आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
देउकी प्रथा

मैले नजिकबाट देखेकी ती देउकी

बुधबार, १३ भदौ २०८०, १४ : ४४
बुधबार, १३ भदौ २०८०

मेरो विद्यालयनजिकै देउकी सीता (नाम परिवर्तन)को सानो घर थियो । जुन घरमा उनी र उनका पाँच सन्तान बस्थे । यौनशोषण, बलात्कारजस्ता जघन्य अपराधबाट जन्मिएका सन्तानलाई उनले बाबु चिनाउन सकिनन् । 

देउकी अर्थात् डोटी, बैतडीतिरको प्रचलन अनुसार देवताको चेलीका रूपमा आजीवन अविवाहित रहने नारी । हाम्रो गाउँ नजिकैको अर्को गाउँका कथित उच्च जातहरूले बिहेवारी चल्ने अर्को गाउँको गरिब परिवारकी छोरी सीतालाई किनेर कुलदेवताको मन्दिरमा चढाएका थिए । 

उमेरले पाकै देखिने सीतालाई आफ्नो जन्ममिति थाहा थिएन । हामीले उनलाई सीता’दी भन्थ्यौँ । उनी धेरैकी दिदी अर्थात् सीता’दी थिइन् । आज सीता’दी खसेको चार महिनाजति भयो । समाजका विभेदकारी प्रथाहरूतिर घोत्लिँदै गर्दा यतिखेर सीता’दी मेरो स्मृतिमा नाचिरहेकी छन् । 

परापूर्वकालदेखि चल्दै आएको प्रचलन ठानेर देउकीप्रथालाई स्वाभाविक ठान्ने गाउँलेहरू छँदै छन् । यस्तो लाग्छ, यी गाउँलेले सतीप्रथा भएको भए त्यसलाई पनि सही ठान्थे । 

सीता’दीको जीवन दर्दनाक थियो भन्ने मैले नजिकबाट महसुस गरेकी छु । विद्यालय जाँदा, मेलापात गर्दा, खेतबारीमा काम गर्दा, पानीघट्ट जाँदा आक्कलझुक्कल सीता’दीसँग मेरो भेट भइरहन्थ्यो । हामी कथित ठूलो जात (बाहुन) भएकाले सीता’दीले भेट्दैपिच्छे हामीलाई ढोग्थिन् अर्थात् शिर झुकाएर दण्डवत गर्थिन् । उनले ढोग्दा मलाई असहज त लाग्थ्यो तर समाजको चलनको विरोध गर्न सक्दिनथेँ ।

जुन गाउँ वा समुदायले किनेर देवतालाई चढाएको हो, उही गाउँसँग आश्रित भएर देउकीले गुजारा गर्नुपथ्र्यो । त्यस गाउँभन्दा अयन्त्र गए देवता रिसाएर अनिष्ट हुन्छ भन्ने मान्यता थियो र छ । 

उनको जिम्मेवारी हुन्थ्यो — मन्दिरको सरसफाइदेखि गाउँलेको घरमा पूजापर्व पर्दा सरसफाइ गरिदिनु, मन्दिरको प्रांगण वा गाउँमा बास मागेर बस्नु । यसरी नै उनको जीविका चल्थ्यो । 

गाउँलेले दिएको खानेकुरा र लुगाफाटोले मात्रै जीविकोपार्जन गर्न उनलाई मुस्किल पथ्र्याे । गरिखान उनीसँग खेतबारी वा सीप थिएन । ज्याला–मजदुरीबाट आउने चामल–मकै आदिले गुजारा चलाउँथिन् । आफ्नो गाउँभन्दा परवरका गाउँमा पुगेर खाद्यान्न र लुगाफाटा माग्दै हिँड्थिन् । खासगरी हरेकपल्ट बाली भित्र्याउने बेला उनी गाउँलेका दैलो दैलो टेक्थिन्, उनीहरूले दिएको अलिकति अन्न घरमा ल्याएर भण्डारण गर्थिन् । हरेक वर्ष बाली भित्र्याउने बेला उनी हाम्रो घरमा पनि आउँथिन् । कैयौँपटक मेरै हातले उनलाई केही अन्न दिएकी छु । 

विद्यालयनजिकै घर भए पनि सीताका सन्तानलाई स्कुल समुद्रपारिजस्तै थियो । उनीहरू त्यहाँ भर्ना हुन सक्दैनथे, कारण बाबुको पहिचान नहुनु । यही आधारमा उनीहरूलाई समाजका अन्य केटाकेटीले गिज्याउने र खसालेर बोल्ने गर्थे । ०५०÷५१ सालतिर जन्मिएको एउटा मात्र छोरोले भने भर्ना भएर ४÷५ कक्षासम्म औपचारिक शिक्षा हासिल गरेको मैले देखेँ ।

ती छोराको नागरिकता बनाउने उमेर भइसकेपछि देउकी चढाएको समुदायमा एकाएक खैलाबैला मच्चिएको थियो । अन्ततः समाजका ठुलाठालु भनाउँदाले षड्यन्त्रपूर्ण एक निम्न वर्गीय पुरुषलाई बलिको बोको बनाए । नागरिकताकै लागि ती पुरुषलाई सीताको पति र सीताले जन्माएको छोराको पिता बनाइयो, तर यो सम्बन्ध कागजी रूपमा मात्रै देखियो । आफ्नै श्रीमती र सात सन्तानलाई हेर्नुपर्ने ती पुरुषले सीता र सीताका छोरालाई हेरेनन्, हेर्न सक्ने अवस्था र हेर्नैपर्ने कर्तव्य पनि थिएन ।

सीताका छोरा जीविकोपार्जनका लागि भारतका विभिन्न ठाउँहरूमा गएर ज्याला मजदुरी गर्थे । अहिले सडक दुर्घटनामा परी खुट्टामा समस्या भएकाले घरमै बसेका छन् । 

मेरो विवाह डढेल्धुरामा भयो । मेरो एउटा सपना थियो — सीता‘दीसँग कुरा गरेर र केही अनुसन्धान गरेर सम्पूर्ण कथा लेख्ने तर असमयमै उनको मृत्यु भएकाले मेरो त्यस सपनाको पनि मृत्यु भयो । यद्यपि कति कुरा आफूलाई थाहा हुँदाहुँदै पनि यहाँ लेख्न असमर्थ छु । कारण, देउकीहरूको कथा लेख्न सहज छैन । देउकी चढाउने समुदायका व्यक्तिबाट गाली, धम्की वा आक्रमणकै सामना गर्नुपर्ने हुन्छ । 

फेरि पनि नेपाली मिडियामा देउकीका कथा आइरहेकै छन् । १२ जेठ २०७३ मा कान्तिपुर दैनिक पत्रिकामा ‘धर्मको खोलभित्र यौनशोषण कहिलेसम्म ?’ शीर्षकको रामेश्वरी पन्तको लेख प्रकाशित भएको थियो । पन्तले लेखेकी छन्, ‘बैतडी जिल्लाको मेलौली लगायत विभिन्न शक्तिपीठमा अझै पनि कन्या चढाउने र चढाइएका कन्यालाई पुजारी लगायतले साझा भोग्या बनाउने ‘देउकी’ प्रथा कायमै रहेको सुन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्छ ।’

देउकी प्रथा 

नेपाल सांस्कृतिक पर्व, चालचलन, वेशभूषा र रहनसहनका दृष्टिकोणले निकै समृद्ध छ । विभिन्न भू–भागमा फरक–फरक किसिमका सांस्कृतिक चालचलन र रहनसहन परापूर्वकालदेखि वर्तमान अवस्थासम्म प्रचलनमा छन् । नेपाली खासखास समाजमा झुमा, देउकी, देउको, छाउपडी, झारा, डोलाजी, घुम्टो, बहुपति आदिजस्ता कुप्रथा थिए, जसको अवशेष अझै पनि देखिन्छ ।

सभ्यताको जननी हो संस्कृति, यसको संरक्षण, संवद्र्धन, प्रचारप्रसार र जगेर्ना गर्नु हामी सबैको साझा दायित्व हुन आउँछ, तर संस्कृति सँगसँगै समाजमा कैयन् विकृति, विसङ्गति र कुप्रथाले वर्तमान समयसम्म जरो उखेल्नै नसक्ने गरी गाडेर बसेका छन् । यस्तै, एक कुप्रथा हो — सुदूरपश्चिम प्रदेशको खासगरी पहाडी जिल्लाका विभिन्न मठ–मन्दिरमा कुमारी केटी चढाउने अर्थात् देउकी प्रथा । 

मन्दिरमा चढाइएकी कुमारीलाई देवी मानेर पुज्नुको साटो देउकी नाम दिइएको हुन्छ । समाजका उच्च वर्गले छोरा प्राप्तिका लागि, रोग निको हुनका लागि, मुद्दा–मामिला जित्नु परेमा, कुनै उच्च पद प्राप्तिका लागि — यस्तै मनोकांक्षा राखेर गरिब परिवारका छोरी न्यून मूल्यमा किनेर देवी–देवताका मन्दिरमा चढाउने प्रथा नै देउकी प्रथा हो । 

मन्दिरमा चढाइएका बालिकाले मन्दिरको संरक्षण, लिपपोत, धामी–पुजारीको रेखदेख गर्नुपर्ने हुन्छ । कहीँ एक परिवारले मात्र त कतै त्यो समुदायमा बसोबास गर्ने सम्पूर्ण घरधुरी मिलेर बालिकालाई देवी–देवताका मठमा चढाएको भेटिन्छ । मन्दिरमा चढाइएका कन्यालाई घर फर्केर जान र आफूखुसी विवाह गर्न छुट दिइएको पाइँदैन ।

प्रा. डा. सूर्यमणि अधिकारीको ‘बाइसे राज्यको इतिहास’ (विं. सं. २०६०) पुस्तकको पेज नं. २७८ र २७९ मा डोटी राज्यमा राजा नागमल्लका पालादेखि देवदासी थालिएको उल्लेख गरिएको छ । 

जुम्लाको रैका मल्ल राजा वंशज नागीमल्लले भागेश्वरलाई चढाएको कन्या नै डोटी राज्यकी प्रथम देवदासी अर्थात् देउकी हुन् । उनले रावल थरका दुई कन्या किनेर भागेश्वर देवतालाई चढाएको इतिहास पाइन्छ । त्यसपछि बालिका बेच्ने र किनेर मन्दिरमा चढाउने प्रचलनले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा व्यापकता पायो । 

बैतडी जिल्लाको, भगवती माणौँ, समैजी माणौँ, तल्लो सोराडस्थित मेलौली देवीको मन्दिर, त्रिपुरासुन्दरी मन्दिर, पाटनको ठाकुर उदयदेवको मन्दिरमा बालिकाहरू चढाउने प्रचलन रहेको पाइन्छ, तर चढाएका बालिकालाई सम्मानका साथ त्यहाँ राखिएको हुँदैन । उनीहरू मन्दिर पुगेपछि देउकीमा परिणत हुन्छन् । कुमारीहरूले मन्दिरसहित नचाहेरै पनि चढाएका व्यक्तिहरूको घरमा गएर घरेलु काम गर्नपर्ने बाध्यता हुन्छ ।

बैतडीका शक्तिपीठहरूमा देउकी प्रथा कायम रहेको सन्दर्भमा समुन्द्रराज घिमिरेले देवकी विष्टसँग गरेको कुराकानी सेतोपाटी अनलाइमा प्रकाशित भएको थियो । देवकी विष्टको स्थलगत अध्ययनअनुसार ‘बैतडीमा रहेका सातवटा शक्तिपीठमा समाजका धनाढ्यले देउकी चढाउने गर्थे । अचेल पहिलेजस्तो खुलमखुला देउकी चढाइँदैन । चढाइहाले पनि प्रहरी, प्रशासन सबै मुकदर्शक बन्छन् । अन्धविश्वासमा चलेको त्यस समाजमा देउकी प्रथाविरुद्ध बोल्नु भनेको देउताविरुद्ध जानु हो । 

रामेश्वरी पन्तको उपर्युक्त आलेखमा ‘देउकी त मन्दिरभित्रका यौनदासी बन्छन् नै, जीवन गुजाराका लागि वेश्यावृत्ति अपनाउन बाध्य छन्, उनीहरूबाट जन्मेका सन्तानले अनागरिक भएर गुमनामको जीवन बाँचेका छन्’ भन्ने उल्लेख गरिएको छ । पन्तले स्थलगत अध्ययन नगरी देवकी विष्टले निर्माण गरेको वृत्तचित्रको आधारमा त्यो धारणा बनाएको देखिन्छ । 

देउकीले आफूखुसी, आफ्नै इच्छा र रहरले वेश्यागमन गर्दैनन्, हरेकपल्ट फरक–फरक व्यक्तिबाट यौन शोषणको सिकार हुनुपर्ने भएकाले वेश्यागमनको नाम दिइएको हो । सीताको हकमा भने पुरुषसत्ताका ठेकदारहरूको यौनशोषणमा परेर आधा दर्जन सन्तान जन्माएकी उनका हरेक सन्तान जन्मिएका बखत उनको अनुहारमा देखिने दुःख, पीडा र अप्ठेरो अवस्था देख्दा रहरले नभई बाध्यताले जन्माएकी हुन् भन्ने अनुमान गर्न गाह्रो हँुदैनथ्यो । बुबाको पहिचान खुलाउन नसक्दा कैयौँपटक भित्रभित्रै मरेर बाँचेकी थिइन् उनी, उनको कुरा गर्ने शैलीबाट यस्तो अनुभूति हुन्थ्यो ।

(लेखक सुदूरपश्चिम विश्वविद्यालयबाट विद्यावारिधि गर्दै छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता जोशी
सरिता जोशी
लेखकबाट थप