आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको डोल्पाका गुल्मपति अझै सम्पर्कमा आएनन्

अरूलाई फर्काएर एक्लै त्रिपुराकोट लागेका थिए,पण्डित
मङ्गलबार, १२ भदौ २०८०, ०९ : १७
मङ्गलबार, १२ भदौ २०८०

सुर्खेत । आइतबार साँझदेखि सम्पर्कविहीन भएका नेपाली सेनाको डोल्पाका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख पण्डित आइतबार अपराह्नपछि सम्पर्कविहीन भएका थिए ।

अपराह्न चार बजेपछि उनी सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए । करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले रातोपाटीलाई जानकारी दिए । 

एकाएक सम्पर्कविहीन भएपछि निरन्तर सम्पर्क गर्ने र खोजी कार्य जारी रहे पनि अहिलेसम्म सम्पर्कमा नआएको पोखरेलले बताए । ‘अहिलेसम्म पनि कुनै सम्पर्क हुन सकिरहेको छैन,’ उनले भने,‘ के कारणले उहाँ सम्पर्कविहीन हुनुभयो भन्ने पनि जानकारी पाउन सकिएको छैन ।’

पण्डित काठमाडौँको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार इभिनिङका लागि सेनाको टोली निस्किएको थियो । त्यसपछि पीओसोलाई भो पर्दैन भनेर फर्काएका थिए । केही अघिसम्म हिँडेर र त्यसपछि गाडी रिजर्भ गरेर त्रिपुराकोट लागेको कुरा बुझिएको पोखरेलले बताए । त्यसपछि उहाँ सम्पर्कमा छैनन् ।

‘पण्डितले पीओसोलाई छाडेको, गुल्मको आफ्नो गाडी नलिएर अर्को गाडी रिजर्भ किन छाड्नुभयो, हामी पनि अचम्ममा छौँ,’ उनले भने । 

परिवारबाट पनि त्यस्तो खालको समस्या भएको कुरा अहिलेसम्म नआएको पोखरेलले बताए । सोमबार पण्डितका जेठानले प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेका थिए । पोखरेल भन्छन्,‘ पारिवारिक समस्या भएको, त्यस्तो कुरा पनि उहाँका जेठानले सुनाउनुभएन । अन्य साथीहरूसँग पनि केही कुरा नभनेको देखिन्छ ।’ 

पोखरेलका अनुसार पण्डितको खोजतलासका लागि  प्रहरी र नेपाली सेनाले सोमबारदेखि निरन्तर प्रयास गरिरहेका छ । 

मंगलबार बिहान पनि डीआईजीको टोली पुनः खोजी कार्यका लागि निस्किएको छ । साथै जिल्लाका नाकाहरुमा पनि निगरानी गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप