आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सन्देश सभा

कर्णालीमा समाजवादी मोर्चाको सन्देश : एमसीसीबारे मोर्चामा असन्तोष, निशानामा एमाले !

भ्रष्टाचार र सुशासनमा प्रचण्डलाई विप्लवको ढाडस
बिहीबार, १४ भदौ २०८०, १९ : १४
बिहीबार, १४ भदौ २०८०

सुर्खेत । बिहीबार वीरेन्द्रनगरमा समाजवादी मोर्चाले ‘सन्देश सभा’ गर्‍यो । सिटी हलमा आयोजित उक्त सभामा आकर्षणको केन्द्र थिए, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ।  खरो र क्रान्तिकारी भाषणले चन्दले सहभागीको मन जिते । उनको मन्तव्यमा तालीको गड्गडाहट आयो । 

जनयुद्धपछि कर्णालीमा विप्लवले पहिलो पटक प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सार्वजनिक कार्यक्रममा सहभागिता जनाएका थिए । त्यस्तै, पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीको तर्फबाट केन्द्रीय कार्यकारी परिषद् समिति सदस्य प्रकाश अधिकारी पनि सहभागी थिए । यद्यपि, खचाखच भरिएको हलले विप्लवको भाषणमै तालीसँगै समर्थनमा बढी हुटिङ गर्‍यो । 

सन्देश सभामा एमसीसीको विषयलाई लिएर असन्तोष पैदा गराएको सन्देश प्रदान नेताहरुले गरेका थिए भने समाजवादी मोर्चाले क्रान्तिकारी धारको आशा र निशानामा एमालेलाई राखेको देखियो । नेताहरुले एमालेलाई देशमा परिवर्तन नचाहने शक्तिका रुपमा अर्थ्याए । 

नेकपा महासचिव विप्लवले कम्युनिस्टभित्र पनि नक्कली कम्युनिस्टहरू रहेको, जसले नक्कली बाख्राको खोर देखाएर अनुदान खाइरहेको बताए । उनले नेपाललाई दलाल पुँजीपति तत्त्वले गम्भीर मोडमा लान थालेको र त्यसलाई क्रान्तिकारी कम्युनिष्टहरुले रोक्नुपर्ने बताए । 

क्रान्तिद्वारा प्राप्त उपलब्धिको रक्षाका लागि सबै कम्युनिस्ट एक ठाउँमा उभिनुपर्ने भएकाले समाजवादी मोर्चा बनेको उनको भनाइ थियो । ‘समाजवादी मोर्चा क्रान्तिको प्रतीक हो,’ उनले भने,‘हिजो नेपालमा सामन्तवादीहरुको चकचकी थियो । तर, त्यो सामन्तवादलाई परास्त गरेका थियौँ ।’

महासचिव विप्लवले भ्रष्टाचार र माओवादी जनयुद्धका मुद्दामा प्रचण्डलाई ढाडस दिए । जनयुद्धकालीन मुद्दा लगाएर देशको प्रधानमन्त्रीलाई फसाउने षड्यन्त्र भइरहेको भन्दै उनले चर्को विरोध गरे । उनले त्यसका विरुद्धमा आफूहरु लड्न तयार रहेको पनि बताए । 

यद्यपि विप्लवले एमसीसी नेपालको हितमा नभएको, यसले देशलाई युक्रेन बनाउने तर्क गरे । त्यसका विरुद्धमा आफूहरु सडकमा आइसकेको र कार्यान्वयन गर्न नदिने अडान राखे । यद्यपि प्रचण्ड सरकारले गरेका भ्रष्टाचार र सुशासनको सन्दर्भमा भने उनले प्रसंशा गरे ।

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तन चाहनेहरु एक ठाउँमा आएको र परिवर्तन नचाहनेहरुलाई वर्तमान सरकारले गरिरहेको कार्य देखेर हैरानी भइरहेको भन्दै एमालेलक्षित मन्तव्य दिए । 

समाजवादी मोर्चा बनेपछि विपक्षी (एमाले)हरुले सरकार ढल्छ कि भन्दै भ्रम छरिरहेको बताउँदै नेपालले मोर्चाले सत्तारुढ गठबन्धन दल कांग्रेसको मनमा चिसो नपसेको दाबी गरे । ‘मोर्चा बनेपछि बरु, कांग्रेसको मनमा तातो पसेको छ, चिसो होइन,’ उनले भने,‘परिवर्तन नचाहने शक्तिहरुले भ्रम फैलाइरहेका छन् । ढुक्क हुनुहोस्, सरकार ढल्दैन ।’

एमसीसीको विषयमा नेपालले एमसीसीलाई सैन्य र सुरक्षासँग जोडिन नहुने तर्क गरे । देशका लागि अनुदान मागिएको तर सुरक्षासँग जोडिन नहुने उनको भनाइ थियो । उनले अगाडि भने,‘मैले यो विषयमा अमेरिकाको धारणा र अमेरिकी दूतावासद्वारा जारी विज्ञप्ति अध्ययन गरेको थिएँ, अनुचित सर्त स्वीकार्य हुँदैन ।’ 

यद्यपि प्रचण्डले भने एमसीसीको विषयमा बोलेनन् । बरु उनले सरकार भ्रष्टाचारको लडाइँमा भएको र त्यो नरोकिने भन्दै मोर्चामा आबद्ध दलहरुलाई सहयोग गर्न आग्रह गरे । विप्लवलाई इंगित गदै प्रचण्डले जनयुद्ध विप्लवकै सुरक्षा घेरामा अगाडि बढाइएको तथा भ्रष्टाचार र सुशासनको सन्दर्भमा पनि साथ पाउने आशा व्यक्त गरे । 

आफूले राम्रो काम गर्दापनि आफ्नालाई बचाउँछ, एमाले, कांग्रेसका नेतालाई मात्र थुन्छ भन्ने आरोप आफूमाथि लगाइएको भन्दै उनले त्यो सत्य नभएको दाबी गरे । ‘मैले अनुसन्धान गर्दै जाँदा माओवादी त परैको कुरा हो, म आफैँ प्रचण्ड नै मुछिएको भएपनि नछोड्नु भनेर सीआईबीलाई भनेको छु,’ उनले भने । 

नेतृत्वमा रहेसम्म राम्रो काम गर्ने प्रचण्डको भनाइ थियो । ‘म जति सक्छु, राम्रो काम मात्र गर्ने सोचमा छु । राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु,’ उनले भने,‘राष्ट्रियताको पक्षमा, सामाजिक न्याय र भ्रष्टाचारविरुद्ध लाखौँ जनता सडकमा उतार्नुपर्छ र भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ ।’ 

एमालेलाई लक्षित गर्दै उनले भने,‘अहिले धारे हात लगाएर हेरिरहेको छन्, कोही, उनीहरु नक्कली कम्युनिस्ट हुन् । एमाले परिवर्तनको पक्षमा छैन ।’ साथै एमालेभित्र ठुलो असन्तुष्टि बढेको र चिरा चिरा पर्ने संकेत आफूले देखेको उनको भनाइ थियो । एमालेभित्र ठुलो पंक्ति हैरान भएको र विस्फोटको अवस्थामा पुगेको उनको भनाइ थियो । 

‘नामै नलिउँ, हाम्रो प्रतिपक्षभित्र ठुलो धाँजा परिरहेको छ, चिरा परिरहेको छ । परेसान भएर कहीँ न कहीँ विस्फोट पक्कै हुन्छ ।’ साथै, यदि एमालेभित्र त्यसो भएको खण्डमा कम्युनिस्ट आन्दोलन नयाँ तरिकाले ध्रुवीकृत हुने विश्वास पनि प्रचण्डले गरे । 

जसपाका केन्द्रीय कार्यकारी परिषद् समिति सदस्य प्रकाश अधिकारी अहिलेको मोर्चा परिवर्तन चाहने मोर्चा भएको बताए । यसले कम्युनिस्ट आन्दोलन र उपलब्धिको रक्षा गर्ने उनको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप