सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसिया कप

पाकिस्तानले सजिलै हरायो नेपाललाई

बुधबार, १३ भदौ २०८०, २१ : ४२
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ४२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २३.४ ओभरमा अलआउट हुनुअघि एक सय चार रनमात्र बनाउन सक्यो । 

नेपालले सुरुमै आफ्नो तीन विकट गुमाएको थियो । पहिलो विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आठ रन बनाउँदै आउट भएका हुन् । उनलाई पाकिस्तानी बलर साहिन शाह अफ्रिदीले मोहम्मद रिजवानद्वारा क्याच गराएका हुन् । 

यसैगरी तेस्रो नम्बरका ब्याट्सम्यान कप्तान रोहित पौडेल भने दोस्रो विकेटका रुपमा शून्य रनमै पेभेलियन फर्किए । उनलाई साहिन शाह अफ्रिदीले एलबीडब्लूको धरामा पारे । नेपालले दुबै विकेट १० रनको स्कोरमा गुमाएको हो । 

यसैगरी तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेख पेभेलियन फर्किए । उनलाई पाकिस्तानी बलर नसिम शाहले इफ्तिखार अहमदद्वारा क्याच गराएका हुन् । उनी पाँच रनको व्यक्तिगत स्कोरमा आउट भएका हुन् । नेपालले १४ रनमा तेस्रो विकेट गुमाएको हो ।

यसैगरी चौथो विकेटका रुपमा नेपाली ब्याट्सम्यान आरिफ शेख २६ रन बनाउँदै आउट भएका थिए । उनले ३८ बलमा पाँच चौका हिर्काए । उनलाई तिब्रगतिका पाकिस्तानी बलर ह्यारिस रउफले बोल्ड गरेका थिए । आरिफ शेख र सोमपाल कामीले ५९ रनको साझेदारी गरेका थिए । 

यसैगरी पाँचौं विकेटका रुपमा सोमपाल कामी पेभेलियन फर्किएका थिए । उनी ४६ बलमा चार चौकाको मद्दतले २८ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर ह्यारिस रउफले मोहम्मद रिजवानद्वारा क्याच गराएका थिए । 

यसैगरी नेपालको छैटौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी तीन रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर मोहम्मद नवाजले बोल्ड गरेका थिए । त्यतिबेला नेपालले २०.५ ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको थियो ।

यसैगरी नेपालले सातौं विकेटका रुपमा गुल्सन झालाई गुमाएको थियो । उनी १३ रन बनाउँदै आउट भएका हुन् । उनलाई सदाब खानले फाखर जामनद्वारा क्याच गराएका थिए । आठौं विकेटका रुपमा सन्दीप लामिछानेलाई गुमाएको थियो । उनी शून्य रनमै पेभेलियन फर्किएका थिए । उनी पाकिस्तानी बलर सदाब खानको बलमा बोल्ड भएका थिए । 

यसैगरी नवौं विकेटका रुपमा कुशल मल्ल ६ रन बनाउँदै आउट भएका थिए । उनले एक छक्का पनि हिर्काए । उनलाई सदाब खानले इफ्तिखार अहमदद्वारा क्याच गराएका हुन् । त्यतिबेला नेपालले २३.२ ओभरमा नौ विकेट गुमाएर एक सय चार रन बनाएको थियो । नेपालले अन्तिम विकेटका रुपमा ललित राजवंशी गुमायो । उनी शून्य रनमा सदाब खानको बलमा एलबीडब्लूको धरापमा परे । करण केसी सात रनमा अविजित रहे । 

त्यसअघि कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु तीन सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ४२ रन बनाएको थियो । कुनै पनि टोलीले मुल्तान क्रिकेट रंगशालामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा ठूलो स्कोर पनि हो । 

अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याचआउट हुनअघि कप्तान आजमले उत्कृष्ट ब्याटिङ गर्दै एक सय ३१ बलमा एक सय ५१ रन बनाएका थिए । उनले यस क्रममा १४ चौका र चार छक्का हिर्काएका थिए । कुनै पनि पाकिस्तानी कप्तानले घरेलु मैदानमा बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो । 

यसैगरी इफ्तिकार अहमदले पनि शतकीय पारी खेले । उनले नटआउट रहँदै एक सय नौ रन बनाएका थिए । उनले विस्फोटक ब्याटिङ गर्दै ११ चौका र चार छक्का हिर्काएका थिए । नेपालले खेलमा सुरुआत भने राम्रो गरेको थियो । नेपालले दुवै ओपनरलाई सस्तोमा आउट गरेपछि घरेलु टोली दबाबमा परेको थियो । फखर जमान १४ रन बनाएर करण केसीको शिकार बने भने इमाम उल हक पाँच रन बनाएर रनआउट भएका थिए । 

त्यसपछि कप्तान बाबरले मोहमद रिजवानसँग मिलेर पाकिस्तानको पारी सम्हालेका थिए । रिजवान ४४ बनाएर रनआउट हुँदा टीमको स्कोर एक सय ११ रन रहेको थियो । लगत्तै आघा सलमान पाँच रन बनाएर सन्दीप लामिछानेको बलमा आउट भएका थिए ।

त्यसपछि बाबर र इफ्तिकार अहमदले नेपाली बलरलाई पिट्न सुरु गरेका थिए । नेपालका लागि सोमपाल कामीले दुई तथा सन्दीप लामिछाने र करण केसीले १-१ विकेट लिएका थिए । ललित राजवंशीले विकेट लिन सकेनन् । उनले १० ओभर बलिङ गर्दै ४८ रन खर्चिए ।

एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु भएको हा्े । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो । 

पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । नेपालले आफ्नो दोस्रो खेल भदौ १८ गते श्रीलंकाको केन्डीमा भारतसँग खेल्नेछ ।

नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो । अहिले पनि पाकिस्तानी खेलाडीको नाममा विश्व क्रिकेटका थुप्रै कीर्तिमान छन् । आईसीसी एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो र नेपाल १५औं स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप