आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

हङकङबाट आयातित वस्तुमा कडाइ, भन्सार रिपोर्ट अनिवार्य

मङ्गलबार, १२ भदौ २०८०, १८ : १२
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । हङकङबाट अवैधरुपमा ठूलो मात्रामा सुन तस्करी हुने गरेको पाइएपछि भन्सार कार्यालयमा कडाइ गरिएको छ । भन्सार विभागले हङकङको भन्सारबाट जाँचपास भएर आउने वस्तुमा कडाइ गरेको हो ।

असार ३० गते हङकङबाट क्याथे प्यासिफिकको कार्गोबाट ल्याइएको ‘ब्रेक शु’सहित ४ जनालाई राजश्व अनुसन्धान विभागले समातेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेको ‘ब्रेक शु’ विभागले सिनामंगलबाट समातेको थियो ।

सुरुमा १०० किलोग्राम सुन रहेको भनिएको १५४ किलोग्राम उक्त ‘ब्रेक शु’ ६० किलो सुन फेला परेको थियो । तस्करले विभिन्न ८ पोकामा वर्गीकरण गरेर हङकङबाट सुन ल्याउने गरेकोबारे पर्दाफास नै भएको थियो । हङकङको भन्सारबाट जाँचपास भएको सुन नेपालको भन्सार समेत जाँचपास भइरहेको थियो ।

तर, नेपालको भन्सार कार्यालयले हङकङको भन्सारलाई पत्र लेख्दै उक्त ‘ब्रेक शु’को जाँचपासबारे प्रश्न गरेको थियो । हङकङबाट उक्त पत्रको जवाफ भने अहिलेसम्म आएको छैन । तर, भन्सार विभागले अबदेखि हङकङबाट आयात हुने सम्पूर्ण वस्तुमा उताको भन्सार विभागको रिपोर्ट चाहिने भएको हो ।

भन्सार विभागले त्रिभुवन विमानस्थललाई निर्देशन दिँदै हङकङ भन्सारको जाँचपासको रिपोर्टबिना भन्सार जाँचपास नगर्न भनेको हो । विभागका निर्देशक पुण्यबिक्रम खड्काले हङकङबाट ठूलोमात्रामा सुन आउने तथ्य फेलापरेपछि उताको भन्सार जाँचपासको पत्र अनिवार्य गरेको रातोपाटीलाई बताए ।

‘उता (हङकङ)को भन्सारले जाँचपास गर्दा नेपाल ल्याइएको वस्तुलाई कस्तो वर्गीकरण गरेको छ भनेर हेर्न जाँचपासको पत्र अनिवार्य गरिएको छ,’ खड्काले रातोपाटीसँग भने, ‘यसो हुँदा हङकङ भन्सारले जाँचपास गर्ने वस्तु र त्यसको प्रकारबारे पनि थाहा हुन्छ ।’ विमानस्थल भन्सारमाथि छानबिन गर्न बनेको ७ सदस्य समितिले हेलचेक्र्याँका कारण तस्करीको सुन नेपाल छिरेको प्रतिवेदन बनाएको थियो ।

यो प्रतिवेदनपछि विभागले त्रिभुवन विमानस्थललाई हङकङ भन्सारबाट निर्यात हुने वस्तुको जाँचपास पत्र अनिवार्य गरिएको खड्काको भनाई छ । ३० असारमा विमानस्थल भन्सार आएको उक्त सुन २ साउनमा जाँचपास भएको थियो । लगत्तै राजश्व अनुसन्धानको टोलीले ट्याक्सी चालकसहित ४ जनालाई पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप