आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी केन्द्रको रुपान्तरण अभियान : के गर्दैछ बागमती प्रदेश समिति ?

शुक्रबार, १५ भदौ २०८०, १३ : ४४
शुक्रबार, १५ भदौ २०८०

मकवानपुर । संगठन सुधारका लागि नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने विशेष रुपान्तरण अभियानको तयारी पूरा भएको छ । केन्द्रीय तहका नेताहरुलाई गाउँगाउँ पठाएर माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्न लागेको हो ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एक समारोहबिच चन्द्रागिरि–२ स्थित घट्टेडाँडाबाट अभियानको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नाराका साथ माओवादी केन्द्रले सञ्चालन गर्ने ३ महिने अभियानमा सक्रिय हुन नेताहरु ७५३ पालिकाको वडा वडामा केन्द्रित हुनेछन् । माओवादी केन्द्रले ७ प्रदेशकै हरेक वडा तहमा आफ्ना नेता तथा कार्यकर्ताहरु खटाएर पार्टी संगठन सुधारको प्रयास थालेको हो ।

सोही अनुसार नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिले पनि विशेष रुपान्तरण अभियानको तयारी अन्तिम चरणमा पु¥याएको छ । माओवादी केन्द्रको जनमत बढाउने र कमजोर बन्दै गएको पार्टीको धरालतलाई सुधार गर्दै सशक्त संगठन निर्माणमा जुटेको माओवादी केन्द्रलाई अभियानले सहजता प्रदान गर्ने अपेक्षा गरिएको नेताहरु बताउँछन् ।

अभियानलाई सफल बाउन माओवादी केन्द्रका केन्द्रदेखि जिल्ला तहका नेताहरु वडा वडामा तयारी कार्यक्रममा सक्रिय छन् । बागमती प्रदेशका पनि माओवादी केन्द्रले तयारी बैठक तथा निर्देशनात्मक कार्यक्रम सम्पन्न गरेको छ । माओवादी केन्द्रले बुधबार चितवनको जिल्ला कमिटी बैठक सम्पन्न गरेसँगै तयारी तथा निर्देशनात्मक बैठक सम्पन्न गरेको हो ।

प्रदेश समितिले उक्त अभियानका लागि गत साउन ३२ गते पदाधिकारीसहितका नेताहरुलाई फरक फरक जिल्लाका स्थानीय तहको कमाण्डर तोकेर खटाइसकेको छ । हरेक जिल्लामा फरक जिल्लाको नेतालाई कमाण्डर तोकिएको छ भने ७९ वटै पालिकामा फरक–फरक जिल्लाबाट इञ्चार्ज तोकिएको छ ।

के के हुँदैछ रुपान्तरण विशेष अभियानमा ?

अभियान अन्तर्गत वडा–वडामा पनि नेता, कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँट गरिएको माओवादी केन्द्र बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए । उक्त अभियानमा सहजीकरणका लागि प्रदेश समितिले पदाधिकारीसहित सदस्यहरुलाई स्थानीय तहहरुमा खटाएको छ । जस अनुसार अध्यक्ष सहयात्री ललितपुर महानगरपालिकामा खटिने छन् भने उपाध्यक्षहरु रुपा महर्जन श्रेष्ठ, प्रेम बहादुर पुलामी र राम प्रसाद ढुङगाना क्रमशः ककनी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा खटाइएको छ ।

सचिव इन्द्र बहादुर थिङ खानीखोला गाउँपालिका, सहसचिव दल बहादुर बुर्लाकोटी मकवानपुरगढी गाउँपालिका, सहसचिव प्रकाश श्रेष्ठ जुगल गाउँपालिका सहसचिव माधव प्रसाद लामिछाने किप्साङ गाउँपालिका, कोषाध्यक्ष संगीता भट्टराई निलकण्ठ नगरपालिकामा खटिएका छन् ।

उनका अनुसार अभियान अन्तर्गत माओवादी केन्द्रका नेताहरु वडा तहसम्म पुगेर सरकारले गरेका काम कारबाहीको प्रचारप्रसारसहित संगठन विस्तार तथा सुधारका काम गर्नेछन् । प्रदेश समितिले खटाएका प्रतिनिधिहरुले केन्द्रले तोकेको प्रतिनिधहरुसँगको सहकार्यमा अभियानलाई मुर्त बनाउन पहल गर्ने उनले बताए ।

‘अभियान अन्तर्गत सरकारले गरिरहेका राम्रा कामका विषयमा नागरिकहरुलाई जानकारी गराउने, अहिले भइरहेका भ्रष्टाचार प्रकरणहरुको छानबिनसँग जोडेर पार्टीको रुपान्तरण अभियान सञ्चालन हुन्छ,’ सहयात्रीले भने, ‘अहिले माओवादी नेताहरु सहर केन्द्रित भए, आफ्ना मुद्दा र एजेण्डा भुलेर सत्ता र पदको लोभमा नेताहरु संलग्न देखिएको निष्कर्ष छ । त्यसलाई सुधार गर्दै जनताको घरघरमा पुगेर समस्या बुझ्ने, समस्या समाधानको पहल गर्ने, जनश्रमदान लगायतका काम गर्ने गरी नेता तथा कार्यकताहरु खटाइएको छ ।’

माओवादी केन्द्रले ३ महिनासम्म वडा वडामा पुगेर आम नागरिकहरुसँगको छलफल अन्तरक्रियाबाट श्रम लगायतका कामहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरु जोडिएर रुपान्तरण अभियान सञ्चालन गरिने उनले बताए । अभियान अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ७ प्रदेशको एक÷एक वटा वडामा पुग्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

‘पार्टीका शीर्ष नेताहरु पनि वडा केन्द्रित कार्यक्रममा रहने छन् । वडा अध्यक्षहरुको अगुवाइमा तल्लो तहसम्म पुगेर नागरिकहरुसँगको अन्तरक्रियाबाट समस्या पहिचान र समाधानको पहल गरिने छ । उक्त अभियानमा वर्तमान सरकारले गरेका काम कारबाही प्रचारप्रसार गर्ने काम प्राथमिकतामा छ,’ उनले भने । नागरिकहरुसँगको सम्बन्ध सुदृढीकरण्मा माओवादी केन्द्रको अभियान केन्द्रित रहने उनले बताए । अभियानले देशको आवश्यकता र समाज रुपान्तरणको एजेण्डालाई अघि बढाउने उनको भनाइ छ ।

‘पार्टीको संस्थागत लेबल सुधार गर्न अभियान’

पार्टीलाई जनतासँग जोड्नका लागि अभियान आवश्यक रहेको अध्यक्ष सहयात्री बताउँछन् । पछिल्लो समय माओवादी केन्द्र र जनताबिच ठुलो ग्याप रहेको र उक्त दुरी कम गर्न अभियान अन्तर्गत नेताहरुलाई गाउँगाउँ पठाएर काम गरिने उनको भनाइ छ ।

पार्टीको संस्थागत लेभल कमजोर भएकाले त्यसको सुधारका लागि अभियान महत्त्वपूर्ण रहने सहयात्रीले बताए । वडादेखि केन्द्रसम्मका संरचनाहरु संस्थागत गर्न पार्टीले प्रतिवद्धता गरेकाले सोही अनुसार अभियान थालिएको उनले जानकारी दिए ।

माओवादी आफैँ बदलिएर काम गर्ने गरी अभियानमा जुटेको अध्यक्ष सहयात्रीले बताए । माओवादी केन्द्र पछिल्ला संसदीय र पदीय अभ्यासका क्रममा केही न केही अल्झिएकाले त्यसलाई बदलेर काम गर्न अभियानले भूमिका खेल्ने उनको भनाइ छ ।

त्यसका लागि प्रदेश समितिले वडा वडामा पुगेर कमिटी निर्माण तथा पुनर्संरचना गर्ने, सदस्यता विस्तार तथा शुद्धीकरण गर्ने, युवा पुस्ताहरु बिचमा बसेर अन्तर्क्रियात्मक कार्यक्रम गर्ने, समाजवादको मोडलका विषयमा स्थानीय स्तरमा अध्ययन गर्ने तथा रचनात्मक क्रियाकलाप गरी जनतासँग जोडिने उनले बताए ।

अभियानलाई थप व्यवस्थित बनाउन अनुगमन समिति समेत निर्माण गरिएको उनले जानकारी दिए । शशी श्रेष्ठको नेतृत्वमा रहेको अनुगमन समितिले वडा तहमा भएका क्रियाकलापको अनुगमन गर्ने उनको भनाइ छ ।

प्रदेश अध्यक्षको नेतृत्वमा रहेको टिमले सबै संरचनाहरुको गतिविधिलाई मनिटरिङ गर्नेछ भने सबै सदस्यलाई वडा तहमा केन्द्रित गरेर युवा तथा नागरिकहरुको जनजीविकाका एजेण्डाहरुलाई उठान गर्ने काम गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप