सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

औसतमा दुई सय ५४ रन बनेको मुल्तान रङ्गशालामा बल पुरानो हुँदै गएपछि स्पिनरलाई राहत मिल्न सक्छ

मङ्गलबार, १२ भदौ २०८०, १० : ३८
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको हो । अर्कोतिर, हाल आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा आसिन पाकिस्तान एसिया कपको पूर्वविजेता राष्ट्र पनि हो ।

प्रतियोगिताको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा खेलिने छ । ३० हजार दर्शक क्षमताको उक्त रङ्गशालामा सन् २००१ मा पाकिस्तान र बङ्गलादेशबिच पहिलो टेस्ट खेलिएको थियो । उक्त रङ्गशालाको पिच खासगरी बलरलाई सहयोग पुर्‍याउने खालको छैन । 

त्यहाँको विकेटले बिस्तारै बल पुरानो हुँदै गएपछि स्पिनरहरुलाई केही राहत दिन सक्छ । खासगरी दोस्रो पालीमा स्पिनरहरू चम्किने सम्भावना रहन्छ । मुल्तान क्रिकेट रङ्गशालामा पहिले ब्याटिङ गर्ने टोलीले दुई सय ५४ को औसतमा रन बनाएको तथ्याङ्कले देखाउँछ ।  

मुल्तान क्रिकेट रङ्गशालाको हरियो घाँसे मैदानमा यसअघि दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पनि आपसमा भिडिसकेका छन् । सन् २००४ को मार्च २८ मा खेलिएको पाकिस्तानविरुद्घको टेस्टमा भारतका वीरेन्द्र सेहवागले त्यही रङ्गशालामा तीन सय नौ रन बनाएका थिए । 

उक्त रङ्गशालामा दिवा—रात्रि खेलका लागि ‘फ्लड लाइट’ पनि जडान गरिएको छ । मुल्तान क्रिकेट रङ्गशालामा सन् २००३ को सेप्टेम्बर ९ मा पाकिस्तान र बङ्गलादेशबिच पहिलो एकदिवसीय खेल खेलिएको थियो । उक्त रङ्गशालामा सन् २०२२ को जुन १२ मा पाकिस्तान र वेस्ट इन्डिजबीच अन्तिम एकदिवसीय खेलिएको थियो । 

मुल्तान क्रिकेट रङ्गशालामा हालसम्म १० वटा एकदिवसीय खेल खेलिएको छ । त्यसमध्ये सातवटा खेलमा पाकिस्तान विजयी भएको छ । भारत, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले एक—एक खेलमा पाकिस्तानलाई हराएका छन् । 

पहिलो ब्याटिङ गर्ने टोलीले पाँच र पहिलो बलिङ गर्ने टोलीले पाँच खेल जितेका छन् । पहिलो ब्याटिङ गर्ने टोलीले औसतमा दुई सय ५४ र दोस्रो ब्याटिङ गर्ने टोलीले औसतमा दुई सय ६ रन बनाएका छन् । उक्त रङ्गशालामा हालसम्म सर्वाधिक तीन सय २३ रन बनेको छ । सन् २००३ को सेप्टेम्बर ९ मा पाकिस्तानले बंगलादेशविरुद् ५० ओभरमा तीन विकेट गुमाएर तीन सय २३ रन बनाएको थियो ।

उक्त रङ्गशालामा बनेको सबैभन्दा कम स्कोर भने एक सय ४८ रन हो । सन् २००४ को सेप्टेम्बर ३० मा खेलिएको पाकिस्तानविरुद्वको खेलमा जिम्बाबेले ३८।३ ओभरमा अलआउट हुनुअघि एक सय ४८ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप