मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

थप स्पर्धा र नगद पुरस्कारसहित नवौं धारा नेपालगन्ज म्याराथन मंसिर ९ गते हुने

शुक्रबार, १५ भदौ २०८०, १५ : ०३
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । ‘नवौं धारा नेपालगन्ज म्याराथन’ आगामी मंसिर ९ गते आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको हो । ‘नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन (२०६३ साल मंसिर ५ गते) को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ । 

दशक लामो सशस्त्र द्वन्द्व विधिवत रुपमा अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै मंसिर ५ गते नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्ज्वलन पनि गरिँदै आएको छ ।  क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि भदौ १ गतेदेखि खेलाडी दर्ता खुला गरिएको पनि आयोजकले जनाएको छ । 

प्रतियोगितामा यो वर्ष चार विधा थप गरिएको छ । प्रतियोगितामा यो वर्ष १४ वटा विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यो वर्ष स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुल स्तरमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग(अलग स्पर्धा गराइने छ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किलोमिटर), महिलातर्फ हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर पुरुष–महिला खुला, पाँच किलोमिटर स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ बर्ष उमेर समूह), पाँच किलोमिटर कर्पोरेट रन, पाँच किलोमिटर ट्राइसाइकल र पाँच किलोमिटर वाकाथन समावेश गरिएको छ । 

यसैगरी स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग—अलग स्पर्धा गराइ पुरस्कृत गरिने छ । बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग—अलग दौड (पाँच किलोमिटर) सञ्चालन गरिनेछ ।  

नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई पुनः सुरुआती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुनेछ । नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । 

यो वर्ष केही विधामा नगद पुरस्कार राशीमा पनि वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिने आयोजकले जनाएको छ । यो प्रतियोगिता एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यताप्राप्त म्याराथन हो । 

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता भएका थिए । दोस्रो संस्करणमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्ला निवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौं संस्करणमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए । 

यसैगरी महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन् । यसैगरी पहिलो संस्करणमा एपीएफकी कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुणर्लक्ष्मी न्यौपाने र छैटौं संस्करणमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुईवटा संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप