सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टीट्वान्टी महिला विश्वकप छनोट क्रिकेट : बहराइनले नेपाललाई दियो ३२ रनको लक्ष्य

शुक्रबार, १५ भदौ २०८०, १२ : २९
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनबाट ३२ रनको लक्ष्य पाएको छ । टस जिती पहिलो ब्याटिङको निणर्य लिएको बहराइनले १५.४ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो ।

नेपाली बलरले खेलको प्रारम्भदेखि नै बहराइनका ब्याट्रलाई दबाबमा राखेका थिए । बहराइनलाई सस्तोमा समेटन नेपाली टोलीकी बलर इन्दू वर्माले तीन विकेट लइन् । उनले चार ओभर बलिङ गर्दै दुई मेडन राखेर केवल पाँच रन खर्चिएकी थिइन् । खुसी डंगोलले दुई विकेट हात पारिन् । उनले १.४ ओभर बलिङ गर्दै एक रन पनि दिइनन् । कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले पनि एक—एक हात पारे । बहराइनका लागि कप्तान दीपीका रसनगिकाले ११ रन बनाइन् । इशारा सुहुनले पाँच रन जोडिन् । 

आशा सामिलदिनले पनि पाँच रन बनाइन् । ओपनर थारंगा गजानायके चार रनमै पेभेलियन फर्किइन् । पविथ्रा सेठ्ठी एक रनमा आउट भइन् । प्रजना जगदिशा, ओपनर रासिका रोड्रिगो, मनाल मलिक, अबिरा वारिस र सदामली भाक्सलाले खातासम्म खोल्न सकेनन् । 

नेपालले यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रनले हराएको थियो । नेपालले आइतबार भुटानको सामना गर्नेछ । त्यसपछि नेपालले मंगलबार कतार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । दुबै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।  फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन् । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप