आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बर्नलीलाई हराएपछि एस्टन भिल्लाका खेलाडी चढेको बसमा इँटा प्रहार

सोमबार, ११ भदौ २०८०, ०९ : ५८
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबल खेलेर फर्कँदै गरेको एस्टन भिल्लाका खेलाडी चढेको बसमा इँटा प्रहार गरिएको छ । स्थानीय प्रहरीले विपक्षी टोलीका समर्थकले इँटा प्रहार गरेको हुनसक्ने अनुमान गरेको छ । 

इङ्लिस प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा एस्टन भिल्लाले बर्नलीलाई उसैको घरेलु मैदानमा ३—१ गोलले हराएको थियो । खेल जितेर फर्कँदै गरेका खेलाडीहरू चढेको बसमा इँटा प्रहार गरिएको थियो । इँटा प्रहारबाट बसको अगाडिको सिसा फुटेको समाचारमा जनाइएको छ । 

बर्नलीले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । ‘यो निकै खेदजनक घटना हो । धन्य, घटनामा कसैलाई चोट लागेको छैन,’ बर्नलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बर्नलीले घटनाको छानबिन हुनुपर्ने माग पनि गरेको छ । 

स्थानीय प्रहरीका अनुसार, खेल सकिएलगत्तै सडकमा ट्राफिकको चाप बढेको थियो । एस्टन भिल्लाका खेलाडी चढेको बस पनि ट्राफिकमा फसेको थियो । त्यसैबेला खेलाडी चढेको बसमाथि इँटा प्रहार भएको थियो । ‘घटनामा कोही पनि गम्भीर रूपमा घाइते भएका छैनन्,’ प्रहरीले भनेको छ ।

जारी सिजनको लिगमा बर्नलीले हालसम्म दुई खेल खेलेको छ । बर्नलीले दुवै खेल घरेलु मैदानमा खेलेको हो । आफ्नो पहिलो खेलमा बर्नली बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । घरेलु मैदानमा दुवै खेलमा पराजित भएपछि बर्नलीका समर्थक आक्रोशित बनेका छन् । 

यसअघि म्यानचेस्टर सिटीविरुद्घको खेलमा पनि बर्नलीका समर्थकले उपद्रो गरेका थिए । म्यानचेस्टर सिटीसँगको खेलका क्रममा बर्नलीका समर्थकले मैदानमा बोतल, लाइटरजस्ता सामाग्री फालेका थिए । समर्थकले फालेको लाइटरले म्यानचेस्टर सिटीका डिफेन्डर रिको लेविसलाई चोट लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप