आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

६० किलो सुन अनुसन्धानमा दुई डीआइजीसहित ३३ जनाको ‘जम्बो टिम’

हङकङ र भारतमा पनि अधिकृत पठाइयो
बिहीबार, १४ भदौ २०८०, १८ : ३६
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करी अनुसन्धान गर्न प्रहरीले पुरै शक्ति लगाएको छ । अनुसन्धानमा काविल मानिने प्रहरी अधिकारीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ मा झिकाइएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले कमाण्ड गरेको अनुसन्धान टिमलाई प्रहरी अधिकृतहरु अहिले सम्मकै ‘उत्कृष्ट’ टिम भन्छन् । अनुसन्धानमा सिआईबीका डिआईजी यज्ञविनोद पोखरेल र विशेष ब्यूरोका डिआईजी रामदत्त जोशी छन् । अनुसन्धान टोलीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ३ जना छन् । 

भारतस्थित नेपाली राजदूतावासका कन्सुलर (एसएसपी) उमा प्रसाद चतुर्वेदीलाई पनि टिममा सामेल गरिएको छ । सीआईबीका एसएसपी दिनेश आचार्य अनुसन्धानका लागि हङकङ गएका छन् ।

उता, बिहीबार एकजना डिएसपीलाई भारतमा पठाइएको छ । तस्कर समूहले हङकङ र दुबईबाट सुन ल्याएर भारतमा पठाउने गरेको ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।  

प्रहरी वरिष्ठ उपरीक्षक ए.एम चन्द्र सिंह धामीले तस्करीको प्राविधिक पक्षको विश्लेषण गरिरहेका छन् । प्राविधिक तर्फका एसएसपी धामी नेपाल प्रहरीमा क्रिप्टोकरेन्सीको जानकार मानिन्छन् । ६० किलो सुनको भुक्तानी क्रिप्टोमार्फत् भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । 

त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद सुन संगठित तरिकाले तस्करी भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो । 

सुन अनुसन्धानको जिम्मेवारी लिनासाथ ब्यूरोले एसपी सञ्जयसिंह थापाको कमाण्डमा टिम गठन गरेको थियो । सुनको अनुसन्धानमा ३३ जनाको ‘टिम’ परिचालन गरिएको एआईजी किरण बज्राचार्यले बताईन् । रातोपाटीसँग कुरा गर्दै बज्राचार्यले भनिन्–‘तस्करीको जरोसम्म पुग्ने गरी हामी प्रयास गरिरहेका छौं ।’

अनुसन्धानमा टिममा ४ जना प्रहरी उपरीक्षक (एसपी) छन् । धनकुटामा कार्यरत एसपी कृष्ण कोइरालालाई अनुसन्धानका लागि काठमाडौँमा बोलाइएको छ । प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाका प्रमुख एसपी अनुपम शमशेर जबरा अनुसन्धानमा सहभागी छन् । 

मानव बेचबिखन ब्यूरोमा कार्यरत एसपी कष्ण पंगेनी सुन बरामद भएसँगै राजस्व अनुसन्धान विभागको टिमसँग जोडिएका थिए । पंगेनीले अहिले अनुसन्धानको दस्तावेजीकरणको पाटो सम्हालेका छन् । धर्मराज भण्डारी र  दुर्गा दाहालसहित ५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) हरु अनुसन्धानमा संलग्न छन् । 

अनुसन्धानमा काविल भनेर चिनिएका ईन्स्पेक्टर राजु अधिकारी र गजेन्द्र रावलाई सीआईबीमा झिकाइएको छ । अधिकारीले भुटानी शरणार्थी प्रकरणको पनि अनुसन्धान गरेका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार ७ इन्सपेक्टर र १३ जना जुनियर प्रहरी अधिकृत अनुसन्धानमा सामेल छन् । 

जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत वरिष्ठ प्रहरी नायव निरीक्षक रमेश बजगाईंलाई पनि अनुसन्धानका लागि सिआईबीमा बोलाइएको छ । बजगाईं संगठित अपराध अनुसन्धानमा काविल मानिन्छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरोले टिम बनाएर साउन २२ देखि अनुसन्धान सुरु गरेको थियो । 

ब्यूरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदामसहित १० ठाउँमा छापा मारिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 

अनुसन्धानलाई सघाउन प्रहरी प्रधान कार्यालयमार्फत् सीआईबीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा पत्राचार गरेको छ । पक्राउ गरिएका ७ जना चिनियाँहरुको अपराध रेकर्ड बारेको विवरण मगाउन नेपाल प्रहरीले इन्टरपोलमा ‘पर्पल नोटिस’ जारी गर्न सिफारिस गरेको छ । ‘पर्पल नोटिस’ जारी भएपछि  इन्टरपोलका सदस्य प्रहरी संगठनले मागेको अपराधीको विवरणसम्बन्धी कागजात पठाउनेछन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप