आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पशुमा लम्पी स्किनजस्तै केरामा फेला पर्‍यो पानामा रोग

तत्काल नियन्त्रण गर्न कृषि मन्त्रीको निर्देशन
बिहीबार, १४ भदौ २०८०, १९ : २९
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले केरामा हालै फेला परेको पानामा (टीआर–४) रोगलाई नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

समयमा ध्यान नदिएका कारण पशु चौपायामा लम्पी स्किन रोग महामारीको रुपमा फैलिएको भन्दै उनले लम्पी स्किन रोगजस्तै पानामा रोग नफैलियोस् भन्नका खातिर समयमै नियन्त्रण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकहरुलाई निर्देशन दिएका छन् ।

नार्कमा बुधबार आयोजित एक कार्यक्रममा उनले भने, ‘सरकारको लापरबाहीले लम्पी स्किन नियन्त्रण बाहिर गयो, समयमा ध्यान पु र्‍याएको भए यत्तिको क्षति हुने थिएन, पानामा रोग केरामा देखा परिसकेको छ, यसलाई कसरी नियन्त्रण गर्नुपर्छ, के के गर्नुपर्छ, छिटो गरिहाल्नु पर्‍यो ।’

केरामा लाग्ने यो रोग निकै खतरनाक रहेको बताइन्छ । ‘यो एक जिल्लाबाट अर्को जिल्लामा सर्‍यो भने सम्हाल्न निकै गाह्रो हुन्छ, त्यसैले जहाँ देखिएको छ, त्यहीँ नियन्त्रण गरिहाल्नु पर्छ,’ मन्त्री भुसालले भने, ‘रोग फेला परेको ठाउँलाई आफ्नो नियन्त्रणमा लिएर पुनः परीक्षण गरी रोगलाई अगाडि बढ्न नदिन उपाय खोज्नुपर्छ ।’

कृषि मन्त्री भुसालले निर्देशन दिएपछि नार्क अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्का नेतृत्वको एक टोलीले प्रतिवेदन तयार गरी बुधबार नै कृषि मन्त्री भुसाललाई बुझाएका छन् ।

मन्त्री भुसाललाई बुझाएको प्रतिवेदन क्याभिन्डेस जातका केरा लगाइएका देशैभरि द्रुत सर्भे तथा जोखिम विश्लेषण गरी त्यसका आधारमा तयार गरिएको हो । यो रोगलाई आन्तरिक क्वारेन्टाइनका मापदण्ड बनाएर यथाशीघ्र नियमन गर्नु पर्ने, अर्को सूचना जारी नहोउन्जेल केराको काइँयो वा हत्ताबाहेक अन्य कुनै पनि भाग बगैंचाबाट बाहिरिन नदिन प्रतिवेदनमार्फत सुझाव दिइएको छ ।

रोग फेला परेको केराको बगैंचालाई आइसोलेसनमा राख्न पनि सुझाव दिइएको छ । यो रोग कैलालीमा फेला परेको छ । तत्कालका लागि चिसापानी तथा राजापुर पुलमा अस्थायी चेकपोष्ट तयार गरी सुरक्षाकर्मी तथा प्राविधिक उपलब्ध गराइ केरा बोक्ने गाडीको चक्का सफा पानीले धोएर १० प्रतिशत ब्लिचले निसंक्रमण उपचार गरेपछि मात्र गाडी पास हुन दिने व्यवस्था हुनुपर्ने सुझाव पनि दिइएको छ ।

कार्यदलले प्रतिवेदनमा हाल देखिएको केराको पानामा रोगको नयाँ प्रजाति ‘टीआर–४’ को फैलावट रोक्न रोगग्रस्त बगैंचामा रोग व्यवस्थापनका प्रारम्भिक विधि अवलम्बन गर्न सुझाव दिएको कार्यदलका संयोजक डा. खड्काले बताए ।

यसका लागि पहिला रोग कति क्षेत्रमा फैलिएको छ भन्ने निर्क्यौल गर्न वरिपरिका बगैंचामा रोग सुरु भएको स्थानबाट ट्रेस व्याक र ट्रेस फोरवार्ड सर्भे गर्नु पर्दछ । सर्भे गर्दा नर्सरीहरु, साना र ठूला बगैंचालाई समेट्न सुझाव दिएको छ ।

राष्ट्रिय बाली रोग अनुसनधान केन्द्रका प्रमुख सुरज वैद्यले पानामा रोगको यो प्रजाति नेपालमा फेला परेको कुरा केन्द्रले राष्ट्रिय बाली संरक्षण संगठनमा (एनपीपीओ) मा प्रस्ताव गरी अनुमोदन समेत भइसकेको बताए ।

यो रोगको बारेमा अन्तर्राष्ट्रिय संगठनलाई पनि जानकारी गराउने प्रक्रिया सुरु भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप