आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

६० किलो सुन र ‘भेप’मार्फत सुन तस्करी गर्ने समूहबीच ‘कनेक्सन’

आइतबार, १० भदौ २०८०, २० : १९
आइतबार, १० भदौ २०८०

काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन र विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहबिच ‘कनेक्सन’ देखिएको छ । ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सिआईबी’ले अनुसन्धान गरेको थियो ।

६० किलो सुनबारे अनुसन्धान गरिरहेका एकजना अधिकृतले दुईवटा तस्कर समूह बीच ‘कनेक्सन’ देखिएको रातोपाटीलाई बताए । भेपमा सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङ र ६० किलो सुनमा संलग्न चिनियाँबीच सम्पर्क भेटिएको छ ।

६० किलो सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग र ‘अलि’ भनेर चिनिने ली वेन सुङ्ग र  जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका हुन् ।  

भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)ले संचालन गरेको अपरेशन ‘गोल्डेन ट्याप’ र ‘मोल्टेन मेटल’ मा पनि उनिहरु संलग्न देखिएका थिए । सुनको धारा बनाएर हङकङबाट गरिने सुन तस्करी विरुद्धको अपरेशनलाई डिआरआईले ‘गोल्डेन ट्याप’ नाम दिएको थियो । एयर कार्गो रुटबाट हङकङ हुँदै दिल्लीमा हुने सुन तस्करीविरुद्ध डीआरआईले ‘मोल्टेन मेटल’ अपरेशन चलाएको थियो ।

ती दुईवटा अपरेशनले अहिले पक्राउ गरिएका ३ जना चिनियाँलाई कारबाही गरेको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

‘भेप’मा सुन ल्याउने समूहका दाओजिन वाङ र माओवादी उपाध्यक्ष कृष्ण बहादुर महराका छोराहरु राहुल र निर्मलको बीचमा यसअघि नै केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट ‘कनेक्सन’ देखिएको थियो । ब्यूरोले सुन ल्याउने मुख्य योजनाकारको रुपमा कृष्ण बहादुर महरा समेत रहेको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । तत्कालीन भन्सार प्रमुखलाई माओवादी उपाध्यक्ष महराले फोन गरेर भेप ‘लिलाम’ गरिदिन आग्रह गरेको कुरा सार्वजनिक रुपमा स्वीकार गरेका छन् ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार कृष्णबहादुर महराले छोरा निर्मलको नम्बरबाट फोन गरेर ७३० थान भेपबारे चासो राखेका थिए । २०७९ पुस १० मा चिनियाँ नागरिकले दुबईबाट ल्याएको भेप लिलाम गरिदिन महरा पुत्र राहुलले भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई  मोबाइलमा फोन गरेर लिलाम प्रक्रियाबारे तारन्तार चासो राखेपछि घटना बाहिरिएको थियो । सो प्रकरणमा अनुसन्धान पुरा भएर मुद्दा अदालतमा गइसकेको छ ।

झलकरामको सम्पर्क खोजिँदै

केन्द्रीय अनुसन्धान ब्यूरोले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको सम्पर्कबारे अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएका तिब्बतीय मूलका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएको आरोपमा अधिकारीलाई ७ भदौमा गृह मन्त्रालयमा फिर्ता बोलाइएको थियो ।

असार ३० मा हङकङकबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको ६० किलो सुनबारे अनुसन्धान गरिरहेका एकजना अधिकृतका अनुसार हालसम्म झलकरामको ‘कनेक्सन’ पुष्टि भैसकेको छैन । ती अधिकारीले भने–‘अहिलेसम्म सुन तस्करी गर्ने तहमा उहाँको सम्पर्क देखिँदैन, हामी कनेक्सन पुष्टि गर्ने प्रयास गर्दै छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप