आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले गरे मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता

नागरिकका कामलाई प्राथमिकतामा राख्न निर्देशन
बुधबार, १३ भदौ २०८०, २२ : ४७
बुधबार, १३ भदौ २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विभागीय मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् । बुधबार एक कार्यक्रम आयोजना गरी मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका ९ जना मन्त्रीसँग कार्यगत जिम्मेवारीका विषयमा वार्षिक कार्य सम्पादन करार सम्झौता गरेका हुन् । ३ जना मन्त्री भने कार्य सम्पादन करार सम्झौता कार्यक्रममा सहभागी भएनन् ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्र्जन, वन तथा वातावरण मन्त्री मसिना खड्का र स्वास्थ्य मन्त्री उत्तम जोशीसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् ।

उक्त कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तिर्थ बहादुर लामा र श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल उपस्थित भएनन् ।

मुख्यमन्त्री जम्कट्टेलले बजेट कार्यक्रम तथा आयोजना कार्यान्वयनको कार्यतालिका सहित मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरेका हुन् । उनले आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सम्पूर्ण नीति नियम तथा कार्यविधिहरु निर्माण सम्पन्न गर्ने, दोस्रो त्रैमासिकमा योजनाहरु सम्झौता गरी कार्यान्वयनमा जाने र अन्तिम त्रैमासिक अवधिमा योजनाहरु सम्पन्न गर्ने तथा अनुगमनका काम गर्नेगरी सझौता गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले गरेको कार्य सम्पादन सम्झौता अनुसार गत साउन १ गतेबाटै प्रारम्भ हुने उक्त करारको अवधि २०८१ असार मसान्तसम्म रहनेछ । बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि असोज मसान्तसम्म तयार गर्नुपर्ने, खरिद प्रक्रिया र टेण्डर सम्बन्धी कार्य आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भएको अख्तियारी तथा मार्गदर्शन बमोजिम गर्नुपर्ने, कार्य सम्पादनका लागि आवश्यक सहजीकरण र अन्तरनिकाय समन्वयको लागि जिम्मेवारी दिने पदाधिकारीले सहजीकरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यस्तै, करारको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवारी बहन गर्ने, सम्बन्धित पदाधिकारीले आफू मातहतका अधिकारीसँग कार्य सम्पादन गर्ने लगायतका विषयहरु कार्य सम्पादन सम्झौतामा समावेश छ ।

कार्य सम्पादन सम्झौता करारको अवधि समाप्त नहुँदै कार्य सम्पादन गर्ने÷गराउने सार्वजनिक पदाधिकारी आफू पदमा बहाल नरहेमा उक्त जिम्मेवारी प्राप्त गर्ने नयाँ पदाधिकारीले सम्पादन गर्नुपर्ने व्यवस्था सम्झौतापत्रमा उल्लेख छ । करारमा उल्लेख भएदेखि बाहेक नव प्रवर्द्धनात्मक र नियमित कार्यहरु समेत गर्न सक्ने अधिकार सम्झौतामा समावेश गरिएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले सरकारको काम कारबाहीलाई व्यवस्थित बनाउन मन्त्रीहरुसँग सम्झौता गरेको बताए । प्रदेश सरकारबाट प्रवाह हुने सेवा तथा आयोजनाहरुलmाई गति प्रदान गर्न कार्य सम्पादन सम्झौता करार महत्त्वपूर्ण रहने उनको भनाइ छ ।

प्रदेश सरकार बजेट तथा नीति कार्यक्रम कार्यान्वयनमा गम्भीर रहेकाले मातहतका मन्त्रीहरुले कार्य सम्पादन सम्झौतालाई आधार मानेर काम कारबाही अघि बढाउनुपर्ने उनले बताए । प्रदेश सरकारको खर्च कटौती गर्ने योजनालाई सार्थकता दिन मन्त्रालय र मातहतका निकायहरुलाई सोही अनुसार परिचालन गर्न मन्त्रीहरुले भूमिका खेल्नुपर्ने उनको धारणा छ ।

मुख्यमन्त्री जम्कट्टेलका अनुसार प्रदेश सरकारका सेवाहरु १३ वटै जिल्लाबाट प्रवाह गर्ने गरी काम सुरु भएको छ । सो कार्यका लागि सरकारलाई आर्थिक भार नपर्ने गरी संरचनागत रुपमा व्यवस्थापन मिलाइएको उनले बताए । नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह र विकास निर्माणको कामलाई तीब्रता दिनेतर्फ सरकारको ध्यान रहेको उनको भनाइ छ ।

नागरिकहरुको समस्या र काममा सरकार गम्भीर रहेको भन्दै उनले मातहतका निकायहरुलाई प्राथमिकताका साथ अघि सरकारको लक्ष्य र कार्ययोजना अघि बढाउन निर्देशन दिए ।

मुख्यमन्त्री जम्कट्टेलले आगामी पुससम्ममा हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्गको स्तरोन्नतिको काम सम्पन्न गर्ने बताए । उक्त मार्ग अन्तर्गत पर्ने मकवानपुरको भैंसेदेखि भीमफेदी र कुलेखानी–फाखेल हुँदै फर्पिङसम्मको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्नेगरी काम भइरहेको र काम छिट्टो सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गर्ने काम भइरहेको उनले बताए ।

हाल ऐन कानुनको अभावमा प्रदेश सरकारका काम प्रभावित हुने अवस्था नरहेको मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । सरकारका काम कारबाही सञ्चालनका लागि आवश्यक थप ऐन कानुन निर्माण तथा संशोधनको प्रक्रिया थालिएको र हाल प्रदेशसभामा केही विधेयकहरु पठाएर कानुन निर्माणलाई अघि बढाइएको उनले बताए । ऐन कानुन र मार्ग निर्देशनको अभावमा सरकारका काम अलमलमा पर्ने अवस्था अन्त्य भएको उनले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप