा सारुकको निधनपछिको भेटमा नीर शाहसँग भनेका थिए । 

आइतबार ताम्राकारको अन्त्येष्टिमा निर शाहले उनको शब्द दोहोर्‍याउँदै भने ‘पुत्र वियोगमा सानुजीको पनि प्राण गयो । सानु र सारुकको आत्माले शान्त पाउन सारुकले न्याय पाउनुपर्छ ।’

शनिबार निधन भएका सानु ताम्राकारको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आयघाटमै केही घण्टा राखिएका थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन कला क्षेत्रमा थुप्रै व्यक्तिहरू पुगेका थिए । श्रद्धाञ्जली दिन पुगेका अधिकांश व्यक्तिले सानुको सम्झना, योगदानको चर्चाको अलावा सारुकको न्यायको माग गरे ।

श्रद्धाञ्जलीपछि रातोपाटीसँग कुरा गर्दै कलाकार शाहले सानुको मृत्युले आफू पनि विक्षिप्त भएको बताए । ‘कलाकार सानु ताम्राकार लामो समयदेखि कलाकारितामा सक्रिय, कलाकारिता, कलाकार र कलाकारकारको संघसंस्था भने पनि हुरुक्कै हुने व्यक्ति हुनुहुन्थ्यो । सबैका लागि दिनरात दौडनुहुन्थ्यो । उहाँले धेरै कलाकारलाई सहयोग गर्नु भएको छ’, शाहले भने, ‘दिल खोलेर सबैको सहयोग गर्ने निस्वार्थ सहयोग गर्ने, अत्यन्तै शालीन, सभ्य स्वभावको राम्रो मानिस हुनुहुन्थ्यो ।’ 

छोरोको मृत्युपछि ठुलै अभाव महसुस गर्नु भएका ताम्राकार त्यही पिडा खप्न नसकेर बितेको शाहले सुनाए । उनले भने, ‘रुकमणि भाउजूले दुई महिना नबित्दै श्रीमान् र छोरा गुमाउनुभयो । त्यो सम्झिँदा पनि विछिप्त बनाउँछ ।’

कलाकार संघका अध्यक्ष मोहन निरौलाले पनि सारुकले न्याय पाउनुपर्ने बताए । ‘सारुकको निधन भएको केही समयमा हामीले सानुदाइ गुमायौँ,’ निरौलाले भने ‘सानुदाइको आत्माको शान्तिका लागि सरुकको मृत्युको छानबिन छिटोभन्दा छिटो टुङ्गो लाग्नुपर्छ ।’ निरौलाले कलाकार सानु ताम्राकार आँखामा हाल्न पनि नबिझाउने व्यक्तित्वको रूपमा चर्चा गरे ।

त्यस्तै कलाकार दीपकराज गिरीले पनि सानु ताम्राकारको निधनले आफूलाई निकै दुःखी बनाएको बताए । ‘सानु दाइसँग धेरै काम नगरे पनि ‘जीवन यात्रा’ भन्ने टेलिसिरियलमा काम गरेको थिए,’ दीपकले भने ‘उहाँको मृदुभाषी पनि, धेरै कलाकारलाई सहयोग गरेको, धेरैको उद्धार गरेको सुन्थे ।’ 

उनीसँग हरेक फिल्म कार्यक्रममा भेट भएको सम्झँदै दीपकले थपे, ‘उहाँ कमलो मनको हुनुहुन्थ्यो । छोराको निधनपछि विछिप्त भएका उहाँको त्यही कारणले ज्यान गयो ।’ 

सानुदाईको प्राण सारुकको कारण गएको बताएका दीपकले सारुकले न्याय पाउनुपर्ने र सबैले यो विषयमा पाठ सिक्नुपर्ने बताए । उनले थपे, ‘आफूलाई समाप्त पार्न तर्फ सोच्नेले आफू पछाडिका मानिस पनि हेर्नुपर्छ ।’ मानिसले नैतिक जिम्मेवारीमा जोड दिनुपर्ने उनको धारणा थियो ।

अभिनेत्री वसुन्धरा भुसालले पनि छोरा सारुकको वियोगमा सानुको प्राण गएकोले सारुकले न्याय पाउनुपर्ने बताइन् । ‘सानुदाइले धेरै कलाकारलाई सहयोग गर्नुभएको छ । उहाँले कानुनी तवरबाट धेरै कलाकारलाई विदेश यात्रामा सहज बनाउनु भएको थियो,’ भुसालले भनिन् ‘उहाँसँग मैले दुईवटा फिल्म अभिनय गरेको छु ।’ 

भुसालले चटक गर्ने, नृत्यमा पारङ्गत, कलाकार संघको तीनपटक उपाध्यक्ष र एकपटक कार्यवाहक अध्यक्ष भएका र आँखामा हाल्दा पनि नबिझाउने मानिसको रूपमा सानुको चर्चा गरिन् । ‘जसलाई दुःख पर्‍यो पनि पुग्ने र आफू भन्दा सानोसँग पनि निहुरिने व्यक्ति थिए,’ भुसालले थपिन्, ‘छोरा वियोगको पिडा खप्न नसकेर सानुको ज्यान गयो ।’ 

निर्देशक केपी पाठकले पनि सानु एकदमै राम्रो मानिस भएको बताए । ‘सानुदाइको कोहीसँग पनि नराम्रो थिएन’, पाठकले भने, ‘रमाइलो व्यक्ति हुनुहुन्थ्यो । उहाँ अब हामी माझ हुनुहुन्न भन्दा अझै पत्याउन सकिरहेको छैन ।’ कलाकार संघको चुनावमा आफूले सहयोग गरेको सम्झदै केपी भन्छन्, ‘सानुदाइसँग काम गर्ने इच्छा थियो । अधुरै रह्यो ।’

कलाकार रवि गिरीले पनि सारुकले न्याय पाउनुपर्नेमा जोड दिए । सानु ताम्राकारको निधनले कलाक्षेत्रले मात्र नभएर देशले नै एउटा असल व्यक्तित्व गुमाएको उनले बताए । ‘जहिले पनि हासीखुसी रहने, सबैका सहयोगी, ठुलो नपल्टिने, निकै असल व्यक्ति हुनुहुन्थ्यो, सानुदाइ,’ गिरीले भने, ‘कसैले कल्पना गर्न नसकेको घटना उनको जीवनमा घट्यो । त्यही घटनाले उनको प्राण लियो ।’ सानुदाइको परिवारमा सारै दर्दनाक घटना घटेको बताएका गिरीले सारुकको न्यायका लागि माग गरे ।

अभिनेत्री दीपाश्री निरौला, अभिनेता कृष्ण मल्ल, दिनेश डिसी, रमेश बुढाथोकी, मलिना जोशी लगायतले समेत सानु ताम्राकारको निधनमा दुःख व्यक्ति गर्दै सारुकको न्यायका लागि माग गरे ।

को हुन् सानु ताम्राकार ?

सानु ताम्राकार नेपाली कलाक्षेत्रका एक विशिष्ट कलाकार थिए । कला, कलाकार र कलाक्षेत्रका लागि दिनरात तल्लीन रहने उनी नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यवाहाक अध्यक्ष पनि हुन् । चलचित्र कलाकार संघमा तीन पटक उपाध्यक्ष पदमा रहेर काम गरेका उनी नृत्यमा समेत पारङ्गत थिए ।

मोहनी, जुनतारा, छोरा, बाबुसाहेब, लगनगाँठो, पल, जिद्दी, फेरि तिम्रो याद आयो, स्टार, आँधीतुफान, दशगजा, भुइँमान्छे, मनमनै मनपराए, मेरी मामु लगायत थुप्रै फिल्ममा काम गरेका उनले कसलाई आफ्नो भनूँ, बाचा बिर्सिएको छैन, २ दिनको जिन्दगी, मृगतृष्णा, बलेसी, करुणा, मिस्टर फत्ते लगायत दर्जनौँ टेलिसिरियलमा समेत  अभिनय गरेका छन् । ताम्राकारले नेपाली र नेवारी नाटकको अलावा केही नेवारी फिल्म तथा टेलिफिल्ममा समेत अभिनय गरेका छन् ।

छोरा सारुक ताम्राकारको गत असार २१ गते निधन भएपछि विक्षिप्त बनेका उनलाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार निधन भएको हो । 

ताम्राकारको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमै केही घण्टा राखिएको थियो । 

उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बार्डका अध्यक्ष भुवन केसी, अभिनेता शिव श्रेष्ठ, कृष्ण मल्ल, रवि गिरी, दीपकराज गिरी, वसुन्धरा भुसाल, चैत्यदेवी, मदनदास श्रेष्ठ, गोपाल ढकाल, दीपकराज गिरी, दीपाश्री निरौला, कृष्ण मल्ल, केपी पाठक, नरेश पौडेल, रमेश बुढाथोकी लगायत थुप्रै कलाकर्मी पुगेका थिए । 

श्रद्धाञ्जलीका क्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले संघको तर्फबाट उनका शवलाई कलाकार संघको झण्डा ओढाएर सम्मान दिएका थिए । छोरा सारुकको निधन भएको ५१ औँ दिनमा निधन भएका ७४ वर्षीय ताम्राकार अहिले पनि अभिनयमा सक्रिय थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप