सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
संसदीय समिति निर्वाचन

प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले लिए शपथ (तस्बिरहरू)

सोमबार, ११ भदौ २०८०, २३ : ०१
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । 

सोमबारै १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका थिए ।  जसअन्तर्गत अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् ।

samiti-savapati-sapath (1)

त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेलको निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएको छ ।

samiti-savapati-sapath (3)

समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो । 

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका छन् । साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता गरेकोमा पराजुलीले उम्मेदवारी फिर्ता गरिसकेपछि खान निर्वाचित भएका हुन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी

samiti-savapati-sapath (5)samiti-savapati-sapath (6)samiti-savapati-sapath (8)

 

 

     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप