आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिउँ चितुवा र याकको संरक्षण गर्न मनाङमा मैत्रीपूर्ण फुटबल हुने

आइतबार, १० भदौ २०८०, १८ : ३९
आइतबार, १० भदौ २०८०

काठमाडौँ । हिउँ चितुवा र याकको संरक्षण गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङ मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । 

बाइकोस नेपाल र एन्ट फाउण्डसेनको आयोजनामा आगामी भदौ २५ देखि २७ गतेसम्म मैत्रीपूर्ण फुटबल हुने भएको हो । आइबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन गर्दै आयोजकद्वय बाइकोस नेपाल र एन्ट फाउण्डेसनले हिमाल क्षेत्रमा पाइने हिउँ चितुवा र याकको संरक्षणका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागेको जानकारी दिएको छ । समूह सतहबाट २६०० मिटर उचाइमा रहेको तिमाङ, ३१०० मिटर उचाइमा रहेको पिसाङ र ३२०० मिटर उचाइमा रहेको मुङ्जी फुटबल मैदानमा तीन वटा मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान एवं गोलकिपर उपेन्द्रमान सिंह, हरि खड्का र अनिल गुरुङले उक्त अभियानमा रहने भएका छन् । उनीहरूले मैत्रीपूर्ण फुटबल पनि खेल्ने आयोजकले जनाएको छ । उक्त मैत्रीपूर्ण फुटबलमा मनाङ याक, पिसाङ याक र कान्जिसार याक गरी तीन वटा टोलीले प्रतिष्पर्धा गर्नेछन् । यस क्रममा नेपालका फुटबल स्टारसहित विभिन्न क्षेत्रका १८ जना सेलिब्रिटी र स्थानीयहरू मैत्रीपूर्ण फुटबलमा सहभागी हुने भएका छन् । तीन वटा क्लवबाट खेल्ने खेलाडीको पनि वर्गीकरण भइसकेको छ ।

आगामी सेप्टेम्बर ११ मा तिमाङमा, सेप्टेम्बर १२ मा पिसाङमा र सेप्टेम्बर १२ मा चामे, पिसाङ र मनाङका युवासम्मिलित टोलीको फुटबल हुने आयोजक एन्ट फाउन्डेसनका प्रमुख डा.पारस विक्रम सिंहले जानकारी दिए । सोही अवसरमा मनाङका युवा, महिलाहरू स्थानीय क्षेत्रको संस्कृति झल्कने किसिमका सांस्कृतिक प्रस्तुत पनि दिने भएका छन् । उक्त कार्यक्रमले उच्च हिमाली भेगमा खेलकुदका गतिविधि सञ्चालनका लागि पनि प्रोत्साहन मिल्ने आयोजकले विश्वास लिएको छ ।

उक्त कार्यक्रमको व्यवस्थापक नमस्ते मनाङ टुरका प्रमुख विनोद गुरुङले हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबको रूपमा मनाङको प्रवर्द्धन गर्न पनि यस खालका गतिविधि प्रोत्साहन दिने विश्वास व्यक्त गरे । नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङसँग आफ्नो भावनात्मक नाता रहेको र यस पटक मनाङमा नै गएर फुटबल खेल्ने पाउनु खुसीको क्षण रहेको प्रतिक्रिया दिए ।

उक्त पत्रकार सम्मेलनमा सहभागी टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो । हिमाली क्षेत्रमा रहेका लोपन्मुख हिउँ चितुवा, याकको संरक्षण सँगै त्यहाँका युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्न पनि यो कार्यक्रम सहयोग पुग्ने आयोजकको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप