आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

७१ गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्त गर्दै बागमती प्रदेश सरकार, दरखास्त आह्वान

मङ्गलबार, १२ भदौ २०८०, १४ : ०६
मङ्गलबार, १२ भदौ २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले ७१ वटा पालिकामा न्यायिक सहजकर्ता नियुक्तिको तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको ११ वटा जिल्लाका ७१ वटा गाउँपालिकामा न्याय सम्पादनमा सहजीकरण गर्न सहजकर्ता नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले न्यायिक सहजकर्ताहरुलाई करार सेवा अन्तर्गत नियुक्त गरी कामकाज अघि बढाउन सूचना प्रकाशित गरेको छ । प्रदेशको ७४ मध्ये ७१ वटा गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्तिको लागि मंगलबार सूचना प्रकाशन गरेको मन्त्रालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।

उनका अनुसार सम्बन्धित गाउँपालिकाको समन्वयमा प्रतिपालिका एक जना सहजकर्ता नियुक्त गर्नेगरी सूचना जारी गरिएको छ । उक्त कार्यमा प्रदेशका ३ वटा गाउँपालिका संलग्न भएका छैनन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकाले भने न्यायिक सहजकर्ता माग गरेका छैनन् । ती गाउँपालिकाले आफ्नै स्रोतबाट न्यायिक सहजकर्ता नियुक्त गर्नेगरी प्रदेश सरकारबाट माग नगरेको मन्त्रालयकी प्रवक्ता मेनुका घिमिरेले जानकारी दिइन् ।

गाउँपालिकाहरुमा रिक्त रहेका सहायकस्तर पाँचौं तहमा न्यायिक सहजकर्ताको पद पूर्तिका लागि २०८१ असार समान्तसम्मका लागि करार गरी पदपूर्ति गर्न मन्त्रालयले सूचना निकालेको उनको भनाइ छ ।

उक्त पदहरुका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा आवेदन आह्वान गरिएको छ । स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि, २०८० बमोजिम मन्त्रालयले ललितपुर, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रामेछाप, दोलखा, रसुवा, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीका ७१ गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्त गर्न सूचना जारी गरेको उनले बताए ।

सूचना अनुसार मन्त्रालयले मकवानपुरको ८ वटा गाउँपालिकाहरु ईन्द्रसरोवर, कैलाश, बकैया, बागमती, भिमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङमा न्यायिक सहजकर्ता नियुक्त गरिनेछन् । यस्तै, चितवनको इच्छाकामना गाउँपालिका, धादिङको खनियाबास, गंगाजमुना, गजुरी, गल्छी, ज्वालामूखी, त्रिपुरासुन्दरी, थाक्रे, नेत्रावती डबजोङ, बेनीघाट रोराङ, रुवी भ्याली, सिद्धलेक गाउँपालिकामा पनि न्यायिक सहजकर्ता नियुक्त गर्न लागिएको हो ।

यस्तै, नुवाकोटको ककनी, किस्पाङ, तादी, तारकेश्वर, दुप्चेश्वर, पञ्चकन्या, म्यागङ, लिखु, शिवपुर, सुर्यगढी गाउँपालिका, ललितपुरको कोन्ज्योसोम, बागमती, महांकाल गाउँपालिकाका लागि न्यायिक सहजकर्ता नियुक्ति गरिने भएको छ ।

त्यस्तै रामेछापको खाँडादेवी, गोकुलगंगा, दोरम्बा शैलुङ, लिखु तामाकोशी, सुनापति गाउँपालिका, दोलखाको कालिन्चोक, गौरीशंकर, तामाकोशी, वैतेश्वर, मेलुङ, विगु, शैलुङ गाउँपालिका, रसुवाको उत्तरगया, कालिका, गोसाईंकुण्ड, नौकुण्ड, आमाछोदिङमो गाउँपालिकाका लागि पनि न्यायिक सहजकर्ता माग गरिएको छ ।

काभ्रेको भुम्लु, महाभारत, रोशी, खानीखोला, चौरीदेउराली, तेमाल, बेथानचोक गाउँपालिका, सिन्धुपाल्चोकको जुगल, त्रिपुरासुन्दरी, पाँचपोखरी थाङपाल, बलेफी, भोटेकोशी, लिसंखुपाखर, सुनकोशी, हेलम्बु गाउँपालिका र सिन्धुलीको घ्याङलेख, तीनपाटन, फिक्कल, मरिण, सुनकोशी, हरिहरपुरगढी गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्त गर्नेगरी मन्त्रालयले सूचना जारी गरेको छ ।

सचिव गैडाका अनुसार उक्त पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् भने स्थानीय र कानुन अध्ययन गरेकाहरुलाई प्राथमिकतामा दिइने उनले बताए ।

notiice-001

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप