आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमसीसीमा मतभेद

समाजवादी मोर्चाको सन्देशसभा : एमसीसीका बारेमा मतभेद छरपस्ट

मङ्गलबार, १२ भदौ २०८०, १९ : ३२
मङ्गलबार, १२ भदौ २०८०

बुटवल । झण्डै दुई महिना अगाडि घोषणा भएको समाजवादी मोर्चाले मंगलबार बुटवलमा सन्देशसभा आयोजना गरेको छ ।

साउनको पहिलो हप्ता राष्ट्रिय सभा गृहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताले समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चाले यसअघि काठमाडौँ र वीरगन्जमा कार्यक्रम आयोजना गरिसकेको छ । मोर्चाको तेस्रो औपचारिक कार्यक्रमका रुपमा लुम्बिनी प्रदेशको बुटवलमा सन्देशसभा आयोजना गरिएको हो ।

साझा कार्यक्रमका साथ समाजवादी यात्रा तय गर्न मोर्चाको घोषणा भए पनि बुटवलमा भएको कार्यक्रममा मोर्चाकै घटकबिच मतभिन्नता प्रकट भएको छ ।

माओवादी केन्द्र नेतृत्वको सरकारले एमसीसी कार्यान्वयनको जिम्मेवारी निर्वाह गरिरहेको समयमा मोर्चामै आबद्ध केही घटकले भने यसको विरोध गरेका छन् ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको मोर्चाको सन्देशसभामा उनीहरूले मोर्चा सत्ताभन्दा पनि नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यका साथ गठन भएको बताए । उनीहरुले नेपालीको समस्या गरिबी रहेको भन्दै त्यसबाट माथि उठ्न पुँजीवादसँग लड्नुपर्ने जनाएका थिए ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा सबै जवाफ यहाँ दिँदा अन्तर्राष्ट्रिय सम्बन्धमा असर पर्ने भएकाले सबै विषय अहिले नखोल्ने बताए । तर पछिल्लो व्याख्यात्मक टिप्पणीभन्दा बाहिर गएर काम नगर्ने उनको प्रतिबद्धता थियो ।

उनले जनताको पक्षमा आफूले सधैँ लडेको भन्दै अहिले लडाइँको स्वरूप परिवर्तन भए पनि जारी रहेको बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गरेको स्मरण गर्दै त्यसरी पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीले जनतालाई जानकारी गराउनुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताए । उनले व्याख्यात्मक टिप्पणीमार्फत एमसीसी पास गरेको भन्दै त्यसमा नेपाल कुनै पनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको प्रस्ट पारे । नेपालको भूमिमा नेपाली जनताको अधिकार भएको र अरू कसैको हस्तक्षेप स्वीकार्न नसकिने उनको भनाइ थियो ।

उनले समाजवादी मोर्चामा अन्य दलहरू पनि आउन चाहेमा स्वागत गर्ने बताए ।

जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवले रोजगारीका लागि लाइन लागेर नेपाली युवा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।

उनले अहिले कुराभन्दा पनि काम गरेर देखाउनुपर्ने अवस्था आएकाले मोर्चाले नेपालीको दैनिक जीवनसँग जोडिएको अवस्थालाई सुधार गर्न लाग्नुपर्ने बताए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्दले एमसीसी लागु गर्ने नाममा अमेरिकाको गुलाम बन्न नसकिने भन्दै त्यो अहिलेको अवस्थामा लागु गर्न नसकिने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई नेपालको स्वतन्त्र स्वाधीनताको पक्षमा प्रस्ट भएर उभिन आग्रह गरे ।

सडक र सरकारमा रहेको शक्तिको मोर्चा बन्दा धेरैलाई अनौठो लागेको बताउँदै विप्लवले पुरानो मानसिकता भएकाहरूले मोर्चालाई खिसीटिउरी पनि गरेको बताए ।

उनले परिवर्तनका लागि मोर्चा उपयुक्त शक्ति भएकाले पुँजीवादी र साम्राज्यवादीहरुलाई धक्का दिने दाबी गरे ।

मोर्चाको कार्यक्रमका लागि प्रचण्ड दिउँसो साढे १ बजे हेलिकप्टरबाट सिधै कार्यक्रमस्थलमा आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप